मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बसको ठक्करबाट तनहुँमा तीन जनाको मृत्यु

बसको ठक्करबाट तनहुँमा तीन जनाको मृत्यु


तनहुँ । यात्रुवाहक बसको ठक्करबाट तनहुँमा तीन जना युवकको मृत्यु भएको छ । 
 
जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार मोटरसाइकलमा चार जना सवार गरिरहेकामध्ये दुई जनाको शनिबार राति नै घटनास्थलमा र एक जनाको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका एकको भने उपचार भइरहेको छ । 
 
दुर्घटनामा परी मृत्यु हुनेमा पर्सा जिल्ला सेरवा गाउँपालिका–३ बस्ने २० वर्षीय राज राय, सोही स्थान निवासी २१ वर्षीय धिरज चौधरीको शनिबार राति घटनास्थलमा नै मृत्यु भएको हो । 
 
अर्का घाइते भएका २२ वर्षीय सञ्जय चौधरीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए । 
 
पोखराबाट काँकरभिट्टातर्फ जाँदै गरेको ना५ख ३०८२ नंको बसले विपरीत दिशामा गुडिरहेको ना५५प १५९४ नंको मोटरसाइकललाई पृथ्वीराजमार्गअन्तर्गत व्यासनगरपालिका–१२ स्थित कमलबारीमा ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । 
 
मोटरसाइकलमा सवार २१ वर्षीय भोला चौधरीको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । मृतक दुई जनाको शव दमौली अस्पतालमा र एक जनाको गण्डकी मेडिकल कलेज पोखरामा परीक्षणका लागि राखिएको प्रहरीले जनाएको छ । 
 
उक्त बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए । रासस