मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

कपिलवस्तुमा चारसय वर्षदेखि मानव बसोबास रहेको भेटियो

कपिलवस्तुमा चारसय वर्षदेखि मानव बसोबास रहेको भेटियो


कपिलवस्तु । कपिलवस्तुको ऐतिहासिक दोहनी क्षेत्रमा उत्खनन् गर्दा  इशापूर्व चारसय वर्षदेखि मानव बसोबास सुरू भएको पाइएको छ ।
 
पुरातत्व विभागको व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञको संयुक्त टोलीले उत्खनन् गर्दा पाएका पुरातात्व सामग्रीको अनुसन्धानपछि सो तथ्य प्रकाशमा आएको हो । 
 
उत्खनन्मा भेटिएका माटोका भाँडा तथा सामग्रीका टुक्रा तथा मूर्तिको वैज्ञानिक परीक्षणका आधारमा चारसय वर्षअघि यहाँ मानिसको बसोबास भएको अनुमान गरिएको छ ।
 
कपिलवस्तुको सदरमुकाम तौलिहवाभन्दा करिब चार किलोमिटर पूर्वतर्फ तथा लुम्बिनीबाट करिब २० किलोमिटर पश्चिमतर्फको यस क्षेत्र स्थानीय कुदान, अरौँराकोट तथा तिलौराकोट र लुम्बिनी भ्रमण गर्ने तीर्थालुका साथै कर्मचारी, व्यापारी आवतजावत गर्दा विश्रामस्थलका रुपमा प्रयोग हुँदै आएको छ । 
 
विभागको अनुरोधमा सन् २०१६ मा बेलायतको दुरहाम विश्वविद्यालयले भौगोलिक सर्वेक्षण गरी जमिनको सतहभित्र पूर्ण सुरक्षित ५०÷५० मिटरको चारै कोणमा गोलाकार बुर्जा भेटेकोे थियो । अहिले बेलायतको कला र मानविकी अध्ययन परिषद्को आर्थिक सहयोगमा उत्खनन् तथा अन्वेषण हुँदै आएको छ ।  
 
उक्त स्थानमा प्राचीन समयदेखि नै मानव सभ्यताको विकास भएको प्रमाण प्राप्त भएपछि पुराता¤िवकस्थलको वर्तमान प्रयोग, मूल्यमान्यता तथा यस क्षेत्रको अमूर्त सांस्कृतिक सम्पदाबारे स्थानीयलाई जानकारी गराउन परामर्श गरिएको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए ।
 
यस स्थानको उत्खनन्मा संलग्न समूहले तिलौराकोट दरबार क्षेत्र विश्वसम्पदा सूचीमा सूचीकृत गराउन विभिन्न मुलुकका विज्ञहरुको सहयोगमा थप अनुसन्धान हुँदै आएको छ । यही फागुन ११ गते उक्त समूहले यहाँ गरेको खोज तथा अनुसन्धानका क्रममा थप नयाँ तथ्य बाहिर आउनसक्ने बताइएको छ । 
 
सोही समूहले स्थानीय कुदान, निगलिहवा, सिसहनिया, दोहनी, सगरहवा क्षेत्रमा समेत उक्त टोलीले सर्वेक्षण गरिसकेको छ । यसअघि सोही टोलीले सन् २०११ देखि तीन वर्षसम्म लुम्बिनी क्षेत्रमा अनुसन्धान गरी प्राचीन लुम्बिनी ग्रामको नयाँ इतिहासका साथै लुम्बिनीबारे धेरै तथ्य प्रकाशमा ल्याएको पुरातत्वविद् कोशप्रसाद आचार्यले बताए ।
 
विज्ञ आचार्यका अनुसार त्यहाँ पाइएका तथ्यका आधारमा विश्व परिवेशमा कपिलवस्तुको सभ्यता अगाडि र संस्कृति उत्कृष्ट रहेको बुझ्न सकिन्छ । पाँचाँ शताब्दीमा चिनियाँयात्री फासियान र सातौँ शताब्दीमा ह्वेसाङले यस क्षेत्रमा गरेका यात्रा तथा यात्राका आधारमा तयार भएका विवरणले यहाँको खोज र अनुसन्धानलाई केही सहज बनाएको छ । हाल प्रदेश नं ५ मा पर्ने कपिलवस्तु नेपालको पश्चिमी भेगमा पर्ने एउटा जिल्ला हो । 
 
कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहले कपिलवस्तु संस्कृतिक तथा पुरातत्व हिसाबले उत्तिकै मह¤वपूर्ण मानिए पनि त्यति प्रचारप्रसार हुन नसकेका कारण ओझेलमा परेको बताए ।