मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकार सर्वसत्तावादी व्यवस्था कायम गर्न उन्मुख भयो : कमल थापा

सरकार सर्वसत्तावादी व्यवस्था कायम गर्न उन्मुख भयो : कमल थापा


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले विपक्षी दलप्रति असहिष्णु भई सर्वसत्तावादी व्यवस्था कायम गर्न लागेको आरोप लगाएका छन् । 
 
रिपोर्टर्स क्लबले आयोजना गरेको अन्तक्र्रियामा उनले भने, “संविधानलाई आफू अनुकूल परिवर्तन गरी सर्वसत्तावादी व्यवस्था कायम गर्न सरकार उन्मुख रहेको देखिन्छ ।” 
 
अध्यक्ष थापाले जनादेशअनुसार सरकारले अहिले मुलुकमा शान्ति, स्थिरता र प्रजातन्त्रलाई बलियो बनाउने कार्यको थालनी गर्न नसकेकोमा चिन्ता व्यक्त गर्दै संविधान र प्रजातन्त्रकै परिधिभित्र रही चुनाव जितेर सर्वसत्तावाद र अधिनायकवाद कायम गर्ने प्रवृत्ति अहिले देखापरेको आरोप लगाए । 
 
अबको दुईदेखि तीन वर्षभित्रै सरकारले ९० प्रतिशत कर्मचारी, सुरक्षा निकाय, न्यायालय सबैमा आफ्नो प्रभाव जमाउने आशंका पनि उनले व्यक्त गरे । 
 
अध्यक्ष थापाले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणका लागि राप्रपा समूहबीच एकता हुनुपर्नेमा जोड दिँदै त्यसका लागि आफू अध्यक्ष पद छोड्न तयार रहेको बताए । 
 
हालै सम्पन्न भएको पार्टीको केन्द्रीय परिषद्को तीन दिने बैठकले राजनीति तथा वैचारिक कार्यदिशा, संगठनात्मक सुदृढीकरण र प्रशिक्षणसम्बन्धी कार्ययोजनालाई पारित गरेको उनले जानकारी दिए । 
 
अध्यक्ष थापाले पार्टीले यही जेठदेखि माघ मसान्तभित्र छुवाछूतविरुद्ध राष्ट्रिय अभियान, मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा, हिन्दूराष्ट्र जनचेतना कार्यक्रम तथा भ्रष्टाचारविरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने र समान विचारधारा भएका व्यक्ति, समूह र दलसँग एकता र सहकार्य गर्ने कार्यक्रम रहेको पनि जानकारी दिए ।