मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

माइक्रोसिस फङ्गलका बिरामी पौडेललाई उपचारमा समस्या

माइक्रोसिस फङ्गलका बिरामी पौडेललाई उपचारमा समस्या


चितवन । चितवनको कालिका नगरपालिका वडा नं ७ सगुनटोलका १७ वर्षीय लक्ष्मण पौडेललाई नाकमा माइक्रोसिस फङ्गल भएको छ । सो रोगबाट पीडित पौडेललाई दैनिक औषधि सेवन गर्न पाँच हजार रुपैयाँ लाग्दछ । एक वर्षसम्म खानुपर्ने औषधि खर्चमात्रै १८ लाख लाग्ने बताइएको छ । हालसम्म उपचार गर्दा १२ लाख रुपैयाँ खर्च भइसकेको उनका बुबा केदारनाथ पौडेलले बताए ।
 
सुरूमा छोराको नाकको देब्रे भाग चिलाएर सुन्निएको र क्रमशः मासु पलाएर झर्ने समस्या भएको बुबा केदारनाथले बताए । ०७३ साल मंसिरबाट दिनहुँ नाकको मासु झर्न थालेपछि छोरालाई भरतपुरको सरकारी अस्पताल हुँदै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि उनले उपचार गराए ।
 
सो अस्पतालले क्षयरोग भनी दुई महिनासम्म औषधि सेवन गर्न लगाए पनि उनको सो रोग निको हुन सकेन । छोरालाई निको हुनभन्दा पनि झन् बढी समस्या भएपछि काठमाडौँको टिचिङ हस्पिटल पु¥याए । ०७३ चैत्रमा टिचिङ्ग हस्पिटलमा छोराको नाकको अप्रेसन भयो । त्यसपछि पनि नाकमा मासु पलाउँदै जाने, झर्दै जाने समस्या नरोकिए पछि ०७४ भदौ २० गते, असोज ६ गते र कार्तिक २८ गते पनि छोराको नाकको पटक–पटक अप्रेसन गरिएको उनले बताए ।
 
टिचिङ हस्पिटलले रोग पत्ता लगाउन नसकेपछि त्यहाँबाट रिफर गरी मंसिर २५ गते भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा परीक्षण गरी औषपध लिएर घर आएको बुबा केदारनाथले बताए । संस्थाका डा ए.सी. शर्मा र डा. राकेशकुमार आचार्यले उपचार गराएको उनले बताए ।
 
“एउटै औषधीको मात्र भारतीय ३ हजार ९ सय ९० रुपैयाँ पर्दछ । यो औषधिलगायत थुप्रै औषधि खानुपर्छ”, बिरामीका बुबा पौडेलले भने । उनका अनुसार डाक्टरले एक वर्षसम्म लगातार औषधि खानुपर्ने बताएका छन् ।
 
“छोराको उपचार गर्दा यसअघि १२ लाख रुपैयाँ ऋण लागिसक्यो । थप उपचार गर्न १८ लाखभन्दा बढी रकम चाहिन्छ । कसरी छोरा बचाउने भन्ने चिन्ता लागेको छ ।”, उनी भन्छन् । स्थानीय पृथ्वी माविमा १२ कक्षामा पढ्दै गरेको छोरालाई कसरी बचाउने भन्ने चिन्तामा उनी डुबेका छन् ।
 
पटक–पटक बाढी लागेर घरवारविहीन भएपछि चितवनको मेघौली हुँदै भण्डारा पुगेको पौडेल परिवार भण्डारामा पनि बाढी लागेर ०४७ सालमा सगुनटोलमा आई ऐलानी जग्गामा बस्दै रहेका छन् ।
 
परिवारलाई दैनिक गुजारा टार्नलाई नै समस्या छ । पहिलेको ऋण कसरी तिर्ने भन्नेमा एकातिर समस्या छ भने अर्कोतर्फ छोराको औषधि खर्च धान्न समस्या भएकोले छोराको जीवन रक्षाको लागि सहयोगीदाताहरुसँग सहयोगको अपिलसमेत उनले गरेका छन् ।
 
उनलाई स्वदेशी तथा विदेशी सहयोगीदाताहरुले मोबाइल नम्बर ९८४५५-९७५४६ मा सम्पर्क गरी सहयोग गर्न बिरामी लक्ष्मणका बुबा केदारनाथले सबैसँग आग्रह गरेका छन् ।