धनगढी, माघ १९ । माओवादी केन्द्रले प्रदेश नम्बर–७ को मुख्यमन्त्रीका लागि डोेटीबाट प्रदेशसभामा निर्वाचित सांसद त्रिलोचन भट्टलाई सिफारिस गरेको छ ।
वाम गठबन्धनले प्रदेश नम्बर–७ मा मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने सहमति गरेसँगै उक्त दलले शुक्रबार पार्टीको प्रदेश कार्यालयबाट सांसद भट्टको नाम सिफारिस गरेको हो ।
उक्त दलका प्रदेश नम्बर–७ संयोजक लक्ष्मणदत्त जोशीले शुक्रबार काठमाडौंमा भएको प्रदेश कार्यालयको बैठकले भट्टलाई मुख्यमन्त्रीमा सिफारिस गरेको जानकारी दिए ।
उनले भने–‘अब दुई/तीन दिनभित्र केन्द्रले निर्णय गर्छ होला ।’
यसअघि, २०६४ र २०७० सालको संविधानसभाको निर्वाचनमा भट्ट पराजित भएका थिए ।
बिहीबारसम्म माओवादीभित्र भट्टसँगै कैलालीबाट निर्वाचित सांसद वीरभान चौधरी र दार्चुलाका सांसद मानबहादुर धामीको नाम चर्चामा थियो । प्रदेशसभामा उक्त दलबाट प्रत्यक्ष र समानुपातिक गरी १४ सांसद छन् ।
प्रदेश नम्बर–७ को अस्थायी मुकाम धनगढीलाई नै कायम गर्नेगरी पहाडलाई मुख्यमन्त्री दिन सन्तुलन मिलाउनेक्रममा भट्टलाई माओवादीले सिफारिस गरेको आँकलन गरिएको छ ।
त्यसैगरी, प्रदेशसभामा १२ जना सांसद रहेको नेपाली कांग्रेसले पनि आवश्यकताअनुसार निर्णय लिएर मुख्यमन्त्रीका लागि अघि बढ्ने संकेत गरेको छ ।
डडेल्धुराबाट प्रदेशसभामा निर्वाचित सांसद एवं पार्टीका जिल्ला सभापति कर्णबहादुर मल्लले मुख्यमन्त्रीको उम्मेदवारका सम्बन्धमा केन्द्रको निर्देशनअनुसार शनिबारदेखि छलफल गरेर अघि बढ्ने बताए ।
‘पार्टीले सातओटै प्रदेशमा केन्द्रबाट नेता खटाएको छ’–सांसद मल्लले भने–‘छलफल गर्छौं र आवश्यताअनुसार निर्णय लिन्छौं ।’
प्रदेश नम्बर–७ मा कांग्रेसबाट चार निर्वाचित र ८ समानुपातिक गरी १२ सांसद छन् ।
प्रदेश नम्बर–७ मा दुईजना सांसद रहेका राष्ट्रिय जनता पार्टी नेपालले पनि पार्टीमा छलफल गरेरमात्रै मुख्यमन्त्रीमा कुन दललाई सहयोग गर्ने भन्ने टुंगो लगाउनेछ ।
राष्ट्रिय जनता पार्टीबाट प्रदेश सांसद रहेकी मालामती रानाले वाम गठबन्धनले मुख्यमन्त्रीको उम्मेदवार टुंगो लगाएपछिमात्रै आफूहरुले निर्णय लिन छलफल गर्ने बताइन् ।
५३ जना सांसद रहेका प्रदेश नम्बर–७ मा नेकपा एमालेका २५, माओवादी केन्द्रका १४, नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुईजना सांसद छन् ।
एमालेभित्र पनि लबिङ
