मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सिरियामा मारिएका बालबालिकाको स्मरणमा दीप प्रज्ज्वलन

सिरियामा मारिएका बालबालिकाको स्मरणमा दीप प्रज्ज्वलन


काठमाडौँ  । सिरियामा निहत्था नागरिक र बालबालिकामाथि भइरहेको श्रृंखलावद्ध बम आक्रमणको विरोध प्रदर्शन भइरहेका छन् । मानव सभ्यता र मानवीय संवेदनासमेत गुमाएर बर्बरतापूर्वक बम आक्रमण गरी बालबालिकासहित सयौँ सर्वसाधारणको क्रूर हत्या भएको भन्दै चितवनमा पनि युवा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् ।
 
भरतपुरको चौबीसकोठीमा बालबालिकाको आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्ज्वलन गरिएको छ । चितवनका युवा विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा सिरिया सरकारले रुसी सेनाको समर्थनमा सोमबार विभत्स हत्या गरेको विरोधमा मृतक आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्ज्वलन गरिएको अखिल क्रान्तिकारी चितवनका संयोजक वसन्त आचार्यले बताए ।
 
सिरियामा विगत नौ दिनदेखि जारी भीषण बमबारीका कारण हालसम्म कम्तीमा पनि ५४१ जनाको मृत्यु भइसकेको छ । जसमा कम्तीमा १३० बालबालिका छन् । सोमबारमात्र २४ सर्वसाधारण मारिए भने दर्जनौँ निहत्था नागरिक अंगभंग भए ।
 
एकपछि अर्को आक्रमण गरी सर्वसाधारणको हत्या गरिएपछि राष्ट्रसंघले सिरियालाई पृथ्वीको नर्क हुनबाट रोक्नुपर्ने भन्दै युद्धविरामका लागि पुनः आग्रह गरेको छ । सिरियामा सन् २०११ देखि निरन्तर रुपमा आक्रमण हुँदै आएको छ । आक्रमणमा निरापराध सिरियाली जनता मारिँदै आएका छन् । त्यसमा पनि दूधे बालबालिका युद्धमा मारिएका छन् ।
 
सरकारी सेनाको हवाई आक्रमणबाट दर्जनौँ सर्वसाधारण मारिएपछि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले मानवीय सहायता प्रदान गर्न गत शुक्रबारमात्र एक महिनाका लागि युद्धविराम गर्ने प्रस्ताव पारित गरेको थियो । राष्ट्रसंघको उक्त प्रस्तावमा सुरक्षा परिषद्का सबै सदस्य राष्ट्र सहमत पनि भएका थिए । तर, युद्धविराम प्रस्ताव कार्यान्वयन नगरी सिरियाली सरकार र उसका समर्थकहरुले बर्बरतापूर्वक हिंसा र दमन गरेर सिंगो संसारलाई स्तब्ध बनाएका छन् ।
 
उक्त हिंसाको विरोधमा चितवनवासीले विरोध जनाएका छन् । चौबीसकोठीमा आयोजित कार्यक्रममा युद्धको विरोध र शान्तिका पक्षमा स्वतःस्र्फूत विरोधका कार्यक्रम गरिएको हो । सहभागीहरुले अमानवीय युद्ध अपराध बन्द गर्न, सिरियालाई बचाउन, युद्ध रोक्न र हतियारको व्यापार रोक्न आह्वान गरेका छन् ।