काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली काँग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा युरोपियन युनियन ईयूको निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलको प्रतिवेदनमाथि छलफल भएको छ ।
सोमबारको बैठकमा केन्द्रीय सदस्य रमेश लेखकले र्इयू निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलमाथि काँग्रेसले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने बताएका थिए ।
इयु निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गरेको पर्यवेक्षणका सम्बन्धमा प्रतिवेदन केही दिनअघि सार्वजनिक गरेको थियो ।
उक्त प्रतिवेदनका केही बुँदाले नेपालको संविधानका प्रावधानका बारेमा नकारात्मक टिप्पणी गरेको भन्दै आलोचना भइरहेको छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बैठक सम्पन्न भएसँगै पार्टीले त्यसबारेमा आधिकारिक धारणा सार्वजनिक गरिने जानकारी गराए ।
मिसनले आफ्नो अधिकार बाहिर रहेर नेपालको संविधानप्रति नकारात्मक टिप्पणी गरेको कांग्रेसका प्रवक्ता शर्माले बताए । उनले भने, ‘युरोपली युनियनको प्रतिवेदनमा रहेका केही अंश गम्भीर र आपत्तिजनक छन् । निर्वाचनको पर्यवेक्षणका लागि आएको युरोपेली युनियनले प्रतिवेदन जारी गर्दै गर्दा संविधानमाथि नै गरेको टिप्पणी कार्यक्षेत्र भन्दा बाहिर गएको छ । मर्यादाबाहिर गएर गरेको टिप्पणीप्रति हाम्रो आपत्ति छ ।’
ईयूको निर्वाचन पर्यवेक्षण मिसनले खस आर्यको आरक्षण खारेज गर्न सुझाव दिएको थियो । नेपाल सरकारले ईयूको प्रतिवेदनमाथि आपत्ति जनाएको छ ।







प्रतिक्रिया