मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

झुवानीको सरसफाइमा जुटे विदेशी स्वयंसेविका

झुवानीको सरसफाइमा जुटे विदेशी स्वयंसेविका


चितवन । चितवनको वातावरण संरक्षणका क्षेत्रमा क्रियाशील संस्था झुवानी इन्भाइरोमेन्ट प्रोटेक्सन प्रोग्रामले शनिबार बृहत् सरसफाइ कार्यक्रम आयोजना गरेको छ । 
 
सहयात्री आमा समूहको सहकार्यमा भएको कार्यक्रममा आमा समूह, विदेशी स्वयंसेवकसहित बालबालिकासमेत सहभागी भए । झुवानी पुस्तकालयको प्राङ्गढदेखि सुरु भएको सरसफाइ काँग्रेसचोक हुन्दै नयाँबस्तीमा पुगेर समापन भएको थियो । हातहातमा पञ्जा लगाएका महिलाहरु स्वस्र्फूत रुपमा सरसफाइमा उत्रिएका थिए । 
 
कार्यक्रममा सरिक भएकी जर्मनीकी स्वयंसेविका यानाले वातावरणीय सचेतनाका साथै विभिन्न सेमिनारको आयोजना गरी राम्रो अभियानको थालनी गरेकोमा झुवानी इन्भाइरोमेन्ट प्रोटेक्सन प्रोग्रामप्रति खुशी व्यक्त गरिन् । उनले समुदायमा सरसफाइप्रति सकारात्मक दृष्टिकोण गरेकोमा खुशी व्यक्त गरिन् । कार्यक्रममा यानासहित ६ स्वयंसेविका खटिएका थिए । 
 
सहयात्री आमा समूहकी अध्यक्ष चन्द्राकुमारी पौडेलले भनिन्, ‘हाम्रो संस्थाको बलियो आयश्रोत त छैन, तर देउसीभैलो, रक्तदान र सरसफाइजस्ता कार्यक्रम गर्दै आएका छौँ । वातावरण स्वच्छ राख्नुपर्छ भन्ने हाम्रो अभियान हो ।’ महिनाको एक दिन अभियान चलाए पनि सरसफाइप्रति समुदायका मानिस सचेत हुँदै गएको उनी बताउँछिन् । 
 
झुवानी इन्भाइरोमेन्ट प्रोटेक्सन प्रोग्रामका संयोजक रामचन्द्र महतोले अहिलेसम्म नगरपालिकाले गर्नुपर्ने काम आफ्नो संस्थाले गरिरहेको बताए । उनले भने ‘अहिलेसम्म अरुकै फोहोर फालिरहेका छौँ । नगरपालिका नाममात्रैको छ । महिनामा एकचोटीमात्र ट्याक्टर आउँछ । कमसे कम सामान्य खालका प्लाष्टिक निषेध गर्ने कानुन बनाइदिए फोहोर व्यवस्थापनमा सहयोग पुग्नेथियो ।’
 
झुवानी इन्भाइरोमेन्ट प्रोटेक्सन प्रोग्रामले फोहोर व्यवस्थापनका लागि जनचेतनामूलक कार्यक्रमहरु आयोजना गर्दै आएको छ । झुवानीका प्रत्येक चोकमा डस्टबीन राखेर फोहोर संकलन गर्ने व्यवस्था मिलाएको छ भने स्थानीय क्षेत्रलाई प्लाष्टिकमुक्त गराउन झोला वितरण गर्नुका साथै समयसमयमा सरसफाइ कार्यक्रम गर्दै आएको छ ।