चितवनकी शीला हराएका बुबा खोज्दै दुई महिनाअघि काठमाडौँ आइन् । उपत्यकामा उनका आफन्त र चिनेजानेका कोही थिएनन् । उनी कलंकीस्थित पशुपति गेष्टहाउसमा बसेर बुबाको खोजी गर्न थालिन् ।
उनीसँग पैसा सीमित थियो । दिनभर राजधानीका विभिन्न ठाउँमा भौँतारिँदै बुबाको खोजी गर्थिन् र बेलुका गेष्टहाउसमा बस्थिन् । निकै दिन बितेपछि उनलाई गेष्टहाउसका सञ्चालकले कोठा र खानाको बिल तिर्न नत्र होटल छाड्न दबाब दिए ।
तिर्नका लागि उनीसँग पैसा थिएन । त्यसपछि होटलका सञ्चालकले उनलाई एउटा प्रस्ताव राखे । प्रस्ताव थियो– ग्राहकहरुसँग रात बिताउने ।
केही उपाय नभएपछि उनी त्यो प्रस्ताव स्वीकार गर्न बाध्य भइन् । त्यसवापत शीलाले २ हजार पाउने र होटल मालिकलाई १ हजार बुझाउनुपर्ने सर्त बन्यो । ग्राहकहरु गेष्टहाउस मालिकले नै खोज्थे । तर, तोकिएको २ हजार पनि युवतीले पाउँथिनन् । होटलमा बसेको भाडा भन्दै सबै पैसा सञ्चालकले आफैँ राख्थे ।
उनलाई दुई महिनादेखि होटलमै बन्धक बनाएर वेश्यावृत्तिमा लगाइएको थियो । घटना प्रहरीले थाहा पाएपछि होटल सञ्चालक ज्ञानदीप अधिकारीलाई बुधबार महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको छ । उनलाई मानव बेचबिखन मुद्दामा कारबाही अघि बढाइएको कालिमाटी वृत्तका डिएसपी प्रदीपकुमार क्षेत्रीले बताए ।
मोबाइल चोर खोज्दा खुल्यो रहस्य
केही दिनअघि सो गेष्टहाउसमा एक व्यक्तिको मोबाइल चोरी भएको थियो । गेष्टहाउसमै बस्ने व्यक्तिले चोरी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेपछि प्रहरीले गेष्टहाउसमा अनुसन्धान अघि बढाएको थियो ।
सोही क्रममा लामो समयदेखि गेष्टहाउसमा बस्दै आएकी युवतीलाई पनि प्रहरीले सोधपुछ ग¥यो । सोधपुछको क्रममा वेश्यावृत्तिको धन्दा खुलेको डिएसपी क्षेत्रीले बताए ।
प्रतिक्रिया