मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रदेशको राजधानी हेटौँडाबाट दायाँबायाँ हुँदैन : प्रचण्ड

प्रदेशको राजधानी हेटौँडाबाट दायाँबायाँ हुँदैन : प्रचण्ड


हिमालयखबर संवाददाता-
हेटौंडा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नम्बर ३ को राजधानी हेटौँडाबाट दायाँबायाँ नहुने बताएका छन् । 
 
गोरक्षश्वरधामले मंगलबार हेटौँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री प्रचण्डले राजधानीको लागि हेटौँडा नै उपयुक्त भएकोले र हेटौंडावासीलाई ढुक्क रहन आग्रह गरे ।
 
आगामी वैशाख १ गतेदेखि गोरक्षश्वरमा हुने बृहत् महायज्ञ तथा गोरक्षश्वरधामबारे जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले आफूहरुले धर्मलाई सम्मान गर्ने राजनीतिक संस्कार भएको पार्टी भएको बताए । उनले धार्मिक पर्यटनको लागि मकवानपुरको गोरक्षश्वरलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 
 
उनले भने, ‘हामी धर्मविरोधी होइनौँ । माओवादी केन्द्रलाई विभिन्न अतिवादीहरुले धर्मविरोधी भएको प्रचार गर्ने गरेका छन् । तर, हामी धर्मको सम्मान गर्ने व्यक्ति हौँ ।’ 
 
कार्यक्रममा व्यवसायी अजय सुमार्गीले महायज्ञको विषयमा जानकारी गराएका थिए । कार्यक्रममा प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मरकट्टेल, राष्ट्रियसभा सांसद रामनारायण विडारी, प्रदेश सांसद प्रेमबहादुर पुलामीलगायतको सहभागिता रहेको थियो । 
 
 
यसैगरी, प्रचण्डले हेटौँडा अस्पतालमा मकवानपुरका कम्युनिष्ट नेता रामकृष्ण श्रेष्ठसँग भेट गरेका छन् । सो अवसरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले प्रदेशको राजधानी सार्ने विषयमा भएका निराधार हल्लाको पछि नलाग्न आग्रहसमेत गरे ।
 
प्रचण्डले भने, ‘हेटौँडा राजधानी भइसक्यो, तपाईंहरु ढुक्क रहनुस्, अब यो अस्पताललाई राजधानीको अस्पतालजस्तै सफा तथा नमुना बनाउनुपर्छ ।’
उनले हेटौँडा अस्पतालको स्तरोन्नतिका लागि पनि सरकारले सहयोग गर्ने बताए ।