मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकारको नीति तथा कार्यक्रम : सत्तापक्षको समर्थन, विपक्षीको आलोचना

सरकारको नीति तथा कार्यक्रम : सत्तापक्षको समर्थन, विपक्षीको आलोचना


काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सत्तापक्षका सांसदले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको समर्थन गर्दै कार्यान्वयनको पक्षमा जोड दिएका छन् । तर, प्रतिपक्षी दलका सांसदले सरकारको नीति तथा कार्यक्रम यथार्थको नजिक नभएको भन्दै त्यसको आलोचना गरेका छन् । 
 
प्रमुख प्रतिपक्षी दलका सांसदले सरकारको नीति तथा कार्यक्रमले कृषि, ऊर्जा तथा पर्यटनको क्षेत्रलाई नछोएको बताउँदै सरकारले तथ्यभन्दा पनि तत्कालको फाइदाका लागि मात्रै काम गरेको गुनासो गरेका छन् ।
 
सत्तापक्षका सांसदले भने विगतमा ल्याइएका राम्रा र प्रभावकारी सबै कार्यक्रम समावेश गरिएको र जनताको अपेक्षालाई सम्बोधन गर्ने खालको कार्यक्रम प्रस्तुत गरिएको भन्दै सरकारको बचाउ गरे । 
 
नेकपाका सूर्यप्रसाद पाठकले विगतमा नेपाली काँग्रेसले भुलेको तर बीपी कोइरालाले अगाडि सारेको प्रजातान्त्रिक समाजवादको अवधारणासमेत नीति तथा कार्यक्रममा समावेश गरिएको हुँदा यसलाई समर्थन गर्न प्रमुख प्रतिपक्षी दललाई आग्रह गरे । 
 
विगतमा ठूला उद्योगधन्दा निजीकरणको नाममा काँग्रेस नेतृत्वको सरकारले बन्द गराएको उल्लेख गर्दै उनले वर्तमान सरकारले नयाँ उद्योगधन्दा स्थापना गर्ने लक्ष्य राखेको छ, प्रतिपक्षीलाई यसको विरोध गर्न नैतिक हिसाबले समेत नमिल्ने बताए । 
 
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका डीला संग्रौलाले महिला, आदिवासी, जनजातिको पक्षमा नीति तथा कार्यक्रम नदेखिएको भन्दै सरकारको आलोचना गरिन् । 
 
पाँच वर्षभित्र पाँच हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको भए पनि त्यसका लागि आवश्यक पर्ने आर्थिक स्रोत कहाँबाट ल्याउने भन्नेबारेमा केही बोलेको छैन, कुन स्रोतबाट रकम ल्याएर दोहोरो अंकको आर्थिक वृद्धि गर्नुहुन्छ ? उनले प्रश्न गरिन् । 
 
नेकपाका पार्वती कुमारी विसुंखेले समृद्ध नेपाल, सुखी नेपालीको अवधारणासहित आएको वर्तमान सरकारको नीति तथा कार्यक्रमको सफल कार्यान्वयन भए आगामी पाँच वर्षपछि नेपाल नयाँ स्थानमा पुग्ने बताइन् । 
 
काँग्रेसका लक्ष्मी परियारले नीति तथा कार्यक्रम अमूर्त रहेको आरोप लगाउँदै प्रदेश र स्थानीय तहलाई कम आँकिएको, उनीहरुको भूमिकालाई कमजोर बनाउन खोजिएको गुनासो गरिन् । 
 
काँग्रेसका उमेश श्रेष्ठले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुन नसक्ने टिप्पणी गर्दै पाँच वर्षमा दोहोरो अंकको आर्थिक वृद्धि गर्ने, पाँच वर्षमा पाँच हजार मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्ने विषय सुन्नमा राम्रो भए पनि स्रोतको सुनिश्चितता नदेखिएको बताए।  
 
काँग्रेसका रामबहादुर विष्टले पूर्वाधार नै तयारी नभएको अवस्थामा रेल चलाउने, दाहोरो अंकको आर्थिक वृद्धि गर्नेजस्ता विषय यथार्थसंगत नभएको आरोप लगाए । 
 
काँग्रेसकै अमरेशकुमार सिंहले सरकारको नीति एकातिर र कार्यक्रम अर्को्तिर रहेको टिप्पणी गर्दै संघीयताको विषयमा प्रष्ट नभएको, स्वास्थ्य, शिक्षाजस्ता विषय छुटेको, गरिबी निवारण गर्ने विषयलाई जानी बुझिकन छुट्याइएकामा आपत्ति प्रकट गरे । 
 
काँग्रेसकै राजेन्द्रकुमार केसीले भाषणबाट आर्थिक समृद्धि नआउने भन्दै तथ्यमा आधारित भएर नीति तथा कार्यक्रम नआएको आरोप लगाए । (रासस)