मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

९८ वर्षे मानवीर भन्छन्, उमेर सिद्धियो, दुःख सिद्धिएन

९८ वर्षे मानवीर भन्छन्, उमेर सिद्धियो, दुःख सिद्धिएन


चितवन । पूर्वी चितवनको रत्ननगर–११, स्थित जिरौनाका ९८ वर्षीय मानवीर वाइवाले आँखा देख्न र कान सुन्न छाड्न लागे पनि मजदुरी गर्न भने अझै छाडेका छैनन् । सुन्दा पत्यार नलाग्न सक्छ, जीवनको उत्तराद्र्धमा पनि मानवीर अझै जागिर खाइरहेछन् । 
 
०४२ वैशाख ९ गतेदेखि भरतपुरको गोन्द्राङस्थित ओम सिमेन्ट फ्याक्ट्रीमा मजदुरको जागिर सुरू गरेका मानवीरले अझैसम्म निरन्तरता दिइरहेका छन् । उनी भन्छन्, ‘०४२ वैशाख २ गतेबाट चालु भएको फ्याक्ट्रीमा वैशाख ९ गते भर्ना भएको हुँ । अझैसम्म काम गरिरहेको छु ।’
 
सुरूसुरूमा जिरौनादेखि हिँडेरै सिमेन्ट फ्याक्ट्रीसम्म पुग्ने गरेको बताउने मानवीर आफ्नो पारिश्रमिकबारे भन्छन्, ‘त्यतिबेला मासिक ३० रुपैयाँ तलबमा काम थालेको हुँ । अहिले १२ हजार पाउँछु ।’  
 
उनी अहिले कान्छो छोरा सन्तवीरसँगै साइकल चढेर काममा आउजाउ गर्छन् । सन्तवीर पनि सोही फ्याक्ट्रीमा काम गर्छन् । ‘अहिले अफिसतिर सरसफाइ गर्छु’ उनी भन्छन्, ‘बूढो हुनुभयो जानूस् कसैले भन्दैनन् । बसुञ्जेल काम गर्नुस् भन्छन्, माया गर्छन् । पोहोर काम गर्दिन भनेर निस्किएर आएको, घरमै आएर लिएर गए ।’    
 
उनी सो फ्याक्ट्रीका सबैभन्दा पुराना कर्मचारी हुन् । सुरुमा ढुंगा फोड्ने काम गरेका उनी अहिले सामान्य रेखरेख गर्छन् । काममा लागे पीरचिन्ता हट्ने उनी बताउँछन् । भन्छन्, ‘घरमै बसिरहे छटपटी हुन्छ । बितेकी बूढीको याद आइरहन्छ । चिन्ताले रोगी बनाउँछ । त्यसैले समय कटाउन पनि काम गरिरहेको छु ।’ 
 
बूढ्यौलीको संकेत अनुहारमा प्रष्ट देखिए पनि उनी अहिलेसम्म निरोगी नै छन् । रोग लागेर औषधि खानुपरेको आजसम्म सम्झना छैन उनलाई । तीन छोरा र तीन छोरीका पिता उनको सहारा भएका छन् कान्छा छोरा सन्तवीर । जसले श्रवणकुमारले झैँ सधैँ बुबालाई साइकलमा लिएर हिँड्छन् । सन्तवीरले घरगरी खाओस् भन्नेमात्र चिन्ता छ मनवीरलाई । भन्छन्, ‘चारवटीसँग बिहे गरे पनि चारैवटीले छाडे । कान्छोको स्थायी घरबार भएको देख्ने रहर छ ।’   
 
धनकुटाको स्याबुङमा १९७६ वैशाखमा जन्मिएका मानवीर विसं २०१४ सालमा चितवन बसाइँ आएका हुन् । चितवन आउँदा चार बिगाह १६ कट्ठा जग्गाजमिन जोडेका मनवीरसँग यतिखेर एउटा सानो कच्ची घर र घडेरीमात्र बाँकी छ । अब उनीसँग जीवनका दुःखसुखका कहानीमात्र बाँकी छ ।  
 
उनी विसं १९९० सालको भुँइचालोबारे भन्छन्, ‘त्यसबेला म १४ वर्षको थिएँ । धनकुटामा गाईवस्तु तह लगाएर भक्याम्लो टिप्न लाग्दा रुखैसहित भीरबाट खसेँ । म हाँगा समातेर बाँचेँ । धेरै विनास भयो, धेरै मान्छे र बस्तुभाउ मरे । त्यसपछिको ठूलो भुँइचालो ०७२ सालमा आएको थाहा पाएँ ।’ 
 
उनी पहिलेजस्तो ऐनकानुन नभएको बताउँछन् । भन्छन्, ‘पहिले कसैले गल्ती ग¥यो भने पाता कसेर ठानासम्म पु¥याउँथे । अहिले त जमाना नै अर्कै भइगयो, गल्ती गर्नेलाई पुलिसले पनि समाउन छाड्यो ।’ 
 
जुद्ध शमशेरकी रानीले तत्कालीन अवस्थामा धनकुटाको चौतारामा भनेको स्मरण गर्दै उनी भन्छन्, ‘जुद्ध शमशेरकी रानीले चार कक्षासम्म सबैले पढ्नुपर्छ भन्थिन् । चार कक्षा पढे सरकारी अड्डामा काम पाइन्छ । धेरै पढेर के काम हलो जोती माम भनेर अर्ती दिन्थिन् । अहिले त खेती किसानी गर्ने कम हुँदै गए, जग्गा पनि बाँझो रहन थाल्यो ।’ 
 
उनले बाल्यकालमा गाईबाख्रा चराए, यौवनकालमा भारतको चिया कम्पनीमा मजदूरी गरे र जीवनको उत्तराद्र्धमा पनि जागिरे जिन्दगी बिताइरहेका छन् । उनी आफ्नो जीवनबारे भन्छन्, ‘अब सय पुग्न दुई वर्ष बाँकी छ । के गर्नु उमेर सिद्धियो, दुःख सिद्धिएको छैन ।’