नेपाल

प्रदेश सरकारका प्रमुख सचिव तथा सचिवहरूको पद बहाली

प्रदेश सरकारका प्रमुख सचिव तथा सचिवहरूको पद बहाली


पोखरा । प्रदेश सरकार (प्रदेश नं ४)का प्रमुख सचिव लक्ष्मण अर्यालले बिहीबार पद बहाली गरेका छन् । प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच अर्यालले पद बहाली गरे । 
 
पद बहाली कार्यक्रममा पोखरास्थित विभिन्न कार्यालयका प्रमुख, सुरक्षा निकायका उच्च अधिकारीका साथै सञ्चारकर्मीको उपस्थिति थियो । 
 
प्रदेश नं ४ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (प्रशासन तथा बैठक शाखा हेर्ने)का सचिव लालमणि ओझा र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव फणीन्द्रमणि पोखरेलले पनि पद बहाली गरेका छन् । 
 
पद बहाली कार्यक्रममा प्रमुख सचिव अर्यालले संविधानको कार्यान्वयन र संघीयताको व्यवस्थापन गर्नु अहिलेको आवश्यकता भएको बताउँदै उक्त जिम्मेवारीलाई पूरा गर्न लगिने प्रतिवद्धता व्यक्त गरे । 
 
प्रमुख सचिव अर्यालका अनुसार प्रदेश नं ४ मा मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला तथा कानून मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय एउटै भवनमा रहने छन् । 
 
भौतिक पूर्वाधार विकास मन्त्रालय शहरी विकास डिभिजन कार्यालयको भवनमा राख्न लागिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय वन कार्यालयको नवनिर्मित भवनमा राखिने भएको छ । 
 
त्यस्तै, सामाजिक विकास मन्त्रालय क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा राख्ने तयारी गरिएको छ भने भूमि, कृषि तथा सहकारी मन्त्रालय सहकारी डिभिजन कार्यालयमा राख्ने गरी तयारी गरिएको छ । अन्य मन्त्रालयका सचिव आउने क्रममा रहेको प्रमुख सचिव अर्यालले जानकारी दिए ।