नेपाल

राष्ट्रियसभा सदस्य निर्वाचनको लागि ५६ सिटमा उम्मेदवारी दर्ता

राष्ट्रियसभा सदस्य निर्वाचनको लागि ५६ सिटमा उम्मेदवारी दर्ता


काठमाडौं । यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि बुधबार उम्मेद्वारी दर्ता हुँदैछ । आज सातवटै प्रदेशका ५६ सिटको लागि उम्मेदवारी दर्ता हुन लागेको हो । 
 
राष्ट्रियसभा निर्वाचनका लागि सातवटै प्रदेशका उच्च अदालत रहेका स्थानमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । 
 
उच्च अदालत रहेका स्थानहरु विराटनगर, जनकपुर, ललितपुर, पोखरा, दाङ, सुर्खेत र डोटीमा राष्ट्रियसभा चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । 
 
उम्मेदवारी दर्ता गर्दा उम्मेदवारले १० हजार रुपैयाँ धरौटी बुझाउनु पर्दछ भने मतदाता सूचीमा नामावली भएको हुनुपर्नेछ ।
 
प्रदेशसभाका ५ सय ५० जना सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष १ हजार पाँच सय ६ जना गरी कुल २ हजार ५६ जना उम्मेदवारले ५६ जना राष्ट्रियसभा सदस्य चुन्नेछन् । 
 
५९ सदस्यीय राष्ट्रिय सभामा हरेक प्रदेशबाट ८–८ जनाको दरले ५६ जना चुनावबाट निर्वाचित हुने र तीनजना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ । 
 
हरेक प्रदेशबाट चुनिने ८ जनामध्ये तीन जना महिला, एक जना दलित, एकजना अपांगता वा अल्पसंख्यक र तीन जना अन्य समूहबाट निर्वाचित हुन्छन् । राष्ट्रियसभा निर्वाचनमा एकल संक्रमणीय र बहुमतीय दुवै निर्वाचन प्रणाली अपनाइने निर्वाचन आयोगले जनाएको छ ।