देवघाट । व्यवसायी बालगोपाल चुकेले आफ्नो जन्मदिनको अवसर पारेर वृद्धवृद्धालाई भोजन गराएका छन् ।
नारायणी मोटर्सका सञ्चालकसमेत रहेका चुके र उनकी पत्नी अनुषा चुकेले बुधबार देवघाट क्षेत्र विकास समितिद्वारा सञ्चालित देवघाट समाज कल्याण केन्द्रको वृद्धाश्रममा एक दिनको खाना खुवाएका हुन् ।
चुके दम्पतीले जन्मदिनको अवसर पारेर विभिन्न सामाजिक काम गर्दै आएकोमा बुधबार देवघाटको वृद्धाश्रममा खाना खुवाएको बताए । उक्त वृद्धाश्रममा १० जना पुरुषसहित २९ जना वृद्धवृद्धाहरु बस्दै आएका छन् । वृद्धाश्रम सञ्चालनका लागि सरकारबाट आउने रकम न्यून हुने गरेकोमा विभिन्न दाताबाट वृद्धाश्रम सञ्चालन भइरहेको देवघाट क्षेत्र विकास समितिका कर्मचारी ढकराज ढकालले बताए ।
देवघाट क्षेत्र विकास समितिको वृद्धाश्रमको लागि गत वर्ष सरकारले पाँच लाख रुपैयाँ दिएकोमा दाताहरुबाट करिब १४ लाख रुपैयाँ संकलन भएको थियो ।
आफन्तहरु नभएका ६५ देखि १०२ वर्षसम्मका ज्येष्ठ नागरिकहरु वृद्धाश्रममा आएर बसिरहेका छन् । वृद्धाश्रममा एक छाक साधारण खाना खुवाउनको लागि पाँच हजार रुपैयाँ, विशेष खानाको छ हजार रुपैयाँ र एक दिनको खाना खुवाउनका लागि १० हजार रुपैयाँ बुझाउनुपर्छ ।
प्रतिक्रिया