मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपाल प्रहरीको आईजीपीमा कसले मार्लान् बाजी ?

नेपाल प्रहरीको आईजीपीमा कसले मार्लान् बाजी ?


काठमाडौँ । ३० वर्षे सेवा हदका कारण नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपीले यही चैत महिनामा अनिवार्य अवकाश पाउने भएका छन् । चैत २९ गतेदेखि लागू हुने नयाँ नेतृत्वका लागि दुवै संगठनका दाबेदारहरुको दौडधूप सुरु भइसकेको छ । 
 
अहिले देश विदेश सर्वत्र नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कसले बाजी मार्छन् भन्ने जिज्ञासा उत्पन्न हुन थालेको छ । नेपाल सरकारले नेपाल प्रहरीको २६ औँ आईजीपीमा कसलाई नियुक्त गर्ला त ? यही सवाल महत्वपूर्ण बन्न पुगेको छ । 
 
३० वर्षे सेवा हदका कारण वर्तमान आईजीपी प्रकाश अर्यालसहित १५ जना एआईजीले अनिवार्य अवकाश पाउँदैछन् । सेवा हदकै कारण डीआईजीहरु रमेश भट्टराई, पुष्पचन्द्र रञ्जित, गोविन्द निरौला, रोमेन्द्रसिंह देउजा, सुदीप आचार्य, गणेश केसी, केदारमानसिंह भण्डारी र एसएसपी विष्णुहरि गौतमले अवकाश पाउँदैछन् । 
 
नेपाल प्रहरीमा कसको पल्लाभारी ? 
 
अन्य कुरा यथावत रहेमा डीआईजीहरुमध्येबाटै एकजना आईजीपी बन्ने परम्परा छ । वरियताक्रमअनुसार एक नम्बरमा रहेका डीआईजी नै आईजीपी हुने गरेका छन् । यद्यपि आईजीपी नियुक्ति मन्त्रिपरिषद्को अधिकारको विषय भएकाले यकिनसाथ यही अनुहार आईजीपी हुन्छन् भनेर अनुमान गर्न सकिँदैन । 
 
यतिखेर नेपाल प्रहरीको आसन्न आईजीपीमा तीन डीआईजीको अनुहार विशेष चर्चामा छ । डीआईजी सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्कीमध्येबाट एकले नेपाल प्रहरीको नेतृत्व पाउने छन् । यी तीनै प्रतिस्पर्धी एउटै व्याजीका हुन् । तीनै जनाको आआफ्नै विशेषता र काम गर्ने शैली पनि फरक फरक छ । 
 
डीआईजीको वरियताक्रममा सर्वेन्द्र खनाल पहिलो नम्बरमा छन् । यस्तै खरेल दोस्रो र कार्की तेस्रो वरियताक्रममा छन् । 
 
सर्वेन्द्र खनाल
 
खनाल यतिबेला ट्राफिक प्रहरी महाशाखाको प्रमुख भएर काम गरिरहेका छन् । उनले एसएसपीको जिम्मेवारी बहन गर्दाको अवस्थासम्म तराई, मधेसदेखि विभिन्न जिल्लाको कमाण्ड सम्हालिसकेका छन् । 
 
उनले यसअघि धनुषा, अञ्चल प्रहरी कार्यालय नारायणी, काठमाडौँ परिसर र अपराध महाशाखाको नेतृत्व सम्हालिसकेका छन् । काठमाडौँमा गण्डागर्दी नियन्त्रण, कुख्यात भारतीय अपराधी बब्लुलाई पक्राउ गर्नेदेखि गुन्डानाइके कुमार घैंटेको इन्काउन्टरसम्म अपरेसन गरेर उनले चर्चा कमाएका थिए । विशेषगरी नेपाली फुटबलमा म्याच फिक्सिङको सनसनीपूर्ण रहस्य पर्दाफास गरेर उनले आफूलाई अब्बल प्रहरी अधिकारी सावित गरेका थिए । 
 
रमेश खरेल
 
यतिखेर खरेल सुरक्षा सेवा निर्देशनालयमा कार्यरत छन् । भ्रष्टाचार र अपराधविरुद्ध कत्ति पनि नडग्ने र अनियमितताविरुद्ध डटेर प्रस्तुत हुने शैलीका कारण रमेश खरेल एकाएक चर्चामा आए । 
 
उनले दुईपटक काठमाडौँ प्रहरी परिसरको नेतृत्व सम्हाल्दा गुण्डागर्दी गर्नेको सातोमात्र लिएनन्, अपराधीहरुको 'ट्रान्जिट प्वाइन्ट' भनेर चिनिने काठमाडौँको मुहारै परिवर्तन भयो । 
 
काठमाडौँको अपराध नियन्त्रणका साथै पर्सामा तस्करी सञ्जाल तोडेपछि उनको चर्चा चुलियो । प्रहरी संगठनभित्र पनि उनी खरो अधिकृतका रुपमा चर्चित छन् । 
 
सत्यको पक्षमा आफूलाई उभ्याउँदै वास्तविक कुरा पर्दाफास गर्ने साहसकै कारण लोकप्रिय छन् । सामाजिक सञ्जाल र मिडियामा पनि छाइरहने खरेल जनतामा पनि उत्तिकै लोकप्रिय छन् । 
 
पुष्कर कार्की
 
अर्का आईजीपीका दाबेदार हुन् डीआईजी पुष्कर कार्की । उनले काठमाडौँ प्रहरी परिसर, अपराध महाशाखा, गोरखा र कास्कीलगायत जिल्लाको कमाण्ड सम्हालिसकेका छन् । 
 
अहिले उनी केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)का प्रमुख छन् । उनकै नेतृत्वमा अपराधी मनोज पुनको समूह पक्राउ प¥यो । यस्तै, काठमाडौँमा छात्रामाथि एसिड प्रहार गर्ने तथा टेकु, ठमेल र न्युरोडमा गोली हान्ने समूहको समेत पहिचान भयो । उनकै सक्रियतामा नक्कली चिनियाँ डाक्टर समातिए । 
 
उनीसँग राष्ट्रसंघीय मिसनमा सबैभन्दा उच्च तहमा बसेर काम गरेको अनभव छ । प्रहरी सुधार र व्यवस्थापनमा चासो राख्ने उनी चर्चित प्रहरी अधिकारी हुन् । 
 
यसैैबीच, सशस्त्र प्रहरीको आईजीपीमा एआईजीहरु शैलेन्द्र खनाल, पुष्पराम केसी र नारायणबाबु थापा मैदानमा छन् । 
 
तीनैजना २०५९ मा नेपाल प्रहरीमा निरीक्षकका रुपमा सेवा प्रवेश गरी सशस्त्र प्रहरी बल गठन भएपछि एक तह बढुवा भएका थिए । आईजीपी सिंहबहादुर श्रेष्ठले २८ चैतमा अनिवार्य अवकाश पाउने भएपछि उनीहरु दाबेदार मानिएका हुन् । 
 
यद्यपि सशस्त्र प्रहरीमा वरियतामा पहिलो नम्बरमै रहेका आईजीपी बन्ने प्रचलन छ । परम्परा भंग नभएमा शैलेन्द्र खनालले नै सशस्त्र प्रहरीको नेतृत्व सम्हाल्ने देखिन्छ ।

शेयर गर्नुहोस:

0
Shares