मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

न्यायालयमाथि हस्तक्षेप सह्य हुन सक्दैन : सभापति देउवा

न्यायालयमाथि हस्तक्षेप सह्य हुन सक्दैन : सभापति देउवा


चितवन । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले न्यायालयमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् । सभापति देउवाले ओली सरकारले दुई तिहाई बहुमतको दम्भ देखाएर न्यायालयमाथि हस्तक्षेप गरेको भन्दै त्यो कांग्रेसलाई सह्य नभएको बताए । 
 
निजामति कर्मचारी युनियन संघको सातौं महाधिवेशनको उद्घाटन समारोहमा उनले केपी ओली नेतृत्वको सरकारले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पदमुक्त गर्न बाध्य बनाएर न्यायालयमाथि हस्तक्षेप गरेको आरोप लगाए । 
 
कांग्रेस स्वतन्त्र न्यायालय र स्वतन्त्र कर्मचारीतन्त्रको पक्षमा रहेको भन्दै उनले सरकारले यी दुई अंगमा हस्तक्षेपकारी भूमिका खेले कांग्रेसले त्यसविरुद्ध डटेर सामना गर्ने चेतावनी दिए । वर्तमान सरकारले कर्मचारी सरुवा, बढुवामा हस्तक्षेप गर्ने सम्भावना बढेको भन्दै सभापति देउवाले त्यसो गरिए कांग्रेस चुप लागेर नबस्ने जिकिर गरे । उनले भने, “दुईतिहाइको दम्भ देखाएर सरकारले हस्तक्षेपकारी नीति अबलम्बन गरे कांग्रेसले त्यसको डटेर सामना गर्छ ।” 
 
उनले लोकतन्त्रको रक्षा, संविधानको कार्यान्वयन र संघीयतालाई संस्थागत गर्ने काममा दत्तचित्त भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए । आफू नेतृत्वको सरकारले संविधान निर्माण, त्यसको कार्यान्वयन र तीनै तहको निर्वाचन गराउन सफल भएको भन्दै देउवाले निर्वाचनको परिणामलाई दिएर निरास नहुन कार्यकर्तालाई आग्रह गरे । उनले भने, “संविधान कार्यान्वयन गर्नु महत्वपूर्ण जिम्मेवारी थियो’ उनले भने, ‘मैले निर्वाचन गराएर संविधान पूर्णरुपमा कार्यान्वयन गराएको छु ।” 
 
कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तीनै तहको निर्वाचनमा पराजित भएर घाइते भएको कांग्रेसलाई उपचारको आवश्यकता रहेको औंल्याए । उनले भने, “कांग्रेसलाई उपचारको आवश्यकता परेको छ । त्यो संगठन विस्तार गर्दै जनताको बीचमा पुगेरमात्र गर्न सकिन्छ ।” नेता पौडेलले कांग्रेसलाई पुरानै अवस्थामा फर्काउन स्पष्ट एजेण्डासहित जनताको बीचमा पुग्नुुपर्ने बताए ।
 
कांग्रेसलाई जनताप्रतिको समर्पण आवश्यक रहेको बताउँदै नेता पौडेलले थपे, “अब कांग्रेसले जनताको मन जित्न सक्नुपर्छ । त्यसका लागि स्पष्ट योजना र भिजनका साथ कांग्रेस जनताको बीचमा जान आवश्यक छ ।”
 
नेता पौडेलले ओली नेतृत्वको सरकारले न्यायालय र संविधानलाई नियन्त्रणमा लिन खोजेको आरोप लगाउँदै भने, “सरकारले अदालतलाई तर्साउने र न्यायालयलाई नियन्त्रणमा लिने प्रयास गरेको छ । कम्युनिस्ट नेतृत्वको सरकारबाट विकास, योजना, सरुवा, बढुवामा पक्षपात हुन सक्नेतर्फ सचेत हुनुपर्छ ।” 
 
यस्तै, नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले नेपाली कांग्रेसले बलियो प्रतिपक्षको भूमिका निभाउने बताए । महामन्त्री कोइरालाले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई सरकारले गलत बाटोबाट पदमुक्त गराउन बाध्य बनाएको आरोप लगाए । 
 
पूर्वमहामन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले निर्वाचनमा प्राप्त परिणामलाई पाठको रुपमा लिएर कांग्रेस रुपान्तरण हुन जरुरी रहेको बताए । 
 
सामन्ती संस्कारबाट कांग्रेस मुक्त हुन नसकेको भन्दै नेता सिटौलाले कांग्रेसले आफूलाई सच्याउँदै रुपान्तरण हुन आवश्यक रहेको विचार राखे । 
 
कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको गुट मिलाउन मन्त्रालय थप गरेको बताए । 
 
उनले प्रधानमन्त्रीले अनावश्यक रुपमा मन्त्रालय थप गरेको आरोप लगाए । उनले दुई तिहाइ बहुमत प्राप्त गरेको सरकारले पार्टीभित्रको गुट मिलाउन मन्त्रालय थप गर्नु दुर्भाग्यपूर्ण भएको बताए । उनले निर्वाचनको परिणामलाई लिएर निराश नहुन कार्यकर्तालाई आग्रह गरे ।