मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

चितवनका पहाडी चेपाङ बस्तीमा अनिकाल, जंगली कन्दमुलको सहारा

चितवनका पहाडी चेपाङ बस्तीमा अनिकाल, जंगली कन्दमुलको सहारा


चितवन । जिल्लाको पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई यतिबेला दुई छाक खान धौ धौ परेको छ । चामलको भात त परको कुरा दुई छाक खोले फाँडो खान पनि मुस्किल भएको छ । 
 
राप्ती नगरपालिका वडा नं १० कोराकका पहलमान चेपाङले सिंगो गाउँमै अनिकाल लागेको बताए । जेठ र असार महिना बाँच्न कठिन हुने पीडा सुनाउँदै उनले भने, “कसैका पनि घरमा अन्नपात छैन, जंगलमा गिठा भ्याकुर पाइँदैन परिवारलाई के खुवाउने ।” 
 
काउलेकी कोपिला चेपाङले पनि दुई छाक खान कठिन भएको बताए । श्रीमान्ले ज्याला मजदूरी गरेर ल्याएको थोरै पैसाले खोले फाँडो खाएर बाँच्नु परेको उनको गुनासो थियो । एक दुई घर होइन, सबैको पीडा उस्तै छ । 
 
काउलेका पदमबहादुर चेपाङले यो समस्या पहिलेदेखि हुँदै आएको बताए । स्थानीय तह बने पनि यो समुदायको अनिकालको समस्या टार्न कसैको चासो नभएको उनले बताए । सबैका घरमा खाद्यान्न सिद्धिएको र बारीमा खानेकुरा उत्पादन भइनसकेकाले अनिकाल लागेको उनको भनाइ थियो । 
 
इच्छाकामना गाउँपालिका वडा नं ६ का वडाध्यक्ष भूपेन्द्र चेपाङले सबैलाई अनिकाल लागेकाले केही गर्ने उपाय नरहेको बताए । यो समय नै अनिकालको समय भएको भन्दै उनले अबका दिनमा कसरी जीविकोपार्जन गर्न सकिन्छ भन्ने विषयमा स्थानीय तहमा छलफल चलाइएको जानकारी दिए । 
 
आयआर्जन बढाउन कतिपय ठाउँमा बाख्रा वितरण गरिएको भन्दै वडाध्यक्ष चेपाङले त्यस क्षेत्रका बासिन्दाको आयआर्जन बढाउने कार्यक्रम ल्याउन सकेमा चेपाङ समुदायले अनिकाल व्यहोर्नु पर्ने अवस्था समाधान हुन्थ्यो भने । 
 
“चेपाङ बस्तीमा जेठ र असार महिना अन्न बाली भित्रिइसकेको हुँदैन, साग सिस्नु पनि बारीमा हुँदैन । कन्दमूल पनि सकिन्छ ।” नेपाल चेपाङ संघका जिल्ला अध्यक्ष लक्ष्मण चेपाङले भने, “मंसिरमा भित्रिएको अन्न जेनतेन चैत वैशाखसम्म चल्छ । साउनमा मकै नपाकुन्जेल भोकमरी नै हुन्छ ।” 
विगतमा यतिबेला फल्ने गरी कागुनो रोप्ने गरिए पनि पछिल्लो समय त्यो खेती पनि राम्रो हुन छाडेपछि उनीहरुले रोप्न छोडेको र पिडालु, जंगली तरुलजस्ता कन्दमूल र चमेरा पनि नपाउने हुँदा संकट परेको उनले बताए । 
 
यतिबेला चेपाङले निमेक ज्याला र ऋण गरेर खोले फाँडो खाने, माउ सिस्नो खाने, चिउरी मगाएर खाने गर्छन् । 
 
जिल्लामा चेपाङको जनसंख्या २८ हजार ३६३ छ । उनीहरुमध्ये आधाको आफ्नै नाममा जग्गा दर्ता छैन । उनीहरुको जग्गाबाट भएको उब्जनीले जेनतेन छ महिना चल्ने भएकाले जेठ असारमा अनिकाल नै व्यहोर्नु पर्ने भएको हो ।