एउटा उखान छ– ‘दुईवटी स्वास्नीको पोइ कुना पसी रोई’ । तर, दुईवटी श्रीमती भए पनि चितवनको रत्ननगर–१, निपनीका ५४ वर्षीय मुरारी महतोलाई अहिलेसम्म कुना पसेर रुनुपरेको छैन ।
उनका फूलमती र आश्मती नाम गरेका दुई श्रीमती छन् । तर, हेर्दा उनीहरु दिदीबहिनीजस्तै लाग्छन् । परिवारमा मेलमिलाप छ । एकअर्कामा ईष्र्या गर्ने, झगडा गर्ने र आलोचना गर्ने समय उनीहरुलाई छैन ।
थारु जातिको परम्परागत खबटाको घरमा उनीहरु मिलिजुली बस्छन् । फूलमतीका तीन छोरा र दुई छोरी छन् भने आश्मतीका तीन छोरा । यी आठ सन्तानले महतो परिवारलाई झनै बलियो र एकढिक्का बनाएको छ । मुरारी भन्छन्, ‘ऊ आश्मती, ऊचाहिँ फूलमती । आ–आफ्नो काम गर्छन्, मिलेर बस्छन् । एउटा न एउटा काममा लाग्छन्, सधैँ व्यस्त रहन्छन् ।’
सामान्यतः दुई घरबार र सन्तानको संख्या हेर्दा अस्वभाविक र बढी लाग्नसक्छ । तर, मुरारीको परिवारका लागि यति जनशक्तिको खाँचो देखिन्छ । किनभने, यो परिवारले बाख्रापालन गरेका छन् । भैंसी पालेका छन् । हाँस–कुखुरा पालेका छन् । तरकारी खेती पनि गरेका छन् । सबैजना मिहिनती छन् । आ–आफ्नो जिम्मेवारी निभाएका छन् । सानो घर, ठूलो जहानको खर्च धान्न मुरारीका परिवारले निकै परिश्रम गर्नुपरेको छ ।
निपनीचोकदेखि ५०० मिटर दक्षिणतर्फ लागेपछि मुरारीको घर आउँछ । घरको पूर्वीछेउमा उनले चारवटा भैंसी पालेका छन् । प्रसस्त दूध बेच्छन् । रहरलाग्दा खसीबोका पालेका छन् । घरबाटै बिक्री गर्छन् । सयौँको संख्यामा हाँस र लोकल कुखुरा पालेका छन् । घरबाटै बिक्री हुन्छ । यस्तै आफ्नो १५ कट्ठा र ६ कट्ठा ठेक्कामा टमाटर खेती गरेका छन् । उनी भन्छन्, ‘तरकारी उत्पादनबाट राम्रो भएको छ । भर्खरैमात्र ३८ क्रेट तरकारी बारीबाटै बिक्री गरेँ । घरबाटै नगद कारोबार हुने भएकाले तरकारी खेतीबाट प्रसस्त आम्दानी भएको छ ।’
मुरारीले ०५९ सालदेखि तरकारी खेती गर्न सुरू गरेका हुन् । उनी भन्छन्, ‘बुबा बितेपछि मेरो भागमा परेको दश हजार ऋण पनि लाख बराबर भयो । कुनै आयस्रोत थिएन । आठजना बालबच्चालाई हुर्काउन, पढाउन साह्रै गाह्रो हुनथाल्यो । त्यसपछि तरकारी खेतीमा लागेँ ।’
उनले जिल्ला कृषि कार्यालय भरतपुरबाट तीन महिने आईपीएम तालिम लिएर तरकारी खेती गरेका हुन् । प्रशिक्षक राजेन्द्र अधिकारीबाट प्रभावित भएर उनी यो पेसामा आकर्षित भएका हुन् । ११ जनाको परिवार पालेर पनि वार्षिक पाँच लाख रुपैयाँ कमाइ गर्दै आएको उनी सुनाउँछन् ।
उनका सात सन्तानले उच्च शिक्षा हासिल गरिसकेका छन् । कान्छो छोरा लाइसियम इङलिस बोर्डिङ स्कुलमा नौ कक्षामा पढ्दैछन् । दुईवटी छोरीले शहीद स्मृति बहुमुखी क्याम्पस, रत्ननगरबाट बीबीएस चौथो वर्षको परीक्षा दिएर बसेका छन् । मुरारी भन्छन्, ‘खेती किसानी र पशुपालन गरेरै पनि छोराछोरीलाई राम्रोसँग पढाएँ । खडाईको झुप्रोमा बस्नुपरे पनि सबै हाँसीखुशी बसेका छौँ । खान लाउन समस्या छैन ।’
आठ कक्षासम्म पढेका मुरारीले पढाइको मह¤व राम्ररी बुझेका छन् । छोराछोरीलाई शिक्षित बनाउन सके केही न केही पेसा गरेर खान्छन् भन्ने उनलाई विश्वास छ । उनलाई पढेर जागिर पाइनेमा भने त्यति विश्वास छैन । भन्छन्, ‘आफैँले संघर्ष गर्नुपर्छ । अहिले सामान्य जागिर खान पनि सोर्सफोर्स लगाउनुपर्छ । जहाँ पनि आफ्नो मान्छे चाहिन्छ । घरभरि शिक्षित जनशक्ति छ, तर बाख्रालाई घाँस काटेर बस्नुपरेको छ ।’
परिवारलाई नयाँ घरमा सार्ने रहर अझै पूरा नभएको उनी बताउँछन् । भन्छन्, ‘तरकारी बेचेरै इँटा किनेँ । एउटा घर नबनाइ भएकै छैन । तर, तरकारी बेचेरै घर ठड्याउन सकिँदैन । बैंकले हामीलाई कर्जा पत्याउँदैन । धेरै बैंकमा धाएँ, कसैले पत्याएन । कट्ठा बेचेर घर बनाउने कुरा आएन ।’
अहिले जग्गाजमिन बेचेर घर ठड्याउने र विलासी जीवनशैली बिताउने प्रवृत्ति देखेर उनी अवाक भएका छन् । भन्छन्, ‘घर ऋण–धन गरेर बनाउने हो । कट्ठा बेचेर महल ठड्याउने रहर छैन । मिहिनत गर्ने हो, दुःख गरेपछि कसरी नबन्ला र पक्की घर !’







प्रतिक्रिया