मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

खेती किसानीले धानेको मुरारीको दुई परिवार

खेती किसानीले धानेको मुरारीको दुई परिवार


एउटा उखान छ– ‘दुईवटी स्वास्नीको पोइ कुना पसी रोई’ । तर, दुईवटी श्रीमती भए पनि चितवनको रत्ननगर–१, निपनीका ५४ वर्षीय मुरारी महतोलाई अहिलेसम्म कुना पसेर रुनुपरेको छैन । 
 
उनका फूलमती र आश्मती नाम गरेका दुई श्रीमती छन् । तर, हेर्दा उनीहरु दिदीबहिनीजस्तै लाग्छन् । परिवारमा मेलमिलाप छ । एकअर्कामा ईष्र्या गर्ने, झगडा गर्ने र आलोचना गर्ने समय उनीहरुलाई छैन । 
 
थारु जातिको परम्परागत खबटाको घरमा उनीहरु मिलिजुली बस्छन् । फूलमतीका तीन छोरा र दुई छोरी छन् भने आश्मतीका तीन छोरा । यी आठ सन्तानले महतो परिवारलाई झनै बलियो र एकढिक्का बनाएको छ । मुरारी भन्छन्, ‘ऊ आश्मती, ऊचाहिँ फूलमती । आ–आफ्नो काम गर्छन्, मिलेर बस्छन् । एउटा न एउटा काममा लाग्छन्, सधैँ व्यस्त रहन्छन् ।’ 
 
सामान्यतः दुई घरबार र सन्तानको संख्या हेर्दा अस्वभाविक र बढी लाग्नसक्छ । तर, मुरारीको परिवारका लागि यति जनशक्तिको खाँचो देखिन्छ । किनभने, यो परिवारले बाख्रापालन गरेका छन् । भैंसी पालेका छन् । हाँस–कुखुरा पालेका छन् । तरकारी खेती पनि गरेका छन् । सबैजना मिहिनती छन् । आ–आफ्नो जिम्मेवारी निभाएका छन् । सानो घर, ठूलो जहानको खर्च धान्न मुरारीका परिवारले निकै परिश्रम गर्नुपरेको छ । 
 
निपनीचोकदेखि ५०० मिटर दक्षिणतर्फ लागेपछि मुरारीको घर आउँछ । घरको पूर्वीछेउमा उनले चारवटा भैंसी पालेका छन् । प्रसस्त दूध बेच्छन् । रहरलाग्दा खसीबोका पालेका छन् । घरबाटै बिक्री गर्छन् । सयौँको संख्यामा हाँस र लोकल कुखुरा पालेका छन् । घरबाटै बिक्री हुन्छ । यस्तै आफ्नो १५ कट्ठा र ६ कट्ठा ठेक्कामा टमाटर खेती गरेका छन् । उनी भन्छन्, ‘तरकारी उत्पादनबाट राम्रो भएको छ । भर्खरैमात्र ३८ क्रेट तरकारी बारीबाटै बिक्री गरेँ । घरबाटै नगद कारोबार हुने भएकाले तरकारी खेतीबाट प्रसस्त आम्दानी भएको छ ।’
 
मुरारीले ०५९ सालदेखि तरकारी खेती गर्न सुरू गरेका हुन् । उनी भन्छन्, ‘बुबा बितेपछि मेरो भागमा परेको दश हजार ऋण पनि लाख बराबर भयो । कुनै आयस्रोत थिएन । आठजना बालबच्चालाई हुर्काउन, पढाउन साह्रै गाह्रो हुनथाल्यो । त्यसपछि तरकारी खेतीमा लागेँ ।’ 
 
उनले जिल्ला कृषि कार्यालय भरतपुरबाट तीन महिने आईपीएम तालिम लिएर तरकारी खेती गरेका हुन् । प्रशिक्षक राजेन्द्र अधिकारीबाट प्रभावित भएर उनी यो पेसामा आकर्षित भएका हुन् । ११ जनाको परिवार पालेर पनि वार्षिक पाँच लाख रुपैयाँ कमाइ गर्दै आएको उनी सुनाउँछन् । 
 
उनका सात सन्तानले उच्च शिक्षा हासिल गरिसकेका छन् । कान्छो छोरा लाइसियम इङलिस बोर्डिङ स्कुलमा नौ कक्षामा पढ्दैछन् । दुईवटी छोरीले शहीद स्मृति बहुमुखी क्याम्पस, रत्ननगरबाट बीबीएस चौथो वर्षको परीक्षा दिएर बसेका छन् । मुरारी भन्छन्, ‘खेती किसानी र पशुपालन गरेरै पनि छोराछोरीलाई राम्रोसँग पढाएँ । खडाईको झुप्रोमा बस्नुपरे पनि सबै हाँसीखुशी बसेका छौँ । खान लाउन समस्या छैन ।’
 
आठ कक्षासम्म पढेका मुरारीले पढाइको मह¤व राम्ररी बुझेका छन् । छोराछोरीलाई शिक्षित बनाउन सके केही न केही पेसा गरेर खान्छन् भन्ने उनलाई विश्वास छ । उनलाई पढेर जागिर पाइनेमा भने त्यति विश्वास छैन । भन्छन्, ‘आफैँले संघर्ष गर्नुपर्छ । अहिले सामान्य जागिर खान पनि सोर्सफोर्स लगाउनुपर्छ । जहाँ पनि आफ्नो मान्छे चाहिन्छ । घरभरि शिक्षित जनशक्ति छ, तर बाख्रालाई घाँस काटेर बस्नुपरेको छ ।’ 
 
परिवारलाई नयाँ घरमा सार्ने रहर अझै पूरा नभएको उनी बताउँछन् । भन्छन्, ‘तरकारी बेचेरै इँटा किनेँ । एउटा घर नबनाइ भएकै छैन । तर, तरकारी बेचेरै घर ठड्याउन सकिँदैन । बैंकले हामीलाई कर्जा पत्याउँदैन । धेरै बैंकमा धाएँ, कसैले पत्याएन । कट्ठा बेचेर घर बनाउने कुरा आएन ।’ 
 
अहिले जग्गाजमिन बेचेर घर ठड्याउने र विलासी जीवनशैली बिताउने प्रवृत्ति देखेर उनी अवाक भएका छन् । भन्छन्, ‘घर ऋण–धन गरेर बनाउने हो । कट्ठा बेचेर महल ठड्याउने रहर छैन । मिहिनत गर्ने हो, दुःख गरेपछि कसरी नबन्ला र पक्की घर !’

शेयर गर्नुहोस:

0
Shares