मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पार्टी र सरकारको नेतृत्व फरक हुनुपर्ने माओवादीको ठहर

पार्टी र सरकारको नेतृत्व फरक हुनुपर्ने माओवादीको ठहर


हिमालय खबर संवाददाता-
काठमाडौँ । पार्टी एकता कि सरकार गर्ने भन्ने विषयमा एमाले र माओवादी केन्द्रबीच आ–आफ्नै रटान सुरू भएको छ । 
 
माओवादी केन्द्रले पार्टी एकताको विषय धेरै लम्ब्याउनु नहुने ठहर गर्दै पार्टी र सरकारको नेतृत्वमा एउटै व्यक्ति हुन नहुने अडान राखेको छ । माओवादी केन्द्रका नेताहरुले यस विषयमा स्पष्ट अडान राख्दै एमालेले छोडेको एक पद आफूले पाउनुपर्ने धारणा राख्दै आएका छन् । 
 
माओवादी केन्द्र नेता देवेन्द्र पौडेलले पार्टी एकताको विषय धेरै लम्ब्याउन नहुने भन्दै पार्टी र सरकारको नेतृत्वमा एउटै व्यक्ति हुन नहुने बताएका छन् । भोलि बुधबार पार्टी एकताका विषयमा एमाले अध्यक्ष ओलीसँग यही विषयमा छलफल हुने उनले बताए । 
 
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आयोजित माओवादी केन्द्रको केन्द्रीय कार्यालयको पार्टी बैठकले चुनावमा अन्तर्घात भएको निष्कर्ष निकाल्दै त्यसको छानबिन गर्न नेता अमिक शेरचनको नेतृत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको छ ।
 
बैठकले प्रदेश प्रमुख तोक्ने विषयमा सरकारसँग छलफल गर्ने पनि निर्णय गरेको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । 
 
बैठकले पार्टी एकताका विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने निर्णय गर्दै सरकार प्रमुख या पार्टी अध्यक्षमध्ये एक पद पाउनुपर्ने विषयलाई प्राथमिकतामा राखेको छ । 
 
बैठकपछि प्रवक्ता भुसालले एकता प्रक्रियामा कुनै अल्झन नआएको भन्दै ओलीको अस्वस्थताका कारण छलफलमा ढिलाइ भएको प्रतिक्रिया दिइन् । 
 
राष्ट्रिय सभाको गठन सम्बन्धमा आयोगको मिति तोक्ने काम ठीक नभएको उनको भनाइ थियो । माओवादी केन्द्रलाई सांगठनिक रुपमा व्यवस्थित गर्नका लागि नेता रामबहादुर थापा ‘बादल’को नेतृत्वमा कार्यदलसमेत गठन गर्ने निर्णय गरेको छ ।