काठमाडौँ । नयाँदिल्लीको एपोलो अस्पतालमा उपचारका क्रममा निधन भएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री खुमबहादुर खड्काको आइतबार अन्तिम संस्कार हुँदैछ ।
उनको पार्थिव शरीरलाई आइतबार दिउँसो १ बजे श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने र त्यसपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
नेता खड्काको उपचारका क्रममा शुक्रबार साँझ भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा ६७ वर्षको उमेरमा निधन भएको थियो । उनी मिर्गौला र छातीको संक्रमणबाट पीडित थिए । उनको पार्थिव शरीरलाई शनिबार राति नेपाल ल्याई ललितपुर, सानेपास्थित उनकै निवासमा राखिएको छ ।
बेलायतमा उच्च शिक्षा अध्ययनरत नेता खड्काका सुपुत्र अनुराग खड्का आइतबार नेपाल आएपछि धार्मिक विधि र परम्परागत प्रक्रिया पूरा गरेरमात्रै उनको पार्थिव शरीरलाई दिउँसो पार्टी कार्यालयमा राखिने बताइएको छ ।
यही चैत ९ गतेदेखि निर्वाचन समीक्षा गर्न जारी काँग्रेस केन्द्रीय कार्यसमितिको सातौँ दिनको बैठक स्व खड्काप्रति सम्मान प्रकट गर्दै अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि स्थगित गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
प्रतिक्रिया