मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अष्टलक्ष्मीलाई हराउँदै पौडेल प्रदेश नं ३ को संसदीय दलको नेतामा निर्वाचित

अष्टलक्ष्मीलाई हराउँदै पौडेल प्रदेश नं ३ को संसदीय दलको नेतामा निर्वाचित


काठमाडौँ । एमाले प्रदेश नं ३ को संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएका छन् । 
 
निर्वाचित भएसँगै उनलाई मुख्यमन्त्री बन्ने बाटोसमेत खु्लेको छ । संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने अवधारणाअनुसार उनी भावी मुख्यमन्त्री बन्ने पक्कापक्की भएको छ ।
 
संसदीय दलको नेता चयन गर्न शुक्रबार भएको मनोनयनपछिको चुनावमा अष्टलक्ष्मी शाक्यलाई हराउँदै उनले जित हासिल गरेका हुन् । शुक्रबार दिउँसो भएको निर्वाचनमा ५८ मत खसेकोमा पौडेलले ३४ मत पाएर विजयी भए । 
 
शुक्रबार तुलसीलाल स्मृति प्रतिष्ठान भवन, ललितपुरमा भएको निर्वाचनमा कुल ५८ मतमध्ये ३४ मत ल्याएर पौडेल दलको नेता चुनिए भने प्रतिस्पर्धी एमाले उपाध्यक्ष एवम् प्रदेश संयोजक अष्टलक्ष्मी शाक्य १० मतले पछि परिन् ।
 
संविधानतः बहुमत प्राप्त संसदीय दलको नेता नै मुख्यमन्त्री चुनिने प्रावधान छ । ११० सदस्यीय प्रदेशसभामा एमाले एक्लैको बहुमत सदस्य छ । दोस्रो दल रहेको माओवादी केन्द्रको २३ मतसमेत मिलाउँदा वाम गठबन्धनको दुई तिहाई नै पुग्छ । त्यसैले पौडेल मुख्यमन्त्री बन्ने पक्कापक्की भएको हो ।
 
को हुन् डोरमणि पौडेल ?
 
विसं ०४९ र ०५४ मा गरी दुईपल्ट हेटौंडा उपमहानगरको नगर प्रमुख चुनिएका व्यक्ति हुन् पौडेल । वयोवृद्ध र नेकपा एमालेको राजनीतिमा प्रख्यात पौडेल ज्येष्ठ सदस्यको हैसियतले प्रदेशसभाको अध्यक्षता गरिरहेका थिए । पछिल्लो सक्रिय उनी सभामुखका लागि चर्चामा थिए । अन्तिम समयसम्म पनि पौडेल चुनाव जित्नेमा विश्वस्त भने थिएनन् । 
 
तर, पौडेलले नै एकाएक दलको नेता चुनिएर मुख्यमन्त्री बन्ने बाटो खोले ।प्रदेशसभा सदस्यमा मकवानपुर–१ ९ख०बाट निर्वाचित पौडेल पछिल्लो समय राजधानीमै बसेर मुख्यमन्त्रीमा भित्रभित्रै लविङ गरिरहेका थिए । विशेषतः हेटौंडा प्रदेशको अस्थायी राजधानी बनेयता उनको सक्रियता बढेको हो ।
 
ओली निकट ३ नम्बर प्रदेशसभा सदस्यहरूले पौडेललाई उम्मेदवार बनाउन दबाब दिएपछि ओलीको समर्थन पौडेलले पाएका हुन् ।
प्रदेशको राजधानी हेटौंडा बनाइएकोमा एमालेभित्रका प्रदेशसभा सदस्य सन्तुष्ट छैनन् । मुख्यमन्त्री पनि हेटौंडालाई दिँदा काठमाडौँलगायत आसपासका जिल्लाको साथ नपाउने त्रास उनलाई थियो ।
 
तर, ओली निकटहरूका सदस्यहरूले पोलिटब्युरो वैकल्पिक सदस्य एवं काठमाडौं–२ (क)बाट निर्वाचित सानु श्रेष्ठलाई सभामुख बनाउने र काठमाडौँका पूर्वमेयर केशव स्थापितलाई प्रभावशाली मन्त्रालय दिने आश्वासन दिएपछि ओली पक्षको सबै मत सुरक्षित भएको हो । काठमाडौँको १६ मतमध्ये अधिकांश मत पौडेलकै पक्षमा खसेपछि पौडेलको दलको नेता बन्ने सपना पूरा भएको हो । 
 
"मुख्यमन्त्री मै हुँ" भनेर विश्वस्त रहेकी प्रतिस्पर्धी अष्टलक्ष्मी शाक्यले भने नसोचेको परिणाम हासिल गरेकी छन् । पार्टी उपाध्यक्ष, महिला, नेवार समुदायकी, प्रदेश संयोजक तथा सबै बरियताले माथि रहेकाले क्रस भोट पाउने आशा उनले गरेकी थिइन् । तर, जित्न पुग्ने मत उनको पक्षमा आइदिएन । 
 
मुख्यमन्त्री बन्ने अभिप्साले पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे ओली क्याम्पको ढोकामा निकै दौडधूप गरेका थिए । तर, उनले त्यहाँबाट टिकट पाउने कुनै सम्भावना नै नदेखेपछि अन्तिम समयमा उम्मेदवारी नदिने घोषणा गरे । पाण्डेले अष्टलक्ष्मीलाई सघाउने आश्वासन दिए पनि मैदानमा उपस्थिति देखाएनन् । पाण्डेजस्ता नेताहरूको भर पर्दा शाक्यले हार बेहोरिन् । 
 
यसअघि प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा शाक्यको नाम शीर्ष स्थानमा रहँदासम्म मुख्यमन्त्रीका बलिया दाबेदारीसमेत भएकी थिइन् । तर, शुक्रबार भएको निर्वाचनमा हार व्यहोरेसँगै उनको मुख्यमन्त्री बन्ने बाटो स्वतः बन्द भएको छ ।