प्रदेश नम्बर–७ मा वाम गठबन्धनले मुख्यमन्त्री माओवादी केन्द्रलाई र सभामुख नेकपा एमालेलाई दिने सहमति गरेसँगै प्रदेशसभामा बढी सांसद संख्या रहेको नेकपा एमालेभित्र पनि सभामुख र संसदीय दलको नेताका लागि लबिङ हुन थालेको छ ।
एमालेभित्र अहिले कन्चनपुरबाट निर्वाचित सांसद तारालामा तामाङ, बाजुराबाट निर्वाचित प्रकाश शाह र कैलालीबाट निर्वाचित दीर्घ सोडरी संसदीय दलको नेताका लागि दाबेदार देखिएका छन् ।
संसदीय दलको नेताका लागि आकांक्षी देखिएका बाजुराका सांसद शाहले पार्टीको प्रदेश कमिटिको नेतृत्व सहमतीबाटै नेता छान्नेमा आफू आशावादी रहेको बताए ।
शाहले संसदीय दलमा आफ्नो दाबी रहेको जानकारी दिए । ‘पार्टीको प्रदेश कमिटीको नेतृत्वले विधि, प्रक्रिया तोडेर जाँदैन भन्नेमा छु’–उनले भने–‘सर्वसम्मतको प्रयास पनि हुन्छ ।’
एमालेभित्र डोटीका पूर्णा जोशी, डडेल्धुराका पठानसिंह बोहरा र बझाङका अर्जुन थापाको नाम पनि सभामुखको पदमा चर्चा छ ।
माघ २१ गते बिहान एमालेले संसदीय दलको बैठक बोलाएको छ । प्रदेश संयोजक भीम रावलको उपस्थिति रहने बैठकमा सभामुख, संसदीय दलको नेता र मन्त्रीहरूको छनोटको विषयले प्राथमिकता पाउनेछ ।
माओवादीभित्र भने उपसभामुखमा बझाङबाट प्रदेशसभामा निर्वाचित देवकी मल्ल र डडेल्धुराबाट समानुपातिक सांसद कुन्ती जोशीको चर्चा हुन थालेको छ ।
पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्छ । सभामुख पुरुष भए उपसभामुख महिला हुनुपर्ने संवैधानिक व्यवस्था छ ।
माओवादीबाट उपसभामुखका आकांक्षी देवकी मल्लले आफूले उपसभामुखका लागि दाबी गरेको बताइन् ।
‘मैले त मुख्यमन्त्रीकै लागि दाबी गरेकी थिएँ’–उनले भनिन्–‘अरु साथीहरु देखेपछि उपसभामुख नभए मन्त्रीका लागि आकांक्षा राखेकी छु ।’ उनले पार्टी र प्रदेश संसदीय दलको बैठकमा उक्त विषयमा छलफल हुने बताइन् ।
ज्येष्ठ सदस्य धनगढी आउँदै
प्रदेश नम्बर–७ को आइतबार हुन लागेको पहिलो बैठक प्रदेशसभाकी ज्येष्ठ सदस्य दिव्यश्वरी शाहको अध्यक्षतामा बस्नेछ । बैठकका लागि उनी शुक्रबार काठमाडौंबाट धनगढी आउँदैछिन् ।
ज्येष्ठ सदस्य शाहले आफू बैठकका लागि धनगढी आउन लागेको जानकारी दिइन् ।
जिल्ला समन्वय समितिको सभाकक्षमा हुने बैठकको तयारी द्रुतगतिमा भइरहेको प्रदेश नम्बर–७ का प्रमुखसचिव लक्ष्मीराम पौडेलले जानकारी दिए ।
‘बैठकका लागि सभाकक्षमा तयारी हुँदैछ’–उनले भने–‘बैठक बस्नुअघि तयारी भइसक्ला ।’
बैठकका लागि चार सदस्यीय संघीय संसद सचिवालयबाट सहसचिव मुरारी महतको नेतृत्वमा एक टोली धनगढी आइपुगेको छ ।
सिद्धराज भट्ट/शेरबहादुर सिंह (रासस)
प्रतिक्रिया