मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

त्रिपक्षीय सम्बन्धबाट शून्य चोरीसिकारमा सफलता

त्रिपक्षीय सम्बन्धबाट शून्य चोरीसिकारमा सफलता


चितवन । चितवनमा विश्व वन्यजन्तु दिवसका अवसरमा त्रिपक्षीय सम्बन्धका कारण शून्य चोरीसिकार वर्ष मनाउन सफल भएको संरक्षणकर्मीले बताएका छन् । 
 
पछिल्ला वर्षहरुमा चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना र समुदायबीचको सम्बन्धका कारण शून्य चोरीसिकार वर्ष मनाउन सफल भएको भन्दै त्रिपक्षीय सम्बन्धलाई अझै बलियो बनाउनुपर्नेमा संरक्षणकर्मीहरुले जोड दिएका छन् । 
 
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले दुर्लभ वन्यजन्तुको तस्करी नियन्त्रणमा विश्वव्यापी चुनौती बढिरहेको सन्दर्भमा नेपालमा गैँडा संरक्षणमा सफलता मिल्नु खुशीको कुरा भएको बताए । उनले भने, “संरक्षणमा सफल हुनुमा समुदायको अहम् भूमिका छ । समुदायकै जागरणबाट वन्यजन्तु जोगिएका छन् ।” 
 
उनले सिकारीले गैँडा मारेको छैन भनेर ढुक्क हुने अवस्था भने नरहेको बताउँदै सरोकारवाला सबै पक्ष चनाखो भएर खबरदारी गर्न आवश्यक रहेको बताए । 
 
समुदायमा आधारित चोरीसिकार नियन्त्रण युवा जागरण अभियान उपसमिति बछौलीकी अध्यक्ष डोमा पौडेलले संरक्षणमा समुदायको भूमिकालाई सरकारले आत्मसात् गर्नुपर्ने बताउँछिन् । उनी भन्छिन्, “जैविक विविधता नरहे मानव जीवन नै रहँदैन । त्यसैले आफू बाँच्नका लागि पनि प्रकृतिको संरक्षण गर्नु जरुरी छ ।” 
 
चितवन निकुञ्जले केही वर्षयता संरक्षण कार्यमा प्रभावकारी काम गरेकै कारण पछिल्ला वर्षमा चोरी सिकार घट्दै गएको छ । पछिल्ला वर्षमा वन्यजन्तु संरक्षणमा सक्रियता बढ्नुका साथै ठोस उपलब्धि पनि हासिल भइरहेको छ । विगतमा चोरी सिकारीको बिगबिगीका कारण एकै महिनामा दस वटासम्म गैँडा मारिएको अवस्था थियो । सिकारीले गैँडा मारेरै सिध्याउने हो कि भन्ने त्रास बढेपछि निकुञ्जले संरक्षण नीतिमा परिवर्तन गरेको थियो । 
 
निकुञ्जका पूर्व संरक्षण अधिकृत रामप्रित यादव भन्छन्, “गैंडा संरक्षणमा त्रिपक्षीय सम्बन्धकै कारण शून्य चोरी सिकार वर्ष मनाउन सफल बन्यौं । त्यस सम्बन्धलाई अनन्तकालसम्म जीवित राख्न सक्यौं भने हामीले वन्यजन्तुको संरक्षण गर्न सक्छौं ।” 
 
विश्वमै दुर्लभ मानिएको एकसिंगे गैंडाका लागि नेपाल उर्वर भूमि मानिएको छ । विश्वमै नेपाल र भारतमा मात्र पाइने एकसिंगे गैंडाको संख्या नेपालमा पछिल्ला वर्षमा वृद्धि हुँदै आएको छ । पछिल्लो गणनाअनुसार नेपालमा ६४५ वटा गैंडा रहेका छन् । 
 
राष्ट्रिय निकुञ्जका अनुसार सन् २०११ को गैंडाको गणनामा ५३४ रेकर्ड गरिएको थियो । पछिल्लो गणनासम्म आइपुग्दा ६४५ पुगेको छ । गैंडाको गणनामा सबैभन्दा बढी एकसिंगे गैंडा चितवन राष्ट्रिय निकुञ्जमा ६०५ रकेर्ड गरिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा २९ गैंडा फेला परेका छन् । त्यसैगरी शुक्लाफाँटा वन्यजन्तु आरक्षमा आठवटा गैंडा रेकर्ड भएका छन् । 
 
