मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

शरीर अशक्त भए पनि विष्णुको आत्मविश्वास जीवितै

शरीर अशक्त भए पनि विष्णुको आत्मविश्वास जीवितै


चितवन । पूर्वी चितवनको रत्ननगर–१, बकुलहरका ३४ वर्षीय विष्णु चौधरीलाई बाथरोगले कुँज्याएको चौध वर्ष भयो । शारीरिक रुपमा अशक्त भए पनि उनी जीवनप्रति निकै आशावादी छन् । हातखुट्टा र शरीर नचले पनि इच्छाशक्ति भए केही गर्न सकिन्छ भन्ने आत्मविश्वास उनीसँग छ ।
 
नेपाल मावि रत्ननगरमा १० कक्षामा पढ्दापढ्दै बाथरोगले आक्रमण गरेपछि उनी धामीझाँक्रीकहाँ धाउनुसम्म धाए । धेरैपटक काठमाडौँ, तानसेन र सम्भव भएसम्मका अस्पतालमा पुगे । तर, उनको रोग बीसको उन्नाइससम्म भएन । बरु उपचारका क्रममा थुप्रै सम्पत्ति सकियो । उनी थला परे । पढ्ने रहर अधूरै रह्यो । मनमा सजाएका सपनाहरु विपनामा परिणत हुन सकेनन् ।
 
तर, उनले हरेस भने कहिल्यै खाएनन् । अपाङ्गता भएका व्यक्तिले पनि केही गर्न सक्छन् भन्ने ऊर्जा संगालेका विष्णुले ह्वीलचियरकै सहायताले व्यवसाय गर्ने सोच बनाए । अहिले उनले सौराहारोडमा चौधरी साइकल पसल सञ्चालन गरेका छन् ।
 
उनलाई पसलसम्म दाजु कृष्ण र भाउजू निर्मलाले ल्याउने–लैजाने गर्छन् । बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म पसल सञ्चालन गर्छन् । खाना, खाजा र आवश्यक रेखरेख भाउजू निर्मलाले गर्दै आएकी छन् । विष्णु भन्छन्, “आमा बित्नुभयो । बुबा बूढो भइसक्नुभयो । दाजु धारा बनाउने मिस्त्री काम गर्नुहुन्छ । भाउजूले आमासरह हेरचाह गर्नुभएको छ । उहाँहरुको माया र हेरचाहले गर्दा नै मनमा उत्साह बढेको छ ।”
 
विष्णुको आर्थिक अवस्था अत्यन्त नाजुक छ । भूकम्पले भत्किएको घर अझै ठडिएको छैन । उनी भन्छन्, “साढे तीनधूरको घडेरीमात्र बाँकी छ । त्यो पनि तीनतिर बाटो पर्छ । घर बनाउन पनि पुग्दैन । ६ जनाको परिवार चलाउन साह्रै कठिन छ ।”
 
घरमै बस्नुभन्दा केही उद्यम गरे जीविकोपार्जनका लागि सहज होला भनेर डेढ वर्षअघि करिब तीनलाख रुपैयाँ ऋण खोजेर साइकल पसल सुरु गरेको उनी बताउँछन् । उनी भन्छन्, “पसल सधैँ एकैनासले चल्दैन । भाडा तिर्नुपर्छ । मिस्त्रीलाई तलब दिनुपर्छ । ऋणको व्याज पनि तिर्नुपर्छ । यसैबाट घरखर्च चलाउनुपर्छ । साह्रै गाह्रो छ ।”
 
उनले सहयोगका नाममा १२ वर्षअघि शहीद स्मृति बहुमुखी क्याम्पस, रत्ननगरमा आयोजित कार्यक्रममा कांग्रेस नेतृ सुजाता कोइरालाबाट ह्वीलचियर पाएको बताउँछन् । भन्छन्, “त्यही पनि थुप्रैपटक भाँचियो, बिग्रियो । अहिले त जीर्ण भइसकेको छ । सिट च्यातिएको छ, खुट्टा राख्ने ठाउँसमेत छैन । जोडजाड गरेर मुस्किलले काम चलाएको छु ।”  
 
उनी भन्छन्, “आर्थिक अवस्था नाजुक छ । सरकारले कम व्याजदरमा ऋण सहयोग गर्ने नीति ल्याए हामीजस्ता व्यक्तिलाई सहयोग पुग्ने थियो ।” सरकारले दिने दुई हजार अपाङ्ग भत्ताबाहेक कतैबाट सहयोग नपाएको उनको गुनासो छ । उनी कुनै पनि संस्थामा आवद्ध छैनन् । “सरकारले अपाङ्ग भत्ता पाँच हजार पु¥याउने सुनेको छु । लागू हुन्छ कि हुँदैन थाहा छैन”, उनले भने ।
 
उनी स्कुल पढ्दै गर्दा पेन्टस्को काम गर्थे । दुई तीन वर्ष पेन्टिङको काम गरे । बिरामी परेपछि पेन्टिङ गर्ने रहर पनि बन्द भयो । भन्छन्, “अहिले ब्रुस समाउन मिल्दैन । नत्र बसेरै पेन्टिङ गर्थेँ । मुस्किलले एउटा हात चल्छ । धेरै दुखेको बेलामा त्यही पनि चल्दैन ।”  
 
उनी राम्रो ठाउँमा उपचार गराइदिने दाता पाए जाम भएको जोर्नी खुल्छ कि भन्ने आशामा छन् । भन्छन्, “पहिले राम्रो उपचार पाउन सकिनँ । उपचार गराउने सीप नचलेपछि थन्किएको हुँ । उपचार गर्न पाए पहिलेकै अवस्थामा आउँछु कि भन्ने आशा अझै मरेको छैन ।”
 
उनी आफूजस्तै अपाङ्गता भएकाहरुलाई मनमा जोश र धैर्य लिएर अगाडि बढ्न सल्लाह दिन्छन् । भन्छन्, “अगाडि बढ्नुपर्छ, केही गर्न सकिँदोरहेछ । इच्छाशक्ति भए जीवनमा धेरै काम गर्न सकिन्छ ।”