बालबच्चाको रेखदेख गर्ने अभिभावक नै गैरजिम्मेवार बनिदिँदा बच्चाहरुको के हविगत हुन्छ ? आमाबुबाको माया–ममता नपाउँदा बच्चाहरु कसरी बेवारिसे बन्छन् ? यी सवालको जवाफ खोज्न धेरै टाढा जानुपर्दैन । रत्ननगर १६ पिठुवामा अलपत्र परेका दुई बालकको अवस्थालाई हेरे पुग्छ ।
आमाबाबुको स्याहार र माया नपाएर बिचल्लीमा परेका दुई माझी दाजुभाइ हुन्– ९ वर्षीय नवीन र ७ वर्षीय निमेष । यी दुई बालक चितवनको रत्ननगर १६, पिठुवास्थित दोबाटोचोकको प्रतीक्षालयमा अलपत्र अवस्थामा बाँचिरहेका छन् ।
सोही ठाउँका बालबालिका बिहान दूध र खाजा खाएर गृहकार्यमा जुटिरहँदा यी दाजुभाइ कुुकरसँगै सुतिरहेका भेटिन्छन् । सडकपेटीको बास उनीहरुको नियति बनेको छ ।
सर्लाहीको हजरियाबाट ६ वर्षअघि रत्ननगर १४ स्थित एक इँटा चिम्नीमा काम गर्न आएका ३७ वर्षीय मंगले माझीका सन्तान हुन्– नवीन र निमेष । मंगले ज्याला मजदूरी गर्दै हिँड्छन् । जति कमाउँछन्, त्यति रक्सी खान्छन् । उनी स्वयंको गासबासको कुनै ठेगान छैन ।
नवीन ३ वर्ष र निमेष ११ महिनाको हुँदा श्रीमती अर्कैसँग गएपछि मंगले आफैँ बेवारिस बनेका छन् । उनी ज्याला मजदूरी गरेर फर्किंदा बच्चा कहाँ पुग्छन्, के खान्छन् र कहाँ बस्छन् त्यो उनले नै पत्तो पाउँदैनन् ।
आमाले छाड्ने र बाबुले वास्ता नगर्दा यी दुई बालकको साह्रै बिजोग भएको रत्ननगर १६ का वडाध्यक्ष हेमराज थापा बताउँछन् ।
उनी भन्छन्, “वडाको जनप्रतिनिधिबाट गर्नुपर्ने हर सहयोग गरिसक्यौँ । वडाबाट झोला, कापीकिताब र आर्थिक सहयोग गरेर बच्चालाई भर्नासमेत गरिदियौँ । स्कुलमा खाजासहितको व्यवस्था गर्दा पनि हाम्रो केही सीप लागेन् । बाबु मंगलेलाई पनि वडा कार्यालयमा काम दियौँ । तर, उसकै केही पत्तो भएन ।”
कुनै संस्थाले संरक्षणमा लिइदिए जस्तोसुकै सहयोग गर्न पनि आफू तयार रहेको उनी बताउँछन् । भन्छन्, “बालकहरुको जन्मदर्ता बनाएर ल्याऊ, कुनै संस्थामा राखेर पढाउने व्यवस्था गर्छौं भन्दा पनि केही लागेन् । बाबुकै ठेगान नभएपछि एक वर्षदेखि यी बच्चा अलपत्र परिरहेका छन् ।”
बच्चालाई देखाएर बाबुले मागिखाने भाँडो बनाएकोले यिनीहरुको बिचल्ली भएको जनजागृति माविका शिक्षक विष्णु अधिकारी बताउँछन् । उनी भन्छन्, “अभिभावकले नै लत्तो छाडेपछि यिनीहरुको यस्तो अवस्था भएको होे । बच्चाहरुको पढाइ राम्रो छ, पहिलो, दोस्रो नै हुने क्षमताका छन् । तर, कुनै संस्थाले चौबिसैघण्टा नियन्त्रणमा राखेर संरक्षण नगरेसम्म यिनीहरुको उद्धार नहुने भयो ।”
बालकको बिचल्ली देखेर वरपरका स्थानीय पनि चिन्तित छन् । नवीन २ कक्षा र निमेष १ मा पढ्दापढ्दै विद्यालय जान छाडेका हुन् । अहिले उनीहरुको दिनचर्या कहिले कसैको घरमा घाँस काटिदिएर पेट भर्छन्, त कहिले मागेरै भोक मेट्छन् ।
स्थानीय महिलाहरु भन्छन्, “यी दुई बालक बिहान कुकुरसँगै सुतेको देख्नुपर्छ । योभन्दा बिजोग के हुन्छ ? मंगलेले छोराहरुलाई मगन्ते बनाएर आफ्नो ज्यान पाल्न खोज्दैछन् । बच्चाहरुका लागि कुनै संस्थाले संरक्षण गरिदिए ठूलो धर्म हुनेथियो ।”
स्थानीयले यी दुई बच्चाको व्यवस्था गरिदिन चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्मासँग पनि अनुरोध गरेका थिए । तर, केन्द्रमा चेपाङ समुदायका बालबालिकामात्रै राखिने भएकाले उनले निरीहता प्रकट गरे । उनले भने, “यी बच्चाको बिजोग देख्दा म पनि असाध्यै दुःखी छु । यिनीहरुको उद्धारका लागि मैले सकेसम्मको प्रयास गर्नेछु ।”
प्रतिक्रिया