मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नारायणी नदी सफाइ अभियानमा जनप्रतिनिधिको साथ

नारायणी नदी सफाइ अभियानमा जनप्रतिनिधिको साथ


नारायणी नदीलाई काठमाडौँको वाग्मती नदीजस्तो प्रदूषित बन्न नदिन चितवनका युवाले नारायणी नदी सरसफाइ अभियान सुरू गरेका छन् । यस अभियानमा स्थानीय र जनप्रतिनिधिले समेत साथ दिएका छन् । 
 
सो अभियानमा सोमबार बिहान भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरी, कार्यकारी अधिकृत प्रेमराज जोशी, महानगरपालिका–१ का अध्यक्ष जयराम श्रेष्ठलगायत स्थानीय युवा, समाजसेवी तथा सर्वसाधारणले उपस्थित जनाउँदै सरसफाइमा सरिक भएका थिए । 
 
नारायणगढबजार बन्द रहने दिन पारेर हरेक सोमबार बिहान स्थानीय युवाले गत हप्तादेखि नारायणी नदी सरसफाइ अभियान सुरू गरेका हुन् । 
सरसफाइ कार्यक्रमपछि प्रमुख दाहालले नारायणी नदी किनारलाई सुन्दरस्थलका रुपमा विकास गर्ने महानगरपालिकाको योजना रहेको भन्दै आफूले कल्पना गरेकोभन्दा बढी प्रदूषण नदी किनारमा पाएको बताइन् । उनले भनिन्, ‘मैले सोचेभन्दा धेरै प्रदूषण पाएँ । युवाहरुको यस अभियानबाट नदी सफाइमा योगदान पुग्ने विश्वास लिएकी छु ।’  
 
यस्तै, उपप्रमुख पार्वती शाहले दीर्घकालीन योजनाका साथ नदी र आसपासका क्षेत्रको प्रदूषण हटाएर सुन्दर र हराभरा नारायणी बनाइने बताइन् । 
नारायणी नदी आसपासका क्षेत्र पर्ने भरतपुर महानगरपालिका–१ का वडाध्यक्ष जयराम श्रेष्ठले नारायणगढको गौरीश्वर मन्दिरदेखि नारायणीको पुलसम्म आठ ठाउँमा सोझै ढल नारायणीमा मिसिएको गुनासो गरे । 
 
चार ठाउँमा छुट्टै प्रशोधन गरेर पानी नारायणीमा फाल्ने गरिएको भए पनि ती ढलमा नमिसाई आठ ठाउँबाट भने सोझै नदीमा ढल मिसाएकाले नदी थप प्रदूषित बनेको उनले बताए । 
 
उनले भने, ‘गौरीश्वर मन्दिरको पछाडि र केही पश्चिम नारायणी प्राथमिक विद्यालयको पछाडि नदीमा देवघाट र त्योभन्दा माथिबाट बगाएर ल्याएका मानिसको अन्त्येष्टि गर्दा प्रयोग भएका कोइला, फालिएका कपडा, मरेका जीवजन्तुलगायतका फोहरले थप समस्या देखिएको छ ।’ 
 
चितवनका पुराना पत्रकार ईश्वर जोशीले नारायणी नदीमा पहिले घडियाल गोही, माछाजस्ता जलचर र चराचुरुङ्गी देखिँदै आए पनि प्रदूषण बढेपछि अहिले देखिन छाडेको बताए । 
 
उनले भने, ‘अघिल्लो सोमबारदेखि सुरू भएको यो अभियान हरेक सोमबार बिहान गरिनेछ । समयमै नदी सरसफाइमा जुटिएको छ । अभियान पक्कै पनि उपलब्धिमूलक हुनेछ ।’ 

शेयर गर्नुहोस:

0
Shares