मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सभापति देउवाको कार्यशैलीले काँग्रेसको पराजय : नेता आचार्य

सभापति देउवाको कार्यशैलीले काँग्रेसको पराजय : नेता आचार्य


काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भोग्नुपरेको पराजयको समीक्षा एवम् आगामी रणनीतिका लागि केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ । 
 
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा शनिबार पनि केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वको आलोचना गरेका छन् । 
 
कांग्रेस नेता नरहरि आचार्यले मुलुकमा भएको राजनीतिक परिवर्तनपछि पार्टी नेतृत्व अब के गर्ने भन्ने द्विविधामा रहेको बताएका छन् ।
 
उनले बैठकमा चारबुँदे लिखित प्रतिवेदन पेश गर्दै भनेका छन्, ‘कांग्रेसले आफ्ना राजनीतिक एजेण्डाहरु अझ स्पष्ट पार्नुपर्ने अवस्था हाम्रा अगाडि छ । संघीय लोकतान्त्रिक गणराज्य नेपालको संविधान हामीले निर्माण गरे पनि संविधानभित्रका सबै विषयमा हामीले हाम्रा नेता र कार्यकर्तालाई स्पष्ट बनाउन अझै सकेका छैनौँ ।’ 
 
‘काँग्रेसको नेतृत्वमा मुलुकमा ठूलो परिवर्तन भयो । तर, आफैँले गरेको परिवर्तनपछि के गर्ने भन्ने द्विविधा नेतृत्व तहमा देखिएको ’ जनाउँदै उनले पेश गरेको प्रतिवेदनमा कांग्रेस अब भविश्यमुखी बन्नुपर्ने उल्लेख गरिएको छ ।
 
प्रतिनिधिसभा र प्रदेशसभाको पछिल्लो जनमतले काँग्रेस कमजोर अवस्थामा आइपुगेको देखाएको भन्दै उनले थपेका छन्, ‘यसलाई सुधार गर्नका लागि हामी प्रत्येक सदस्य जिम्मेवार र भविष्यमुखी बन्नुपर्छ ।’
 
काँग्रेसले प्रतिकुल परिस्थितिको सामना गर्न सक्ने संरचना बनाउन नसकेकाले चुनावमा राम्रो परिणाम हासिल गर्न नसकेको उनको ठहर छ । 
 
वाम गठबन्धनको चुनौती सामना गर्न लोकतान्त्रिक गठबन्धन बनाए पनि कांग्रेस एक्लै परेको आरोप उनले लगाएका छन् । उनले एकापसमा आरोप–प्रत्यारोप गर्नुभन्दा सामूहिकताको आधारमा पार्टीलाई एकढिक्का बनाएर लैजान सुझाव दिए । 
 
यसैगरी, केन्द्रीय सदस्यहरु नवीन्द्रराज जोशी र हरि नेपालले सभापति शेरबहादुर देउवाको कार्यशैलीका कारण पार्टी संगठन ध्वस्त भएको र देउवा नेतृत्वको सरकारले गरेको अलोकप्रिय निर्णयका कारण निर्वाचनमा पराजय व्यहोर्नुपरेको आरोप लगाएका थिए ।
 
शुक्रबारदेखि सुरु बैठकमा नेताहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र नारायण खड्काले पार्टीले दुर्गति भोग्नुको मुख्य जिम्मेवार सभापति देउवा भएको भन्दै कडा आलोचना गरेका थिए ।
 
प्रवक्ता विश्वप्रकाश शर्माले जारी केन्द्रीय समिति बैठकले ठोस निर्णय र भावी रणनीतिको कार्ययोजना तय गर्ने जानकारी दिए । 
 
निर्वाचन समीक्षा र समसामयिक राजनीतिक विषयमा धारणा राख्ने केन्द्रीय सदस्यहरुको सूची लामो भएकाले बैठक केही दिन अरु लम्बिने उनले बताए । 

शेयर गर्नुहोस:

0
Shares