मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

गैँडा मुद्दा, नियतिको खेल : आमा पोइल, बाबु जेल

गैँडा मुद्दा, नियतिको खेल : आमा पोइल, बाबु जेल


चितवन । मकवानपुरको राक्सीराङ गाउँपालिका ५ ठाडेका १२ वर्षीय सुरज चेपाङ बैरिया मावि, चितवनमा ६ कक्षामा पढ्छन् । उनका बुबा कृष्णबहादुर गैँडा मुद्दामा भरतपुर कारागारमा जेल जीवन बिताइरहेका छन् । 
 
बुबा जेल परेलगत्तै आमा विष्णुमायाले अर्कैसँग बिहे गरेपछि उनी नितान्त एक्लो बने । ६ वर्षअघि उनकी फूपूले चेपाङ संरक्षण केन्द्रमा ल्याएर छाडिन् । अहिले उनको एकमात्र सहारा केन्द्रका अध्यक्ष केपी किरण शर्मा भएका छन् । 
 
उनी ६ वर्षको हुँदा बुबा जेल परेका थिए । सुरजलाई बुबा कस्ता छन् केही थाहा छैन । बुबाको नामसमेत थाहा नभएका उनी भन्छन्, “बाबु गैँडा मुद्दामा भरतपुर जेलमा छन्, आमा पोइल गइन्, हाम्रो बिचल्ली भयो ।”
 
यस्तै, चितवनको राप्ती नगरपालिका, धमिली गाउँका आशिष चेपाङ आठ वर्षका भए । उनका बुबा राजु पनि गैँडा मुद्दामै भरतपुर कारागारमा छन् । आमा गाउँमै ज्याला मजदूरी गर्छिन् । उनी पनि केन्द्रकै संरक्षणमा छन् । उनी यही शैक्षिक सत्रदेखि पञ्चतेज आधारभूत विद्यालय मंगलपुरमा १ कक्षामा भर्ना भएका छन् । 
 
आशिषकै ठूलो बुबाको छोरा ६ वर्षीय उज्ज्वलकुमार चेपाङका बुबा सानु चेपाङ पनि राजुसँगै गैँडा मुद्दामा भरतपुर कारागारमा छन् । उज्ज्वल पनि केन्द्रकै संरक्षणमा रहेर पञ्चतेज आधारभूत विद्यालयमा शिशु कक्षामा पढ्छन् । राजु र सानु एक वर्षअघिदेखि भरतपुर जेलमा छन् । उज्ज्वलकी आमा सुन्तली धमिली गाउँमै ज्याला मजदूरी गरेर जीविकोेपार्जन गर्छिन् । 
 
आशिषका तीन दिदीबहिनी छन् । जेठीको बिहे भइसकेको छ भने माइली र कान्छी गाउँकै विद्यालयमा ७ र ५ कक्षामा पढ्छन् । 
 
गैँडा मुद्दामा बाबु जेल परेर बेसहारा बनेका यी तीन प्रतिनिधि पात्रमात्र हुन् । चेपाङ संरक्षण केन्द्रका अध्यक्ष शर्माका अनुसार भरतपुर कारागारमा कैदी बन्दीमध्ये ७० प्रतिशत चेपाङ समुदायकै छन् । त्यसमा पनि सबै गैँडा मुद्दामै जोडिएका छन् ।
 
उनी भन्छन्, “जेल पर्ने सबै निर्दोष होइनन्, केही निर्दोषसमेत परेका छन् । यतिसम्म कि एक बोतल रक्सीमा निर्देश भएका भरिया पनि छन् ।” उनका अनुसार एकजना चेपाङ यस्ता पनि छन्, जो दृष्टिविहीन हुन् । “दृष्टिविहीनले कसरी गैँडा मा¥यो होला ?”, उनी अचम्म मान्दै प्रश्न गर्छन् । 
 
भरतपुर कारागारमा नेपालकै कुख्यात गैँडा तस्कर राजकुमार चेपाङ पनि छन्, जसलाई रेडकर्नर नोटिस जारी गरी इन्टरपोलको सहयोगमा मलेसियाबाट ०७१ माघ १६ मा पक्राउ गरिएको थियो । निकुञ्ज प्रशासनले १० वर्षदेखि उनको खोजी गर्दै आएको थियो । राजकुमारले २२ गैँडा मारेको चितवन राष्ट्रिय निकुञ्जको अभियोग छ ।
 
दुर्लभ वन्यजन्तु एकसिंगे गैँडाको सिकारमा संलग्न अपराधी राजकुमारलाई जिल्ला न्यायाधीश टेकनारायण कुँवरको इजलासले १५ वर्षको सजाय सुनाएको थियो । 
 
चितवन निकुञ्जले उनीमाथि पटकपटक गरी १९ वटा मुद्दा लगाएको थियो । उनीसहित अन्य १० जनालाई १५ वर्ष र एक जनालाई ७ वर्ष कैद सजाय सुनाइएको थियो । 
 
यस्ता कुख्यात अपराधीको भीडमा सामान्य भरिया तथा खाजा र रक्सीका भरमा सजाय भोग्न विवश चेपाङ पनि छन् । अभिभावक नै जेल परेपछि उनीहरुका सन्तान सहाराविहीनजस्तै भएका छन् । परिवारमा विचलन आएको छ । 
 
केन्द्रमा संरक्षित बेसहारा बालकहरुलाई शिक्षादीक्षा दिएर, जागिर खुवाएर सक्षम बनेपछिमात्रै छाड्ने संकल्प अध्यक्ष शर्माले लिएका छन् । उनी भन्छन्, “यी निर्दोष बालकहरुको कहीँ फर्किने ठाउँ छैन । अभिभावकको आश र भरोसा पनि छैन । उनीहरुलाई सक्षम बनाएरमात्रै केन्द्रबाट बिदाइ गर्छौं ।”