मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विद्यालय शिक्षालाई प्राविधिक र व्यावसायिक बनाइनुपर्छ : राष्ट्रपति भण्डारी

विद्यालय शिक्षालाई प्राविधिक र व्यावसायिक बनाइनुपर्छ : राष्ट्रपति भण्डारी


सिन्धुपाल्चोक । राष्ट्रपति विद्यादेवी भण्डारीले विकासको आधारका रुपमा रहेको शिक्षालाई विद्यालय तहमा स्थानीय माग र आवश्यकताबमोजिम प्राविधिक र व्यावसायिक बनाइनुपर्नेमा जोड दिएकी छन् ।  
 
एसओएस बालग्राम नेपालले निर्माण गरेको इन्द्रावती गाउँपालिका–१२ भीमटारस्थित श्री भीमेश्वर माध्यामिक विद्यालयको नवनिर्मित विद्यालयको भवन, सामुदायिक भवन र घरहरुको समुद्घाटन तथा हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उनले शैक्षिक जनशक्तिलाई तत्तत् क्षेत्रमा स्वरोजगारी र रोजगारीको प्रबन्धन मिलाउन राज्य र सम्बद्ध पक्षले सहजीकरण गर्नुपर्ने बताइन् । 
 
युवायुवतीलाई स्थानीयस्तरमै योग्यता र क्षमताअनुसारको श्रममा संलग्न गराई सुदृढ पारिवारिक एवं सामाजिक मूल्य मान्यता र माया ममता अभिवृद्धि गर्न ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले समाजमा रहेका गलत प्रथा तथा परम्परा एवं विकृति र विसंगति अन्त्यका लागि शिक्षाको तीव्र विकास गर्दै चेतना र जागरण फैलाउनुपर्ने बताइन् । 
 
देशको राजधानी काठमाडौँको समीपमा रहेको र मध्यपहाडी लोकमार्गसँग जोडिएको प्राकृतिकरुपले सुन्दर र सम्पन्न सिन्धुपाल्चोक विकासको ठूलो सम्भावना बोकेको जिल्ला भएको बताउँदै उनले भनिन्, “यहाँको जलस्रोतको बहुउपयोग, पर्यापर्यटनको प्रवद्र्धन, कृषि उद्योगको विकास, जडीबुटीको यथोचित उपयोग, उद्योगधन्दाको विकास, खानी तथा खनिज पदार्थको उत्खनन् तथा सदुपयोग, फलफूल तथा तरकारी खेतीको सबलीकरणको बलियो सम्भावना रहेकाले द्रुत गतिमा आम जनताको जीवनस्तर माथि उठाउन र राष्ट्रिय अर्थतन्त्रलाई टेवा पु¥याउन सक्ने क्षमता रहेको छ ।”
 
नेपाल र चीनको सीमा रहेको प्रसिद्ध र महत्वपूर्ण व्यापारिक र सांस्कृतिक प्रवद्र्धनमा टेवा पुग्ने तातोपानी नाकालाई जोड्ने अरनिको मार्गलाई स्तरोन्नति गरी पर्यटन प्रवद्र्धन र व्यापार व्यवसाय सुदृढीकरणको खाँचो औँल्याउँदै राष्ट्रपतिले जनआकांक्षा र बदलिएको परिवेशसँगै स्थानीय बजारको स्तरोन्नति गर्दै भौतिक पूर्वाधारसहित मेलम्ची, इन्द्रावतीलगायत उपत्यका र अन्य क्षेत्रमा नयाँ शहरको विकास गरी पर्यटन व्यवसाय अभिवृद्धिसहित व्यापार प्रवद्र्धन गर्न ध्यान दिइनुपर्ने बताइन् । 
 
बलेफीदेखि जुगल हिमाल जोड्ने सडक मार्ग र भौतिक पूर्वाधारको विकासमा ध्यान दिन सके पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्दै उनले भोटेकोसी, बलेफी, इन्द्रावतीजस्ता नदी प्रणालीलाई सुदृढ पारेर जोखिमरहित बनाएर उकास जमिनलाई कृषि, उद्योग र अन्य आर्थिक उपार्जनमा उपयोग गर्न तथा माझी, दनुवारलगायत विपन्न वर्ग र समुदायको परम्परागत पेशाका रुपमा रहेको माछापालन एवं संकलन र जीविकोपार्जनका विभिन्न पेशा व्यवसायलाई दिगो र सुदृढ पार्नुपर्दछ भनिन् । 
 
