चितवन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रभावशाली युवा नेता विश्वप्रकाश शर्माले गत निर्वाचनमा अंकगणितीय रुपमा कांग्रेस कमजोर भए पनि बीपी विचारको जीत भएको बताएका छन् ।
नेपाली काँग्रेस चितवनले आयोजना गरेको ४२ औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा ‘बीपीको मेलमिलाप र अबको काँग्रेस’ विषयक एकदिने प्रवचन कार्यक्रममा बोल्दै उनले काँग्रेसको हार भए पनि बीपी विचारको जीत भएको बताएका हुन् ।
बीपीको विचारलाई मनन गर्दै कम्युनिष्ट अघि बढ्न थालेको भन्दै उनले अहिलेको हारबाट काँग्रेसका कार्यकर्ता कत्ति पनि आत्तिनुपर्ने अवस्था नरहेको उल्लेख गरे । उनले भने “बल र बन्दुकबाट सत्ता प्राप्ति हुँदैन भन्ने बीपीको विचारमा कम्युनिष्ट आइरहेछ । काँग्रेस हारे पनि देशले जित्नुपर्छ, जितेको छ ।”
काँग्रेसले मधेस—पहाड—तराई जोड्न सकेको भन्दै उनले बीपीले देखाएको बाटोमा हिँड्नु अहिलेको आवश्यकता रहेको बताए । बीपीको विचारलाई परिस्कृत गर्दै समाज रुपान्तरण र पार्टी रुपान्तरणमा जानु आवश्यक रहेको नेता शर्माले बताए ।
कार्यक्रममा अर्का केन्द्रीय सदस्य बद्री पाण्डेले नेपालको राजनीतिमा अझै मेलमलापको आवश्यकता रहेको बताए । अहिले राजनीतिक मुद्दा सकिएको भन्दै अब मेलमिलापका माध्यमबाट देशको विकास गर्नु आवश्यक रहेको उनको भनाइ थियो ।
प्रजातन्त्रमा सबैको जीत हुने भन्दै उनले सबै दलमा सहिष्णुताको आवश्यकता रहेको बताए । अब काँग्रेसजनले व्यक्तिगत इच्छालाई थाति राख्दै पार्टीभित्र आन्तरिक व्यवस्थापन गर्न जरुरी रहेको पाण्डेको भनाइ थियो ।
नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, पूर्वसांसद सावित्री बोगटी पाठक, पूर्वसभापति टेकप्रसाद गुरुङ, कृष्णलाल सापकोटालगायतका नेताहरुको उपस्थिति थियो ।







प्रतिक्रिया