भूकम्पपीडितको लागि सहयोग गर्ने संस्थाका व्यक्तिका रुपमा नुवाकोटको एउटा सामान्य चिया पसलमा चिनाजान भएकै आधारमा विश्वास गर्दा एक बोर्डिङ स्कुलका सञ्चालकले ठूलो धोका खाएका छन् ।
नुवाकोटको उत्तरगया गाउँपालिका ५ लहरे घर भई नेत्रावती ट्रिनिटी इङ्लिस बोर्डिङ स्कुल, रसुवाका प्रबन्ध निर्देशक चित्रमान डंगोल डेढ महिना अघिदेखि बेपत्ता भएका थिए ।
चैत्र १५ गतेदेखि लहरेबाट स्याफ्रुबासीका लागि हिँडेका २९ वर्षीय डंगोलको राति १० बजेदेखि सम्पर्कविहीन बनेपछि उनको खोजी कार्य तीव्र बनाइएको थियो ।
जिल्ला प्रहरी कार्यालय रसुवा, मानव अधिकारवादी संस्था एवम् सञ्चारमाध्यममा भाइको खोजी गर्न दाजु नेत्रमानले आग्रह गरेका थिए । नुवाकोट प्रहरीले पनि उनको खोजी कार्य तीव्र पारेको थियो ।
उनलाई चेन्नईको एक औद्योगिक क्षेत्रबाट उद्धार गरेर नेपाल ल्याइएको चितवनका युवा नेता एवम् समाजसेवी सन्तलाल घिसिङले जानकारी दिए ।
डंगोललाई नेपाली एकता समाज, चेन्नईको सहयोगमा समाजसेवी घिसिङले उद्धार गरी बुधबार नेपाल ल्याएका हुन् । नुवाकोटका साथीहरुले आग्रह गरेपछि चेन्नई पुगेको उनले बताए ।
मानव अंगको तस्करी गर्ने जोखिमपूर्ण क्षेत्रबाट उनको उद्धार गरिएको घिसिङ बताउँछन् ।
कसरी परे फन्दामा ?
चित्रमान डंगोल विद्यालयको कामको सिलसिलामा चैत १३ गते त्रिशूलीको बट्टारमा पुगेका थिए । चिया पिउनेक्रममा नेपाली भाषा प्रष्टसँग बोल्ने सुमन तामाङसहित अर्का तामिल बोल्ने व्यक्तिसँग उनको भेट भएको थियो ।
चिनाजानकै क्रममा उनीहरुले आफूहरु भूकम्पपीडितको सहयोग गर्ने संस्थाका व्यक्ति भएको बताएका थिए । डंगोल आफैँ पनि पीडित भएकाले यस्तै व्यक्तिको प्रतीक्षामा थिए ।
उनले आफ्नो विद्यालयमा तीन सयको हाराहारीमा विद्यार्थी पढ्ने गरेको जानकारी ती व्यक्तिहरुलाई दिए । एक सय विद्यार्थीका लागि तत्काल सहयोग गर्न तयार भएपछि उनीहरुको भेट चैत १५ गते गल्छीबजारमा भयो ।
उनीसँग तीन लाख रुपैयाँ थियो । तत्काल एकलाख रुपैयाँ सहयोग गर्ने भनेपछि उनी निकै प्रभावित भए । भूकम्पपीडितको लागि सहयोग पाउने प्रलोभनले तीनैजना चेन्नईतिर हान्निए ।
चैत १८ गते बैंग्लोर पुग्दा बल्ल उनी झस्किए । ट्रेनमा उनको झोला, ब्याग र मोबाइलसमेत लुटिएको थियो, त्यो पनि विश्वास गरेर सँगै गएका साथीबाट ।
भूकम्पपीडित र विद्यार्थीलाई सहयोग गर्ने संस्थाका प्रतिनिधि लुटेरा रहेको उनले त्यसैबेला थाहा पाए । उनी भन्छन्, ‘उनीहरुको फोटो र विवरण मोबाइलमै थियो । टे«नबाट खोजी गर्न सम्भवै भएन । भाषा नबुझ्ने समस्याका कारण आफू ठगिएको कुरासमेत राख्न गाह्रो भयो ।’
लुटिँदा उनीसँग केही भारतीय रुपियाँमात्रै रुपैयाँ बचेको थियो । आधारकार्ड केही नहुँदा फोनसमेत किन्न सकेनन् । कसैसँग फोन संवाद पनि हुन सकेन ।
चेन्नईमा अलपत्र परेपछि उनी कामको खोजीमा लागे । दलालीमार्फत् एम्बुटर इन्डस्ट्रिजमा बन्धक बनेर स्वीच फिटिङको काम पाए । काम खोज्नेहरुलाई होस्टलमा राख्ने र त्यहीँबाट मानव तस्करी हुने गरेको उनले चाल पाए । जसमा थुप्रै नेपालीले दुःख भोगिरहेका थिए ।
भाग्न नसक्ने अधिकांश मानव तस्करीमा पर्ने गरेको चाल पाएपछि उनले बैशाख अन्तिमतिर राति २ बजे एक कामदार साथीको मोबाइल मागेर फेसबुकमार्फत् उद्धारका लागि याचना गरे । नेपाली एकता समाजको आह्वान्मा भारतीय प्रहरी सीबीआईको सहयोगमार्फत् उनको उद्धार भएको हो ।
‘म त लक्की रहेछु बाँचे । तर, त्यहाँ आसाम, कञ्चनपुरतिरका थुप्रै नेपालीहरु बर्बाद भएका छन् । कसैको चाँडै विश्वास गर्दा मैले धोका पाएँ । कसैले पनि यस्तो दुःख नपाओस्’, उनी भन्छन् ।
भन्छन्, ‘मैले ४५ दिनसम्म घाम नै देख्न पाइनँ । सीआईबीको सहयोगमा नेपाली एकता समाजका साथीहरुले बस्न र खानाको प्रबन्धसहित उद्धार गरिदिनुभयो । उहाँहरुले उद्धार गर्दा म बिरामी अवस्थामा थिएँ । अहिले ठीक भएर आफ्नै गाउँमा आइपुगेको छु ।’
‘म बाँचेर नेपाल फर्किन्छु भन्ने लागेकै थिएन’, उनी भन्छन्, ‘नेपालमा विभिन्न प्रलोभन देखाएर लुट्न आउनेसँग होसियार हुनुपर्छ । बेलैमा सचेत भए मैलेजस्तो समस्या कसैले भोग्नु पर्दैन ।’
प्रतिक्रिया