मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवनमा बर्डफ्लुको संक्रमण पुष्टि, सतर्कता अपनाउन आग्रह

चितवनमा बर्डफ्लुको संक्रमण पुष्टि, सतर्कता अपनाउन आग्रह


पूर्वी चितवनको खैरहनी नगरपालिका ९ सुर्तनीमा बर्डफ्लु देखिएको छ । स्थानीय किसान राजन चौधरीले पालेका लेयर्स फार्मको १५ सय कुखुरा मरेपछि परीक्षण गर्दा बर्डफ्लुको पुष्टि भएको हो । यसअघि ०७० सालमा बर्डफ्लुको प्रकोप बढेको थियो ।
 
चौधरीको पोल्ट्री फार्मको मरेका कुखुरा परीक्षण गर्दा एच५एन१ (एभिएन इन्फ्लुएन्जा)नामक भाइरस पुष्टि भएको राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशाला चितवनका वरिष्ठ पशु चिकित्सक डा. दयाराम चापागाईंले जानकारी दिए ।
 
चौधरीले एउटै फार्ममा १५ सय लेयर्स कुखुरा पालेका थिए । खोरमा रहेका कुखुरा भटाभट मर्न थालेपछि वैशाख १४ गते परीक्षणका लागि भरतपुरस्थित राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला पठाइएको थियो । वैशाख ३१ गते कुखुरामा बर्डफ्लु भेटिएको रिपोर्ट आए पनि बिहीबारमात्रै मन्त्रिस्तरीय निर्णयबाट कुखुरा नष्ट गर्न निर्देशन आएको उनले बताए । 
 
सरकारले कुखुरा मार्न निर्देशन दिएलगतै राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला चितवन र जिल्ला पशु सेवा कार्यालय भरतपुरका डाक्टर, प्राविधिकसहितको रेपिट रेन्सपोन्स टिम सुर्तनीको थारुबस्तीमा पुगेर प्रभावित फार्मको सरसफाइ गरी प्रभावित क्षेत्रमा औषधि छर्किएको छ ।  
 
राजन चौधरीको खोरसँगै जोडिएको लक्ष्मण चौधरीको खोरका एक हजार कुखुरा मरेपछि परीक्षणका लागि सेम्पल पठाइएको डा चापागाईंले बताए ।त्यसको रिपोर्ट भने आउन बाँकी छ । राजनकै खोरनजिक लक्ष्मणको खोर रहेकाले उनले पालेका कुखुरा पनि बर्डफ्लुकै कारण मरेको हुनसक्ने अनुमान गरिएको छ ।
 
बर्डफ्लु संक्रमित क्षेत्र घोषणा  
 
बर्डफ्लु पुष्टि भएपछि खैरहनी ९ सुर्तनीको केही भागलाई संक्रमित क्षेत्र घोषणा गरिएको छ । सो गाउँका हाँस, कुखुरा नष्ट गर्न थालिएको छ । उक्त क्षेत्रमा पक्षी तथा पक्षीजन्य पदार्थको ओसारपसारमा पनि रोक लगाइएको छ । त्यस क्षेत्रमा रहेका पक्षीलाई सुरक्षितरुपमा नष्ट गरिएको छ ।
 
पशु सेवा कार्यालय चितवनले कुखुराका खोरहरु सफा गर्न अनुरोध गरेको छ । यो भाइरस मानिसमा पनि सर्न सक्ने भएकाले सतर्कता अपनाउन सर्वसाधारण समक्ष कार्यालयले आग्रह गरेको छ ।
 
सुर्तनीको थारुबस्ती नजिकै व्यावसायिक रुपमा कुखुरा पालन गर्ने दर्जन बढी ठूला पोल्ट्री फार्महरु सञ्चालित छन् । अन्य फार्ममा बर्डफ्लुको संक्रमण रहे नरहेको पत्ता लगाउन स्थानीय ५ वटा पोल्ट्री फार्मबाट परीक्षणका लागि २२ वटा नमुना ल्याइएको डा. चापागाईंले बताए । 
 
नेपालको पोल्ट्री व्यवसायमा ७० अर्ब रुपैयाँको हाराहारीमा लगानी भएको छ । जसको ६० प्रतिशत हिस्सा चितवनले ओगटेको बताइन्छ ।