मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कांग्रेसको उपसभापतिमा निधि, महामन्त्रीमा खड्का र सह–महामन्त्रीमा डा महत चयन

कांग्रेसको उपसभापतिमा निधि, महामन्त्रीमा खड्का र सह–महामन्त्रीमा डा महत चयन


काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा विमलेन्द्र निधि नियुक्त भएका छन् । शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकले निधिसहित महामन्त्रीमा पूर्णबहादुर खड्का, सह–महामन्त्रीमा डा प्रकाशशरण महतलाई नियुक्त गरेको हो ।
 
विधानको दफा २१ मा ८५ सदस्यीय केन्द्रीय समिति गठनको व्यवस्था छ । त्यसमध्ये एक सभापति, एक महामन्त्री र एक कोषाध्यक्षसहित ६४ जना निर्वाचित हुने र बाँकी सभापतिले मनोनयन गर्ने प्रावधान छ । 
 
विधानमा पार्टी सभापतिले एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्रीसहित बाँकी सदस्य मनोनयन गर्ने व्यवस्था छ । 
 
पार्टी सभापति शेरबहादुर देउवाले प्रस्ताव गरेको नाम बैठकले अनुमोदन गरेको हो ।
 
वरिष्ठ नेता पौडेल पक्षले भने महाधिवेशन भएको दुई महिनामा गर्नुपर्ने पदाधिकारी मनोनयन दुई वर्षसम्म पनि नगर्दाको अवस्थामा विधानको प्रावधानलाई समेत सम्बोधन गर्ने गरी सहमतिमै पदाधिकारी मनोनयन गर्दा राम्रो सन्देश जाने सुझाव दिएको थियो । 
 
साथै मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) पार्टीसँग एकीकरणका बेला भएको सहमतिअनुसार नेता विजयकुमार गच्छदार र उक्त दलका नेतालाई समेत व्यवस्थापन गर्ने गरी निर्णय गर्नुपर्ने आवाज पनि बैठकमा उठेको थियो । 
 
पदाधिकारी मनोनयनको निर्णयप्रति महामन्त्री डा शशांक कोइराला भने तटस्थ देखिएका छन् । देउवा खेमाकै गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदारसमेत असन्तुष्ट बनेका छन् ।