मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अब ठेक्कापट्टामा ढिलासुस्ती र कमिसनखोरी गर्नेको गुन्जाइस छैन : प्रचण्ड

अब ठेक्कापट्टामा ढिलासुस्ती र कमिसनखोरी गर्नेको गुन्जाइस छैन : प्रचण्ड


लहान । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठेक्कापट्टामा ढिलासुस्ती, कमिसनखोरी र भ्रष्टाचारीको अब कुनै गुन्जाइस नभएको बताएका छन् ।  
 
पूर्वपश्चिम हुलाकी राजमार्गको स्तरोन्नती कार्यको मंगलबार सिरहाको बरियारपट्टिमा शिलान्यास गर्दै उहाँले ठेक्कापट्टामा हुुँदै आएको ढिलासुस्ती र कमिसनखोरीका कारण देशको विकास निर्माण अस्तव्यस्त भएकाले अब त्यस्तालाई नछाड्ने प्रतिबद्धता व्यक्त गरे । 
 
अध्यक्ष प्रचण्डले भने– “सुशासनबिना बिकासको कल्पना गर्न सकिदैन्, सुशासन कायम गर्न भ्रष्टमाथि कडा कारबाही गर्नैपर्छ, त्यसका लागि सरकारले कडा कदम चाल्नेछ ।” 
 
राजनीतिक क्रान्ति पूरा भइसकेको बताउँदै उनले अब हामीले विकासको नयाँ क्रान्ति गर्दै पाँचदेखि १० वर्षभित्रमा नेपाललाई विश्वकै समृद्ध मुलुक बनाउने धारणा व्यक्त गरे । 
 
अध्यक्ष प्रचण्डले बिगतको जस्तो कमजोर र अस्थिर अहिलेको सरकार होइन् बताउँदै “नेपालकै इतिहासमा पहिलो पटक हामीलाई बलियो हात दिएर जनताले सिंहदरबर पठाएका छन्, त्यसैले अब हामीले फटहा, कमिसनखोर र बेथिति बनाउनेलाई जेल हाल्न पछि पर्दैनौ,” भने । 
 
चुनाबका बेला वामगठबन्धले साझा घोषणापत्रमार्फत जनतालाई सुशासन, स्थायीत्व, विकास र समृद्धिको आश्वासन बाँडेको उल्लेख गर्दै उनले जनताले विश्वास र भरोसा गरेर वामगठबन्धको झन्डै दुई तिहाईको यो सरकारले अब जनताको त्यो इच्छा र भरोसा पूरा गर्ने दाबी गरे । 
 
अध्यक्ष दाहालले सिँंचाइ र सडक पूर्वाधारको विकास नभएसम्म मधेशमा हरित क्रान्ति केबल हावाको क्रान्तिमात्र हुने टिप्पणी गर्दै सिँचाइ र सडक पूर्वाधारको विकासमा ठोस योजनाका साथ सरकारले काम गर्ने बताए । 
 
मधेसकै लाइफ लाइनका रुपमा रहेका हुलाकी राजमार्गको स्तरोन्नतिको योजना आफू प्रधानमन्त्री भएकै बेलामा अघि बढेको चर्चा गर्दै उनले अब कुनै पनि बाहानामा हुलाकी राजमार्गको काम नरोकिने बताए । 
 
अध्यक्ष दाहालले मधेश केन्द्रित दलरुसँग निरन्तर छलफल गरी संविधान संशोधनको नजिक पुगेको बताउँदै छिट्टै संविधान संशोधन भएर यसप्रतिको मधेशी जनताको असन्तुष्टि अन्त्य हुने विचार व्यक्त गरे । 
 
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मुलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक दल र त्यसका नेतृत्वले एकै ठाउँमा उभिनुपर्ने बताउँदै “राजनीतिक दलको खिचातानीका कारण विकासको बजेट फिर्ता जाने र विकास निर्माण ठप्प हुने प्रवृति देखिएको छ, त्यसलाई सबै दलका नेताले त्याग्नु जरुरी छ,” भने । 
 
सरकारले पाँच वर्षभित्र देश र मधेशको स्वरुप परिवर्तन हुने गरी काम अघि बढाउन लागेकोले यसमा सबै दलको सकारात्मक सहयोग आवश्यक भएको पनि उनले बताए । 
 
मन्त्री महासेठले समयमा काम पुरा नगर्ने ठेक्केदारलाई सरकारले कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै विकास निर्माणमा हुने ढिलासुस्ती र कमिसनखोरी रोक्न दण्ड र पुरस्कारको व्यस्था गर्न लागेकोसमेत बताए । 
 
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले सुशासन र विकासको मुख्यबाधक भ्रष्टाचार भएकाले यसको नियन्त्रणका लागि प्रदेश सरकार कडारुपमा प्रस्तुत हुने दृढता व्यक्त गरे । 
 
“भ्रष्टाचार नियन्त्रणमा प्रदेश सरकार कुनै कसर बाँकी राख्दैन्”, उनले  भने–“जनताबाट आएको एकएक पैसाको हिसाब हामी जनतालाई दिन्छौं, भ्रष्टाचार हुन्न दिन्न ।” 
 
नेकपा माओवादी केन्द्रका नेता विश्वनाथ साह, प्रभु साह, नेकपा एमालेका केन्द्रीय सदस्य तथा सांसद लिलानाथ श्रेष्ठलगायतले हुलाकी सडक निर्माण समयमै सम्पन्न भए मधेशमा आर्थिक समृृद्धिको बाटो खुल्ने बताए । 
 
आगामी ३० महिनाभित्र सम्पन्न हुने गरी शुरु भएको हुलाकी मार्गको स्तरोन्नतिको कामको अध्यक्ष प्रचण्डसहित यातायातमन्त्री महासेठ, प्रदेश नं। २ का मुख्यमन्त्री राउत र नेकपा माओवादी केन्द्रका नेता तथा सांसद सुरेशचन्द्र दास यादवले संयुक्तरुपमा शिलान्यास गरेका हुन् । रासस