मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

समृद्धिको मुद्दामा सार्क सदस्य मुलुकको एकीकृत सहकार्य हुनुपर्छ : प्रधानमन्त्री

समृद्धिको मुद्दामा सार्क सदस्य मुलुकको एकीकृत सहकार्य हुनुपर्छ : प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियामा उपलब्ध अपार साधन र स्रोतको परिचालन गरी समृद्धिको बाटोमा अगाडि बढ्न एकीकृत सहकार्य आवश्यक भएको बताएका छन् । 
 
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) चेम्बर्स अफ कमर्स एण्ड इन्डिस्ट्रज र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजनामा शनिबारदेखि शुरु भएको ‘सार्क विजनेस लिडर्स कनक्लेभ’ उदघाटन समारोहलाई सम्बोधन गर्ने उनले समृद्धि मुख्य मुद्दा बनाएर अगाडि बढ्नुपर्ने बताएका हुन् । 
 
तीन दिनसम्म चल्ने सम्मेलन (कनक्लेभ)मा सहभागी आठवटै मुलुकका सहभागीले विचार विमर्श गरी विकास र सहकार्यमा सहयोग पुग्ने सुझाव दिने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई सुहाउँदो नीति ल्याएर समृद्धिको बाटोमा लाग्ने बताए । 
 
उनले भने, ‘हामी निजी क्षेत्रलाई उत्प्रेरित गरेर अगाडि बढ्नेछौँ, अब सरकारी र निजी क्षेत्र सँगसँगै अगाडि बढ्नेछ ।’ प्रधानमन्त्री ओलीले राजनीतिक संक्रमण सकिएर आर्थिक संक्रमणको बाटोमा मुलुक अगाडि बढेको भन्दै आर्थिक विकास नै राज्यको मुख्य मुद्दा भएको चर्चा गरे । 
 
शान्ति प्रक्रियामार्फत सबै द्वन्द्व निष्कर्षमा पुगेको भन्दै उनले आगामी दिनमा सार्क मित्रराष्ट्रसँग सहकार्य गरेर अगाडि बढ्ने धारणा राखे । प्रधानमन्त्री ओलीले स्थानीय, प्रान्तीय एवं केन्द्रीय सरकार गठन भई काम अघि बढेको भन्दै आर्थिक विकासको नयाँ अध्यायमा अगाडि बढेको स्पष्ट पारे । 
 
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको मन्तव्य उद्धृत गर्दै सचिव चन्द्रकुमार घिमिरेले दक्षिण एसियाली क्षेत्रमा रहेका गरिबीको न्यूनीकरणमा सार्क मुलुक एकीकृतरुपमा अगाडि बढ्नुपर्ने बताए । 
 
सार्कका महासचिव अम्जाद बि सेयलले सार्क क्षेत्र विश्वकै ठूलो आर्थिक क्षेत्र भएको उल्लेख गर्दै सार्क सदस्य मुलुकले एक अर्कामा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले विश्वमा सबैभन्दा बढी अवसर भएको यस क्षेत्रको विकास गरेर अगाडि बढ्नुपर्ने बताए । 
 
कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र सार्क चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिजका अध्यक्ष सुरक्ष वैद्यले सार्क क्षेत्रमा रहेको अपार सम्भावनालाई सदुपयोग गरेर विकासको बाटोमा आगडि बढ्नुपर्ने बताए । 
 
सम्मेलनमा सार्कका आठवटै देशका नेता तथा अर्थशास्त्री, लगानीकर्ताले दक्षिण एसियामा लगानी गरी समृद्धिको अवसर र आर्थिक सहकार्यका विषयमा अन्तरक्रिया गर्नेछन् । रासस