मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रधानमन्त्री देउवाले कार्यसमिति भंग गरेपछि परिवार नियोजन संघको आपत्ति

प्रधानमन्त्री देउवाले कार्यसमिति भंग गरेपछि परिवार नियोजन संघको आपत्ति


चितवन । एकपछि अर्को विवादास्पद निर्णय गरेर प्रधानमन्त्री शेरबहादुर देउवा फेरि विवादमा तानिएका छन् । नेपाल परिवार नियोजन संघको केन्द्रदेखि जिल्लासम्मका सबै शाखाको कार्यसमिति भंग गरी कानुनविपरीत काम गरेको भन्दै प्रधानमन्त्री देउवा विवादमा मुछिएका हुन् । 
 
भ्रष्टाचाररहित ढंगले अगाडि बढिरहेको सक्षम कार्यसमितिलाई भंग गरी संघबाटै निष्कासित भइसकेका व्यक्तिलाई फेरि संस्थामा ल्याउने प्रयास गरेको भन्दै नेपाल परिवार नियोजन संघको केन्द्रीय समिति र सबै जिल्ला शाखाले विरोध जनाएका छन् । 
 
संघको चितवन शाखाले पनि बिहीबार भरतपुरमा पत्रकार सम्मेलन गरी प्रेस विज्ञप्तिमार्फत प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको छ । 
 
प्रधानमन्त्री देउवाले यही माघ ११ गते बसेको मन्त्रिपरिषद्को बैठकमार्फत संघको केन्द्रीय तथा जिल्ला शाखाका कार्यसमिति विघटन गरी संघको पूर्वसभापति छत्रबहादुर गिरीको संयोजकत्वमा नयाँ तदर्थ समिति गठन गर्ने निर्णय गरेका थिए । 
 
अघिल्लो अधिवेशनबाट निर्वाचित भएर आएका कार्यमितिलाई आफूखुशी विघटन गरी संस्थाको ५८ वर्षे इतिहासलाई मेटाउने प्रयास गरेको भन्दै संघले विरोध जनाएको हो । 
 
चितवन शाखाका सभापति रामहरि न्यौपानेद्वारा जारी विज्ञप्तिमा लोकतन्त्र र प्रजातन्त्रको हवाला दिँदै आएको वर्तमान सरकारले नै अलोकतान्त्रिक ढंगले स्वायत्त निकायमाथि हस्तक्षेप गरेको जनाएको छ । 
 
न्यौपानेले विज्ञप्तिमा भनेका छन्, “संघमा विभिन्न कालखण्डमा असक्षम भनी हटाइएका, अनुशासनहीन र कलंकित व्यक्तिलाई सरकारले तदर्थ समितिको संयोजक बनाउनुले लोकतन्त्र, प्रजातन्त्र, सुशासन र पारदर्शिताको खिल्ली उडाएको छ । निज गिरीको सदस्यतासम्बन्धी मुद्दा अहिले पनि सम्मानित अदालतमा विचाराधीन रहेको अवस्थामा नै लोकतन्त्र र प्रजातन्त्रको हवाला दिने सरकार स्वयम्ले अलोकतान्त्रिक ढंगले स्वायत्त निकायमाथि हस्तक्षप गरेर नेपालमा रहेका सबै संघ-संस्थामाथि प्रहार गरेको छ ।” 
 
छत्रबहादुर गिरी आर्थिक अनियमितताको आरोपमा संघबाटै बर्खास्तमा परेका व्यक्ति हुन् । त्यसो त उनी दुईपटक संघको अध्यक्ष भइसकेका व्यक्ति हुन् । 
 
न्यौपाने भन्छन् “कानुनले नै भ्रष्टाचार ठहर गरेको व्यक्तिलाई संस्था हस्तान्तरण गरेर प्रधानमन्त्री देउवाले आफ्नै खुट्टामा बञ्चरो प्रहार गर्नुभएको छ ।”
 
निर्वाचन पद्धतिबाट संघको नेतृत्वमा आउन नसकेपछि निज गिरीले आर्थिक प्रलोभनमा पारी वर्तमान सरकार र सरकारमा रहेका मन्त्रीलाई प्रभावित पारेको संघले ठहर गरेको छ । सरकारले गरेको निर्णय नसच्याए कानुनी प्रक्रियाअनुसार अदालतसम्म जाने संघले चेतावनीसमेत दिएको छ ।