मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रधानमन्त्री ओलीलाई २०८ सांसदको विश्वासको मत

प्रधानमन्त्री ओलीलाई २०८ सांसदको विश्वासको मत


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा २०८ सांसदको विश्वासको मत प्राप्त गरेका छन् । विपक्षमा ६० मत परेको छ । 
 
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकमा नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम विश्वासको मत लिन प्रस्ताव प्रस्तुत गरेका थिए । प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आइतबारको बैठकमा जम्मा २६८ सांसद उपस्थित थिए ।
 
नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्रीको विपक्षमा मतदान गरेका थिए भने नेपाल मजदुर किसान पार्टीले प्रधानमन्त्रीको पक्षमा मतदान गरेको थिएन । नयाँ शक्ति पार्टी नेपालका सांसद डा बाबुराम भट्टराई नेपाल बाहिर छन् । 
 
उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा उनलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्रका सांसदले समर्थन गरेका हुन् । मत विभाजनअघि पाँच मिनेट जनाउ घण्टी बजाइएको थियो ।
 
त्यसपछि सभामुखको आसनको दाँया कक्षमा राखिएको वर्णानुक्रमानुसारको नामावलीमा हस्ताक्षर गरी सांसदहरुले प्रधानमन्त्रीको पक्षमा मत व्यक्त गरेका थिए भने सभामुखको आसनको बायाँ कक्षमा राखिएको वर्णानुक्रमानुसारको नामावलीमा हस्ताक्षर गरी सांसदले प्रधानमन्त्रीको विपक्षमा हस्ताक्षर गरेका थिए ।  प्रधानमन्त्रीमा नियुक्त भएपछि उनले संविधानअनुसार आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिएका हुन् । 
 
राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन ३ गते एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । संविधानअनुसार प्रधानमन्त्रीमा नियुक्त भएपछि ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने प्रावधान छ । 
 
संविधानअनुसार प्रतिनिधिसभामा १६५ प्रत्यक्ष निर्वाचित र ११० समानुपातिक गरी कुल २७५ सांसद छन् । गत मंसिर १० र २१ गते दुई चरणमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेले १२१, नेपाली कांग्रेसले ६३, माओवादी केन्द्रले ५३, राजपा नेपालले १७, संघीय समाजवादी फोरमले १६ तथा नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक÷एक र स्वतन्त्रले एक स्थानमा विजयी हासिल गरेका थिए । 
 
यसैबीच, प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिका लागि सत्ता पक्ष र प्रतिपक्ष नहुने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘राष्ट्रिय विकासको अभियान सत्ता पक्षको मात्र नभई हामी सबैको साझा यात्रा हो । यस यात्राको अगुवाइ सत्ता पक्षले गर्ला, प्रधानमन्त्री भएकाले मैले गर्नुपर्ला । तर, सबैको यात्रा यही हो ।’ 
 
 
देशलाई अगाडि बढाउने हो भने सहमतिका साथ अगाडि बढ्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले भने, ‘हामी शान्ति चाहन्छाँै, स्थिरता, स्थायित्व र शान्ति होस् अनिमात्र विकास गर्न सक्छौँ । सामान्य अवस्थामा पक्ष र प्रतिपक्ष भएर विवाद गर्न सक्छौँ । तर, यतिबेला सत्ता पक्ष र प्रतिपक्ष भएर जसरी पनि विरोध गर्ने सुविधा छैन । प्रतिपक्ष पनि सहयोगी हुनुपर्छ ।’ 
 
लोकतन्त्रका आधारभूत मूल्य मान्यतालाई अंगीकार गर्दै, शक्ति पृथकीकरण, स्वतन्त्र न्यायपालिका, समावेशिता, समानुपातिक प्रतिनिधित्व र त्यसका लागि आवश्यक पर्ने कार्यहरु, आवधिक निर्वाचन, संवैधानिक प्रतिपक्ष, प्रतिपक्ष हुने अधिकारसहितको राजनीतिक प्रणाली स्थापना भएको प्रधानमन्त्रीको भनाइ थियो । 
 
संविधानबमोजिम एक महिनाभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने व्यवस्थाअनुसार आफू विश्वासको मत लिन उपस्थित भएको उल्लेख गर्दै उनले भने, ‘म प्रधानमन्त्रीका लागि प्रधानमन्त्री भएको होइन । म भ्रष्टाचार गर्न प्रधानमन्त्री भएको होइन । म जनताको सेवक हुन चाहन्छु । म दमनकारी होइन, सबैलाई समान व्यवहार गर्छु ।’ 
 
आफूलाई प्रतिनिधिसभाका सदस्यले विश्वासको मत दिन नपर्ने कुनै पनि कारण नभएको स्पष्ट पार्दै प्रतिपक्षले पनि विश्वासको मत दिनसक्ने उनले स्पष्ट पारे ।  प्रधानमन्त्री ओलीले प्रदेश नं २ मा संघीय समाजवादी फोरम र राजपा नेपालको सरकार भए पनि एमाले र माओवादी केन्द्रले विश्वासको मत दिएको उदाहरण पेस गरे ।
 
देशको सम्मान बढाउन दलहरुले आफूलाई प्रधानमन्त्रीका रुपमा अगाडि सारेको स्पष्ट पार्दै उनले नेपालको हित र चाहनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे । शान्तिपूर्ण वातावरणमा मात्रै समृद्धिको आधार तयार हुने भन्दै प्रधानमन्त्रीले समृद्धिका लागि कृषि, व्यापार, ऊर्जा, वैदेशिक सहयोग जरुरी रहेको उल्लेख गरे । 
 
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले चुनावी तालमेल गरेर देश र जनताप्रति प्रतिबद्धता जनाएको उल्लेख गर्दै उनले आफ्नो नेतृत्वको सरकार अन्तर्र्रािष्ट्रय समुदायप्रति जवाफदेही हुने र साझा चुनावी घोषणापत्रमा उल्लेख भएका विषयलाई कार्यान्वयन गरेरै छाडिने दृढ विश्वास व्यक्त गरे । 
 
प्रधानमन्त्रीले भने, ‘म देशले सुन्ने गरी भन्न चाहन्छु हाम्रा प्रतिबद्धतामा तलमाथि हुँदैन । हामी लोकतन्त्रका लागि लडेर आएका हौँ, लोकतान्त्रिक गणतन्त्रका लागि लडेका हौँ । यसमा तलमाथि हुँदैन ।’