काठमाडौं । सरकारले धर्म परिवर्तन गराउन चाहने व्यक्ति वा संस्थालाई निरुत्साहित गर्ने कठोर नीति ल्याउने भएको छ ।
विदेशी तथा गैरसरकारी संस्थाहरूले धर्म परिवर्तनमा संलग्न भएको गुनासो आइरहेकै बेला सरकारले यस्ता गतिविधि निरुत्साहित गर्न लागेको हो । यस्ता संस्थाको सम्बन्धन एवं दर्ता खारेज गर्ने कानुन ल्याउने र यस्ता कार्यमा संलग्नहरूलाई नेपालबाटै निकाला गर्ने सरकारले तयारी गरेको छ ।
नेपालमा कार्यरत झण्डै दुई सय ५० भन्दा बढी अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र तिनका पदाधिकारीमाथि कडाइ गर्दै राष्ट्रिय सदाचार नीति ल्याउन लागिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राष्ट्रिय सदाचार नीतिको मस्यौदा तयार पारिरहेको छ ।
प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव विनोदबहादुर कुँवरले सार्वजनिक निकाय, निजी क्षेत्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी क्षेत्रलगायतलाई नैतिकवान् बनाउन राष्ट्रिय सदाचार नीति ल्याउन लागिएको जानकारी दिए ।
राष्ट्रिय सदाचार नीतिलाई छिट्टै मन्त्रिपरिषद्बाट स्वीकृत गराउने योजना प्रधानमन्त्री कार्यालयको छ ।
पूर्वकानुनसचिव एवं सदाचार नीतिका मस्यौदाकार मोहन बञ्जाडेले आईएनजीओहरूले सहयोगका नाममा धर्म परिवर्तन गराउने खतरनाक काम गरिरहेको आरोप लगाए ।
‘यो हाम्रो धर्म र सभ्यता नष्ट गराउने दुष्प्रयास हो । धर्म परिवर्तन गराउन खोज्ने तत्वलाई कडाइ नगर्ने हो भने मुलुकले गम्भीर खाले समस्या भोग्नुपर्छ’, बञ्जाडेले भने ।
नेपालको संविधान र फौजदारी कानुनमा पनि धर्म परिवर्तन गराउनेलाई कडा कारवाही गर्ने प्रावधान छ । ‘संविधान र कानुनी व्यवस्थाको पालना गराउन नसक्ने हो त्यस्ता कानुनी प्रावधानको अर्थ रहँदैन’, बञ्जाडेले भने ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव केदारबहादुर अधिकारीले कुनै पनि एनजीओले नेपालमा धर्म प्रचारप्रसार गर्न नपाउने स्पष्ट पार्दै भने, ‘गर्छ भने त्यो संविधान र कानुनविपरीत काम हो र उनीहरूलाई कानुनको दायरामा ल्याउनुपर्छ ।’
‘अहिले सदाचार नीतिको मस्यौदामा पनि हामीले यसको प्रस्ताव गरेका छौं । समाज कल्याण परिषद् र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले विगतमा त्यस्ता एनजीओलाई किन सम्बन्धन दिए छानबिन गर्नुपर्छ । प्रधानमन्त्री कार्यालयले उनीहरूलाई पटक पटक ध्यानाकर्षण गराउँदै आएको छ’, सचिव अधिकारीले भने ।
‘अहिले पनि आईएनजीओहरूले धर्म परिवर्तन गराउँदै हिँडिरहेका खबरहरू आइरहेका छन्’, उनले भने, ‘सरकारले वास्तविकता पत्ता लगाई त्यस्ता आईएनजीओलाई कानुनको दायरामा ल्याउनुपर्छ । धर्म परिवर्तन गराउने प्रस्ताव लिएर नेपाल भित्रिएका एनजीओलाई काम गर्न दिनु राष्ट्रमाथिको बेइमानी हो ।’
समाज कल्याण परिषद् सञ्चालक समितिका सदस्य गोकर्ण भट्ट विगतमा समाज कल्याण परिषदबाट बाइबल बाँड्ने उद्देश्यले आएका आईएनजीओलाई सरासर सम्बन्धन दिएर संविधानको मर्मलाई कुल्चने काम भएको प्रतिक्रिया दिएका छन् ।
‘यस्तो प्रवृत्ति पूर्ण रूपमा बन्द हुनुपर्छ । अहिले प्रधानमन्त्री कार्यालयले पनि त्यसमा कडाइ गर्न परिषद्लाई निर्देशन दिएकाले परिषद्ले पनि केही कडाइ गर्दै आएको छ’, उनले भने ।
सदाचार नीतिको मस्यौदामा धर्म परिवर्तन गराउने कार्य कानुनतः दण्डनीय भएकाले विदेशी व्यक्ति वा संस्थाले प्रत्यक्ष वा परोक्ष रूपमा धर्म परिवर्तन नगर्ने९नगराउने शपथपत्रमा हस्ताक्षर गर्नुपर्ने प्रावधान राखिएको छ ।
यो प्रावधानमा हस्ताक्षर गरेपछि पनि यसमा संलग्न रहेको पाइए सम्बन्धन खारेज गरी नेपालबाट फिर्ता गर्ने व्यवस्था गरिएको छ । समाज कल्याण परिषद्सँग सम्बन्धन प्राप्त गरी झण्डै दुई सय ५० वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले नेपालमा विभिन्न क्षेत्रमा क्रियाशील छन् ।
ती संघ संस्थामध्ये केहीले परिषद्मा सम्बन्धनका लागि प्रस्ताव पेस गर्दा बाइबल वितरण गर्ने भनी स्पष्टै लेखेको थिए । ‘पहिला मनपर्दी सम्बन्धन दिँदा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई धर्म परिवर्तन गराउने कार्यमा प्रचार गर्न सहज भएको हो ।
प्रधानमन्त्री कार्यालयले धर्म प्रचार गर्ने अभिप्रायले आउने त्यस्ता आईएनजीओलाई कडाइ गर्न समाज कल्याण परिषद्लाई पत्राचार गरेपछि परिषद्ले केही कडाइ गर्दै आएको छ । -एजेन्सी
प्रतिक्रिया