मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

नारायणगढ–मुग्लिन सडकको मिति चौथोपटक थप्ने तयारी

नारायणगढ–मुग्लिन सडकको मिति चौथोपटक थप्ने तयारी


चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको पछिल्लोपटक थपिएको मिति सकिन लाग्दा पुनः मिति थपको तयारी गरिएको छ । यसअघि तीनपटक गरी १० महिना समय थप गरिएको थियो । अहिले करिब तीन महिना मिति थप्ने तयारी गरिएको छ । 
 
नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार हालसम्म ७४ प्रतिशत काम सम्पन्न भएको छ । फागुन पहिलो साता पछिल्लो पटक थपिएको समय सकिँदैछ । 
 
सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी ठेक्का दिइएको थियो । त्यसलगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म वर्षात् बढी भएका कारण मिति थप गरिँदै आएको थियो । विसं २०७४ शुरु भएयताको दुई पटकको निर्वाचन, वर्षात्को समय, चाडपर्वको समय र थपिएको कामका कारण मिति थप्न लागिएको खनालले बताए । 
 
ठेकेदार कम्पनीले भूकम्पको समयमा तत्कालीन सरकारले एक वर्षसम्म मिति थप्न सकिने जनाएको भन्दै एक हजार चार दिनसम्म मिति थप मागेको आयोजनाका प्रमुख चन्द्रनारायण यादवले बताए । उनले भने, “ठेकेदारले त अस्वाभाविक समय मागेका छन् तर रोकिएको दिनको परिपूर्ति हुने  गरी मिति थपिन्छ ।” आउँदो साताभित्रमा मिति थप्ने तयारी आयोजनाले गरेको छ । 
 
दिउँसो यातायात रोकेर गरिएको काम प्रभावकारी
 
पछिल्लो समय माघ १३ गतेदेखि दिउँसोको समयमा यातायात रोकेर काम गरिँदै आएको छ । त्यसअघि रातको समयमा सवारी रोकेर काम गरिएको थियो । दिउँसोमा काम गर्दा प्रभावकारी भएको इञ्जिनियर खनालले बताए । 
 
उनले भने, “अहिले दिनको समयमा सडक रोकेर काम थालिएसँगै कामले पनि गति लिएको छ ।” भित्तो काट्ने र कालोपत्र गर्ने काम सँगसँगै भइरहेको छ । 
 
खनालका अनुसार फेब्रुअरी ४ तारिखका दिन एकै दिन करिब एक प्रतिशत काम भएको थियो । एक प्रतिशत भन्नाले करिब रु तीन करोडको काम हुन आउँछ ।  
 
हालसम्म तीनवटा खण्डमा गरेर १७ दशमलव ७ किलोमिटर सडक कालोपत्र भएको छ । सो सडक तीन तह कालोपत्र गरिँदै छ । थप सात किलोमिटरको कालोपत्र गर्ने अन्तिम तयारी भएको छ । 
 
सडकलाई तीनखण्ड गरेर ठेक्का दिइएको छ । पहिलोखण्ड आँपटारीदेखि १० दशमलव ४ किलोमिटर मुग्नितर्फ छ किलोमिटर सडक कालोपत्र भएको छ । उक्त खण्ड बिएलए तथा श्रेष्ठ निर्माण कम्पनीले ठेक्का लिएको छ । दोस्रो खण्ड निर्माणको जिम्मा लिएको उड हिल तथा लामा निर्माण कम्पनीले १० दशमलव ७ किलोमिटरमध्ये हालसम्म ७ दशमलव ७ किलोमिटर सडक कालोपत्र गरेको छ । 
 
तेस्रो खण्ड सिमलतालदेखि मुग्लिनसम्मको निर्माणको जिम्मा लिएको सुप्रिम तथा रौताहा निर्माण कम्पनीले १२ दशमलव १ किलोमिटरमध्ये ४ किलोमिटर सडक कालोपत्र गरेको छ । 
 
उक्त सडकखण्ड ३३ दशमलव २ किलोमिटर रहेको छ । जसमध्ये ५५ प्रतिशत भाग कालोपत्र गरिएको हो । तीनखण्डमध्ये सबैभन्दा बढी बीचको सडकखण्डको काम प्रभावकारी देखिएको छ । खनालका अनुसार यही गतिमा काम भएमा सो खण्ड भने आउँदो एक महिनामा सम्पन्न हुनेछ । अन्य दुई खण्ड पनि चैतसम्ममा भित्तो काट्नु पर्नेबाहेक अधिकांश भाग कालोपत्र भइसक्ने उनले बताए । 
 
सो सडकको १६ किलोमिटरमा ३०० मिटर पहाड काट्नु पर्नेमध्ये १२० मिटर काटिसकिएको छ भने १८० मिटर काट्न बाँकी छ । त्यसको पनि माथिल्लो भाग काटिएको छ । 
 
घुमाउनेमा २०० मिटर भित्तो काट्नु पर्नेमा १०० मिटरमात्रै बाँकी छ । सोको पनि माथिल्लो भाग निकै तल झरेर आठ मिटर उचाइमा आइपुगेको छ । सो क्षेत्रमा ४४ मिटर अग्लो पहाड थियो । उता तेस्रो सडकखण्डको भने चेपाङ डाँडामा २०० मिटर पहाड काट्नु पर्ने छ । सोको भने निकै कममात्रै प्रगति भएको देखिन्छ । सो पहाड काट्न भने निकै कठिन भइरहेको खनालले बताए । 
 
नारायणगढ र गोरखा जोड्न सन् १९८२ मा चीन सरकारको सहयोगमा सो सडक बनेको थियो । नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत एशियाली विकास बैंकको ऋण सहयोगमा यो सडकको स्तर उकास्ने काम सुरू गरिएको हो ।