मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनबाट सुरु भयो वैद्य–विप्लव कार्यगत एकता

चितवनबाट सुरु भयो वैद्य–विप्लव कार्यगत एकता


काठमाडौँ । मोहन वैद्य ‘किरण’ले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द्र ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीको कार्यगत एकता चितवनबाटै सुरु भएको छ । 
 
दुई पार्टीको जिल्ला नेतृत्वको बैठकले कार्यगत एकता गर्ने निर्णय गरेको हो । कार्यगत एकतासँगै चारबुँदे निर्णयसमेत गरिएको छ । 
 
पहिलो निर्णयमा दुवै पार्टीबीच केन्द्रीयस्तरमा जारी सहकार्यलाई जिल्लास्तरमा निरन्तरता दिन दुवै पार्टी सक्रियतापूर्वक सहभागी हुने उल्लेख गरिएको छ । 
 
यस्तै फागुन १४ देखि २१ गतेसम्मको सहिद सप्ताह संयुक्त रुपमा मनाउने निर्णय गरिएको नेकपा (क्रान्तिकारी माओवादी) चितवनकी इन्चार्ज अम्बिका मुडभरीले जानकारी दिइन् । 
 
उनले भनिन्, “दुवै पार्टीको संयुक्त आयोजनामा फागुन १९ गते जनयुद्धको प्रक्रियामा भएको बलिदानी र आजको सन्दर्भका विषयमा अन्तरक्रियासहित शहिद परिवारबीच भेटघाट कार्यक्रम गर्छौं ।” 
 
सहमतिको तेस्रो बुँदामा राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषयमा आगामी दिनमा सहकार्य गर्दै संयुक्त आन्दोलन गर्ने निर्णय गरेको छ । यस्तै, देशव्यापी रुपमा राजनीतिक नेता तथा कार्यकर्तामाथि राज्यको तर्फबाट भएको धरपकड र ज्यादतीप्रति खेद प्रकट गर्दै संयुक्त भण्डाफोर गर्ने निर्णय गरिएको छ ।
 
बैठकपछि जारी विज्ञप्तिमा नेकपा (क्रान्तिकारी माओवादी)का तर्फबाट इन्चार्ज अम्बिका मुडभरी र नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट इन्चार्ज लालबहादुर बिसीले हस्ताक्षर गरेका छन् ।