मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गृहमन्त्रीले भने– “४० प्रतिशत सजाय भोगेका कैदीलाई जेलमुक्त गर्छु”

गृहमन्त्रीले भने– “४० प्रतिशत सजाय भोगेका कैदीलाई जेलमुक्त गर्छु”


 गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले जेल सानो नेपाल भएको प्रतिक्रिया दिएका छन् । 
 
आइतबार भरतपुर कारागार अवलोकन गर्दै उनले भने, “बाहिर जे समस्या छ त्यो जेलभित्र पनि छ । यसलाई सुधार गर्ने पद्दति निर्माण गर्न हामी लागेका छौं ।” 
 
गृहमन्त्री थापाले जनताले नयाँ सरकार बनाएकाले अधिकतम ४० प्रतिशत सजाय भोगेका कैदीबन्दीलाई जेलमुक्त गर्ने ऐन संशोधनमा गृहकार्य थालिएको बताए । 
 
गृहमन्त्री भएपश्चात् पहिलोपटक गृहजिल्ला आएका उनले जेलभित्र शोषण र अपराध नहोस् भनेर नयाँ नीति बनाउन लागिपरेको बताए । 
 
आफू स्ययं यही जेलमा ६ महिना बसेको स्मरण गर्दै उनले भने, “जेलभित्रको समस्याका बारेमा म पूर्णरुपमा जानकार छु । त्यही समस्यालाई मध्येनजर गरी जेल सुधार कार्यक्रम लागू गर्नेछौं ।”
 
नयाँ सरकारले अपराधीलाई जेलमा आएर सोच, चिन्तन बदल्ने सुधारगृहका रुपमा विकास गर्ने विभिन्न योजनाहरु बनाइरहेको बताए । जेलमा दुईथरीका बन्दी रहेको उल्लेख गर्दै उनले थपे, “एउटा अपराध गरेर ल्याइएका र अर्को फसाइएका पनि छन् । राज्यले जेलभित्र रहेका बन्दीलाई सभ्य नागरिक बनाउनेतर्फ सोचिरहेको छ ।” 
 
उनले कैदीबन्दीको सिदा वृद्धिको निर्णय गरिसकेको बताउँदै १९ हजार कैदीबन्दीको सिदा वृद्धि गर्दा कुनै समस्या नपर्ने उल्लेख गरे । कारागारको स्थलगत अवलोकनसँगै गृहमन्त्रीले कैदीबन्दीसँग करिब आधाघण्टा समस्याका बारेमा सोधपुछ गरेका थिए । 
 
कैदीबन्दीले समयमै स्वास्थ्य उपचार नपाएकोे, जेलको क्षमताभन्दा बढी बन्दी रहनुपरेको, खानालगायतका समस्या सुनाएका थिए । 
 
उनले कैदीबन्दीलाई समयमै उपचारसँगै कामसँग जोड्ने, उद्योग–व्यवसायमा लगाउनेलगायतका योजनाहरु छिट्टै सार्वजनिक गरिने प्रतिबद्धता जनाए ।