चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदलको प्रतिवेदनपछि औपचारिक रुपमा पार्टी एकताको घोषणा गरिने बताएका छन् ।
मंगलबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता संयोजन समितिमा सोमबार भएको पार्टी एकताको प्रारम्भिक समझदारीका आधारमा अन्तरिम विधान तयार पार्ने कार्यदलले प्रतिवेदन दिएपछि केन्द्रीय समितिको संयुक्त बैठक बस्ने बताए ।
“हामीले हिजो दुईवटा कार्यदल बनाएका छौं । यी कार्यदलको प्रतिवेदनपछि केन्द्रीय समितिको संयुक्त बैठक बस्छ,” अध्यक्ष प्रचण्डले भने, “त्यसपछि पुराना केन्द्रीय समिति विघटन गरेर नयाँ केन्द्रीय समिति बनाउँछौं ।”
नयाँ केन्द्रीय समिति बनाएपछि औपचारिक रुपमा नयाँ दलका रुपमा निर्वाचन आयोगमा दर्ता गरिने उनले बताए । अध्यक्षले दाहालले भने, “सैद्धान्तिक र व्यवहारिक किसिमले हामी एकै कम्युनिष्ट पार्टी भइसक्यौं । तर, कानुनी रुपमा निर्वाचन आयोगमा दल दर्ता गरेपछिमात्रै हामी नयाँ पार्टी हुन्छौं ।”
अध्यक्ष प्रचण्डले अन्तर्राष्ट्रिय रुपमा समेत स्थापित मान्यताका आधारमा एकता महाधिवेशनसम्म दुवै पार्टीका अध्यक्ष सहअध्यक्षका रुपमा रहने बताए । बैठकको अध्यक्षता आलोपालो गर्नेगरी नयाँ पार्टीमा दुबै अध्यक्ष रहने र सोही अनुरुप हस्ताक्षर रहने जानकारीसमेत उनले दिए ।
पार्टी एकताले आमजनता, कार्यकतामा मात्र नभएर राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा समेत ठूलो प्रभाव पर्ने बताउँदै अध्यक्ष प्रचण्डले देशमा स्थायित्व, समृद्धि र सुशासनका लागि एकताले ठूलो धरातल तयार पारेको दाबी गरे ।
“हामीले निर्वाचनअघि जनतासँग चुनावपछि पार्टी एकता हुनेछ, देशमा राजनीतिक स्थायित्वका लागि सम्पूर्ण तागत लगाइनेछ र आर्थिक विकास र समृद्धिमा ध्यान केन्द्रीत गरिने छ भनेर प्रतिबद्धता र संकल्प गरेका थियौं । यो ऐतिहासिक परिघटना र नेपाल राष्ट्रका लागि दूरगामी परिघटना हो । यसले २०१९ सालदेखि टुटफूट हुँदै आएको कम्युनिष्ट आन्दोलनमा गुणात्मक फड्को मारेको छ,” दाहालले अगाडि भने ।







प्रतिक्रिया