मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

क्लबको वार्षिकोत्सवमा चेपाङ बालबालिकालाई भोजन

क्लबको वार्षिकोत्सवमा चेपाङ बालबालिकालाई भोजन


चितवन । चितवनको खैरहनीमा रहेको फोर जी ब्रदर्श क्लबले गामबेंसीको चेपाङ संरक्षण केन्द्रलाई बिहानको खाना खुवाएको छ । क्लबका पदाधिकारीले बुधबार केन्द्रका बालबालिकासँगै सहभोज गरेर आत्मीयता साटेका थिए । 
 
क्लबका संस्थापक संरक्षक सञ्जु पुनले क्लबमार्फत चेपाङ बालबालिकासँग आत्मीयता साँट्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाए । उनले क्लबले नेपालदेखि हङकङसम्म जोडिएर मानवीय सहयोग, विपद्मा राहत तथा खैरहनी नगरमा विविध सामाजिक कार्य गर्दै आएको जानकारी दिए । 
 
केन्द्रका बालबालिकालाई खाना खुवाउने कार्यक्रममा सामाजिक रुपमा पछि परेका चेपाङ बालबालिकालाई पढाउने महान् कार्य गरेकोमा केन्द्रका अध्यक्ष केपी किरण शर्मालाई उनले धन्यवाद दिए । 
 
जीवनमा पढाइभन्दा ठूलो कुरा केही नभएको भन्दै उनले आफू हङकङमा रहे पनि चेपाङ बालबालिकाको दुःखसुखमा सधैँ साथ दिने प्रतिबद्धता व्यक्त गरे । 
 
क्लबका अध्यक्ष विकास उप्रेतीले सामाजिक गतिविधि, खेलकुद र मनोरञ्जनका क्षेत्रमा क्रियाशील आफ्नो क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत खाना खुवाउने कार्यक्रम आयोजना गरेको बताए । 
 
कार्यक्रममा पञ्चतेज आधारभूत विद्यालयका प्रधानाध्यापक रामबहादुर मगरले सो केन्द्रमा रहेका बालकालिकाले कक्षा १ देखि ८ सम्म नै पहिलो, दोस्रो र तेस्रो भएर केन्द्रको नाम राखेको बताए । उनले अवसर पाए चेपाङ बालबालिकाले पनि केही गर्न सक्छन् भन्ने उदाहरण पेस गरिसकेको उनले बताए । 
 
केन्द्रका अध्यक्ष शर्माले देशविदेशमा रहने सहृदयी मन भएका नेपाली दाजुभाइ, दिदीबहिनीको सहयोगी भावनाकै कारण केन्द्रमा रहेका चेपाङ बालबालिकाले शैक्षिक प्रगति हासिल गरिरहेको जानकारी दिए ।
 
केन्द्रमा आश्रित १५० बालबालिकाले आवासीय सुविधासहित अध्ययन गरिरहेका छन् । चेपाङ बालबालिकाले आफ्नो कथाव्यथा पोखिएका गीत प्रस्तुत गरेका थिए ।