मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सभापति देउवाद्वारा दिवंगत नेता खड्काप्रति श्रद्धाञ्जलि

सभापति देउवाद्वारा दिवंगत नेता खड्काप्रति श्रद्धाञ्जलि


काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका दिवंगत नेता खुमबहादुर खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । 
 
सभापति देउवाले आइतबार ललितपुर, सानेपास्थित नेता खड्काको निवास पुगेर उहाँको पार्थिव शरीरमाथि श्रद्धाञ्जलि अर्पण गरे । 
 
काँग्रेस केन्द्रीय सदस्य, पार्टीका पूर्वमहामन्त्री तथा पूर्वमन्त्री नेता खड्काको उपचारका क्रममा शुक्रबार साँझ भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा ६७ वर्षका उमेरमा निधन भएको हो । उनी मिर्गौला र छातीको संक्रमणबाट पीडित थिए । 
 
उनको पार्थिव शरीर शनिबार राति नेपाल ल्याई सानेपास्थित उनकै निवासमा राखिएको थियो । आइतबार काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तथा नेता कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, डा प्रकाशशरण महत, डा शेखर कोइरालालगायतले सानेपा पुगी नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । 
 
नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्न बिहानैदेखि उहाँको निवासमा काँग्रेसका सयौंँ नेता कार्यकर्ताको ठूलो भीड लागेको छ । उनको पार्थिव शरीर अपराह्न १ बजे श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने र त्यसपछि आजै पशुपति आर्यघाटमा दासंस्कार गरिने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।