चोरीसिकारीका कारण चितवन निकुञ्जमा तीन वर्षयता कालगतिले बाहेक चोरीसिकारबाट कुनै गैँडा नमरेको चितवन निकुञ्जले जनाएको छ । पछिल्लो पटक विसं २०७१ साल वैशाख २० गते चोरीसिकारीले खाग लगेको अवस्थामा मृत गैंडा फेला परेको थियो । सिकारीबाट गैंडा नमरेको भन्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको सक्रियतामा २०६८ पुस १९ मा पहिलो शून्य सिकार वर्ष मनाइएको थियो । 
 
पहिलो शून्य सिकार वर्ष मनाएपछि सोही वर्षको चैत्र २० मा निकुञ्जभित्र एउटा गैंडा मारिएको थियो । त्यसपछि संरक्षणकर्मीहरुमा चिन्ता र चुनौती थपिएको थियो । २०५८ सालमा नेपालमा चोरी सिकारीले एक वर्षमा ३७ वटा गैंडा मारेपछि गैंडा संरक्षणमै गम्भीर प्रश्न उठेकोे थियो । त्यसयता निकुञ्जले चोरी सिकारविरूद्ध सुराकी बढाउँदै संरक्षणमा व्यापक जागरण ल्याएको थियो । 
 
गैंडा सिकारविरूद्ध समुदायको जागरूकता र संरक्षणका लागि चौतर्फी सक्रियता बढेपछि पुनः शून्य सिकार वर्ष मनाइएको छ । निकुञ्जमा व्यापक सुरक्षा पोष्टसँगै प्रविधिको प्रयोगले पनि गैंडाको चोरी सिकार शून्यमा झार्न सम्भव भएको हो । 
 
संरक्षणमा देखिएको यस सफलतालाई अझै चुनौतीका रुपमा लिँदै वन्यजन्तु संरक्षणका लागि त्रिपक्षीय सम्बन्धलाई कायम राख्नुपर्ने राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका निमित्त प्रमुख रामकुमार अर्याल बताउँछन् । 
 
सात  वर्षमा २५५ लाई कारबाही 
 
चितवन निकुञ्जले गत सात वर्षमा गैंडा मार्ने काममा संलग्न २५५ जना भन्दा बढीलाई कारबाही गरेको छ । निकुञ्ज तस्कर र सिकारी समाउन सक्रिय भएसँगै गैंडाको चोरी सिकार पनि नियन्त्रणमा आएको देखिन्छ । 
 
०६५/६७ सालसम्म चोरी सिकारीले दर्जनका हाराहारीमा गैंडा मार्ने गरेको निकुञ्जको तथ्यांक छ । तर, ०६७ सालमा जम्मा दुई गैंडा परे । ०६७ सालको पुस १९ गतेदेखि एक वर्षसम्म कुनै गैंडा नमरेपछि निकुञ्जले ०६८ सालको पुस १९ मा पहिलो पटक शून्य चोरीसिकार वर्ष मनाएको थियो । नेपालले सन् २०११ र २०१३ मा पनि शून्य चोरीसिकार वर्ष मनाएको थियो ।
 
विगतमा एकै वर्षमा ५३ वटासम्म गैँडा चोरी सिकारका कारण मारिएको थियो । वन्यजन्तु संरक्षणमा जनस्तरमा चेतना अभिवृद्धि भएसँगै वन्यजन्तुको चोरीसिकार तथा अवैध व्यापार नियन्त्रणमा प्रभावकारी काम गर्न सबैको सहयोग प्राप्त भएको प्रमुख संरक्षण अधिकृत ढकाल बताउँछन् । 
 
विश्वमा करिब ३ हजार २ सयको हाराहारीमा रहेको एकसिंगे गैंडा नेपाल र भारतको सीमामा जोडिएका निकुञ्ज र आरक्षमा रहेका छन् । नेपालको चितवन राष्ट्रिय निकुञ्ज र सँगै जोडिएको भारतको काजिरंगा राष्ट्रिय निकुञ्ज गैंडाको मुख्य वासस्थान मानिन्छ । 
 
नेपालमा सन् १९५० को दशकमा ८ सयको संख्यामा रहेको गैंडा २०२५ सालमा ८१ मा सीमित भएको अनुमान गरिएको थियो । नेपालले शून्य चोरीसिकार वर्ष बनाएपछि नेपाल संरक्षणको क्षेत्रमा सफल भएको भन्दै साइटिसबाट सम्मानित भएको छ । सन् २०११ मा नै नेपालले विश्व समुदायबाट सम्मान हासिल गरेको हो ।