मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध निर्वाचित

उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध निर्वाचित


काठमाडौँ । वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि पुनः निर्विरोध निर्वाचित भएका छन् । 
 
उपराष्ट्रपति पदमा उनको मात्र उम्मेदवारी परेका कारण निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत तीलप्रसाद श्रेष्ठले जानकारी दिए । 
 
उनको उम्मेदवारीको प्रस्तावकमा रेखा शर्मा, सुवास नेम्वाङ, परशुराममेघी गुरुङ, पम्फा भुसाल र भानुभक्त ढकाल थिए । यसैगरी समर्थकमा जयपुरी घर्ती, राजेन्द्र गौतम, रामनारायण बिडारी, ओनसरी घर्ती र देव गुरुङ रहेका थिए ।  
 
निर्वाचन आयोगले उपराष्ट्रपति पदमा निर्वाचित भएका पुनलाई प्रमाणपत्र प्रदान गरेको छ । 
 
उपराष्ट्रपतिको कार्यालयमा आइतबार साँझ आयोजित एक समारोहमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले उपराष्ट्रपतिमा निर्वाचित भएका पुनलाई प्रमाणपत्र प्रदान गरेका हुन् ।  
 
सो समारोहमा आयोगका आयुक्त, सचिव तथा कर्मचारीको उपस्थिति रहेको थियो । 
 
निर्वाचन वर्ष’ कुशलतापूवर्क सम्पन्न गरेकामा बधाई 
 
प्रमाणपत्र ग्रहणपछि उपराष्ट्रपति पुनले ठूलो बलिदानपछि प्राप्त भएको नेपालको संविधान कार्यान्वयन गर्ने सम्बन्धमा उपराष्ट्रपतिको निर्वाचन अन्तिम भए पनि ऐतिहासिक भएको बताए । उनले यस वर्ष नेपालको इतिहासमा निर्वाचनको वर्ष भएकाले त्यसलाई कुशलतापूर्वक सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवादसमेत दिए । 
 
उपराष्ट्रपति पुनले भने, “सबै निर्वाचन कुशलतापूर्वक सम्पन्न गरेकामा आयोगलाई म धन्यवाद दिन चाहन्छु । यो नेपालको इतिहासमा एउटा कोशेढुंगाका रुपमा स्थापित हुनेछ भन्ने मैले विश्वास लिएको छु ।” 
 
एकै वर्षमा तीन तहको निर्वाचन स्म्पन्न गरेर इतिहास कायम गरेकाले आगामी दिनमा समेत यसले एउटा नमूनाको रुपमा काम गर्ने उनको भनाइ थियो । संविधान कार्यान्वयनको महत्वपूर्ण कार्यभार पूरा भएकामा खुसी व्यक्त गर्दै उनले अब नेपाल आर्थिक समृद्धि र विकासको चरणमा प्रवेश गर्ने विश्वाससमेत व्यक्त गरे । 
 
निर्वाचन आयोगले आइतबारमात्रै उपराष्ट्रपतिमा पुन निर्वाचित भएको घोषणा गरेको हो । उनको बाहेक अरुको उम्मेदवारी नपरेपछि उपराष्ट्रपति पुन पुनः दोस्रो कार्यकालका लागि उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।