मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जनतासँग गरेका प्रतिबद्धता लागू गरेरै छाड्छौँ : प्रचण्ड

जनतासँग गरेका प्रतिबद्धता लागू गरेरै छाड्छौँ : प्रचण्ड


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको क्रममा वाम गठबन्धनका तर्फबाट गरिएका प्रतिबद्धता पूर्णरुपमा लागू गरेरै छाड्ने बताएका छन् । 
 
प्रेस सेन्टर नेपालको १४ औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले जनताका सामु गरिएका प्रतिबद्धता पूर्णरुपमा कार्यान्वयन गरेर छाडिने र कुनै पनि प्रकारको अवरोधलाई चिरेर अगाडि बढ्ने बताए । 
 
राष्ट्रिय एकता र समृद्धिका लागि नयाँ संकल्प गरेर जानुपर्नेमा जोड दिँदै उनले भने “जनताको अपेक्षा पूरा गर्न नयाँ संकल्प जरूरी छ । राजनीतिक स्थायित्वलाई पूर्णता दिन पनि आर्थिक क्रान्ति जरूरी छ ।”
 
देशलाई अराजकतातर्फ लैजाने प्रयास भइरहेको भन्दै उनले त्यस्तो प्रयासलाई सफल हुन नदिने विश्वास व्यक्त गरे । “हामी मुलुकलाई अराजकतामा धकेल्न खोज्नेको प्रयासलाई सफल हुन दिँदैनौँ” अध्यक्ष दाहालले भने । 
 
सरकारका पछिल्ला गतिविधिप्रति संकेत गर्दै अध्यक्ष दाहालले आर्थिक अराजकता देखिन खोजेको र त्यस्तो प्रयास भइरहेकाले वाम गठबन्धनले त्यसलाई बाहिर निकालेर छाड्ने बताए ।
 
वाम गठबन्धनले जनताका अगाडि गरेका प्रतिबद्धता पूरा गर्ने बताउँदै उनले देशलाई राजनीति स्थायित्व, सुशासन र समृद्धितर्फको यात्रामा लैजाने  अठोट गरे । देशको पक्षमा सकारात्मक भूमिका खेलिदिनसमेत उहाँले पत्रकारलाई आग्रह गरे । 
 
पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले विगतमा आफूहरुले देखेको सपना पूरा गर्न पनि सबै मिलेर जानुको विकल्प नभएको उल्लेख गरे । जनयुद्धको समयमा कलमसँगै मादल र हतियार पनि प्रयोग भएको प्रसंग जोड्दै उनले केही सपना अझै बाँकी रहेकाले ती सपना कलमका माध्यमबाट पूरा गर्नुपर्नेमा जोड दिए । 
 
प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहालले पत्रकारको पेशागत हित र सुरक्षाका लागि पनि राजनीतिक स्थायित्वको जरुरी रहेको धारणा राखे । कार्यक्रममा प्रेस सेन्टरले हालै स्थापना गरेको ‘शक्ति तारा स्मृति पत्रकारिता पुरस्कार’बाट पत्रकार तुलसीदास महर्जनलाई सम्मान गरियो । पुरस्कारको राशि रु १० हजार र सम्मानपत्र रहेको छ । रासस