मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

रत्ननगर नगरपालिकाले स्मार्ट सिटीको अवधारणाले काम गर्ने

रत्ननगर नगरपालिकाले स्मार्ट सिटीको अवधारणाले काम गर्ने


चितवन । रत्ननगर नगरपालिकाको नगरसभाले पूर्वाधार विकासका योजनालाई स्मार्टसिटीको अवधारणाअनुरुप काम गर्ने निर्णय गरेको छ । नगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने योजनाअनुसार विकास निर्माणको कामलाई अगाडि बढाइने निर्णय गरिएको मेयर नारायण वनले बनाए । 
 
उनले भने, “नगरपालिकाले गर्ने हरेक कामलाई सूचना प्रविधिसँग जोड्ने निर्णयसहित नगरसभाबाट १५ बुँदे कार्ययोजना पारित भएको छ ।” उनले सुरूवातका रुपमा घरजग्गा नक्सापासलाई अनलाइन प्रविधिसँग जोडिएको बताए ।
 
नगरसभाले रत्ननगरको सौराहाचोकमा आकाशेपुल निर्माण गर्ने, चित्रसारी पुल पारी पर्यटकीय बसपार्क तथा पर्यटन सूचना केन्द्र स्थापना गर्ने, कृषिको क्षेत्रको विकासको लागि सहकारीको अवधारणअनुरुप कोल्डस्टोर स्थापना गरी सञ्चालन गर्ने, पर्यटन प्रवद्र्धनको लागि सौराहा क्षेत्रमा वाटर फाउन्टेन निर्माण गर्ने निर्णय गरेको छ । 
 
त्यस्तै, रत्ननगर–८ को रमाइलोडाँडामा गल्फ कोर्ट निर्माण गर्ने, फोहोर व्यवस्थापन, गरिबी निवारण तथा उद्यमशीलता विकास कोष निर्माण गरी चाँडै नगरको गरिबी न्यूनीकरण गर्ने निर्णय गरिएको मेयर वनले बताए । 
 
नगरपालिकाले करको दायरा बढाउन राजस्व संकलन अभियान सञ्चालन गर्ने, नगरभित्र बग्ने खोलानालामा अनाधिकृत ढुंगा, बालुवा, गिट्टी निकासी भइरहेको पाइएकोले त्यस्तो स्थानको यकिन गरी त्यसलाई रोक्न स्थानीय प्रशासनमा अनुरोध गर्ने र नगरपालिकाले नै सो कार्यको रोक लगाउने निर्णय भएको उनले बताए । 
 
उपमेयर विमला दुवाडीले न्यायिक समितिमार्फत नगरभित्रको द्वन्द्व व्यवस्थापनको कामले तीव्रता पाएको बताइन् । उनले घरायसी, जग्गा विवाद, आर्थिक लेनदेन, साँध, सीमाना, वातावरण प्रदूषणको मुद्दाहरु सामाधान गरेर द्वन्द्व व्यवस्थापनको काम गरिएको बताइन् ।