मेलम्ची खानेपानी योजनाको उद्गमस्थल रहेको यस क्षेत्रले काठमाडौँको खानेपानी समस्या समाधान गर्न देखाएको तत्परता र मानवीय कार्यको प्रसंशा गर्दै राष्ट्रपति भण्डारीले खानेपानीको पवित्र मुहानलाई सदावहार र सधैँ सफा राख्न तथा स्थानीयस्तरमा रहेको खानेपानीको समस्यालाई समाधान गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराइन् । 
 
नेपाल भूकम्पलगायत प्राकृतिक प्रकोपको उच्च जोखिमयुक्त भौगोलिक क्षेत्रमा परेकाले त्यस्ता विपद्बाट बच्न अपनाउनुपर्ने चेतना र जागरणसहित प्राकृतिक जोखममैत्री भौतिक संरचना विकास गर्नुपर्नेमा जोड दिँदै उनले एकीकृत वस्ती विकासको अवधारणाले साधन स्रोत र सुविधा उपलब्धतामा न्यूनता र सहजतासहित मानवीय मूल्यमान्यता, सहिष्णुता र सामाजिक एवं पारिवारिक भावना अभिवृद्धि गर्न मद्धत पुग्ने भएकाले जनतालाई त्यस दिशातर्फ प्रेरित र प्रोत्साहित गर्दै समृद्ध मावन वस्ती निर्माणको कार्ययोजना व्यवहार उतार्नै पर्ने बताइन् ।
 
राष्ट्रपति भण्डारीले विनाशकारी भूकम्पले ठूलो क्षति पु¥याएको यस जिल्लाका निजी आवास, शिक्षण संस्था, सामुदायिक र सार्वजनिक संरचना तथा सांस्कृतिक एवं पुरातात्विक महत्वका मन्दिर, गुम्बालगायत महत्पूर्ण सम्पदाको पुनःनिर्माणलाई तोकिएको समयमै सम्पन्न गर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराइन् । 
 
आजका बालबालिका नै भोलिका देशका सक्षम र सबल नागरिक भएकाले बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गरी समुन्नत, सुसंस्कृत र समाजप्रति उत्तरदायी बनाउन एसओएस बालग्रामले निर्वाह गरेको भूमिका प्रंशसनीय रहेको बताउँदै राष्ट्रपतिले यस्तो असल कार्यबाट समृद्ध र विकसित नेपालको लक्ष्य प्राप्त गर्न मद्धत पुग्ने विश्वास व्यक्त गरिन् । 
 
जोखिममा परेका परिवारहरुलाई एसओएसले ‘परिवार सवलीकरण कार्यक्रम’मार्फत आयआर्जनका लागि क्षमता अभिवृद्धि तालीम, आर्थिक सहायता, जीविकोपार्जनका कार्यक्रमका साथै बालबालिकालाई शैक्षिक छात्रवृति प्रदान गरी परिवार छिन्नभिन्न र बिखण्डन हुनबाट जोगाउने उदाहरणीय कार्य गरेकामा राष्ट्रपतिले खुसी व्यक्त गरिन् । 
 
सो अवसरमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले सरकारको विद्यालय भर्ना अभियानलाई सफल बनाउन विद्यालय बाहिर रहेका यस क्षेत्रका सबै विद्यार्थीलाई विद्यालयमा भर्ना गराउन आग्रह गरिन् ।
 
पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको समृद्धिको खाका तयार भइसकेको जानकारी दिँदै इन्द्रावती जलाशययुक्त आयोजना निर्माण र तातोपानी नाका खुलाउन पहल भइरहेको बताइन् । 
 
प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले मेलम्ची दोभानदेखि दोलालघाटसम्मको क्षेत्रलाई ‘ग्रिनरी भिलेज’का रुपमा विकास गर्न प्रदेश सरकार लागि परेको बताइन् । 
 
सो अवसरमा विद्यालयको प्रधानाध्यापक कृष्णप्रसाद श्रेष्ठले विद्यालयमा करिब ७०० विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए । (रासस)

शेयर गर्नुहोस:

0
Shares