काठमाडौं । नेपाली कांग्रेसका नेता कल्याण गुरुङले पार्टीको संसदीय दलको नेतामा सर्वसम्मतबाट चयन गरिने भए महामन्त्री डा सशांक कोइरालालाई अघि सार्ने र निर्वाचन लड्ने अवस्था आए प्रकाशमान सिंहलाई अघि सार्ने बताए ।
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अहिलेको जनमतले पार्टी सभापति शेरबहादुर देउवालाई दलको नेता बन्ने अवस्था नरहेकोले दलको नेतामा देउवा उठ्न नहुने धारणा राखे ।
उनले भने,‘संसदीय दलको नेतामा देउवाजी सर्वसम्मत बन्ने अवस्था छैन, बरु सर्वसम्मतको लागि सशांक कोइराला अघि सर्नुपर्छ भन्ने हाम्रो आग्रह छ, चुनाव लड्ने हो भने प्रकाशमान सिंहजीले आफैँ उठ्छु भन्नुभएको छ।’
त्यस्तै उनले देउवाले संसदीय समितिपनि पार्टीको विधानभन्दा बढी संख्याको बनाएको र कार्यसम्पाद समिति पनि विधानभन्दा बढि बनाएको गुनासो पोखे । उनले अहिलेको माहोल अनुसार संसदीय दलको नेतामा नयाँ मान्छे आउनुपर्ने अवस्था रहेको सुनाए ।
गुरुङले एमाले र माओवादी केन्द्रबीच एकता होस् भन्ने पक्षमा आफूहरु रहेकोले अबको पाँच वर्ष आफूहरु जिम्मेवार प्रतिपक्षको रुपमा सशक्त भएर लाग्ने स्पष्ट पारे । उनले भने,‘अबको पाँच वर्ष हामी सशक्त प्रतिपक्षको रुपमा उभिन्छौं, सरकारले गरेका राम्रा कामहरुको समर्थन गर्छौं, गुण र दोषका आधारमा हामी समर्थन गर्छौं।’
ओली नेतृत्वको सरकार भर्खरै बनेकोले यसलाई हनिमुन पिरियोड सकिएपछि सरकारको बारेमा सोच्ने उनको भनाइ थियो । उनले भने,‘विगतमा एमालेले ०४८ सालमा कांग्रेसका गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारलाई हनिमुन पिरियोड पनि मनाउन दिएन, तर हामी त्यो अवस्थामा छैनौं।’







प्रतिक्रिया