मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनका चार महिला चुनिए सांसद

चितवनका चार महिला चुनिए सांसद


चितवन । चितवनबाट चार महिला विभिन्न दलको समानुपातिकबाट सांसद छनोट भएका छन् । चार महिला सांसदमा छानिएसँगै चितवनमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पुगेको छ ।

चितवनमा प्रदेशसभा तथा प्रतिनिधिसभातर्फ एकजना महिना पनि प्रत्यक्षमा प्रतिस्पर्धी थिएनन् । चितवनमा प्रनिधिनिसभामा ३ र प्रदेशसभामा ६ सिटमा प्रत्यक्षतर्फ सबै उमेदवार पुरुष रहेका थिए । चितवनले प्रतिनिधिसभा र प्रदेशसभामा महिला प्रतिनिधि शून्य भए पनि समानुपातिकबाट महिलाको प्रतिनिधित्वमा चितवनको साख जोगाएको हो ।

प्रदेशसभातर्फ नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, राप्रपा  (प्रजातान्त्रिक) लगायतका दलहरुले समानुपातिकबाट महिला सांसद चुनेका छन् । नेकपा एमालेबाट समानुपातिकतर्फ पार्वती सिलवाल सांसद बनेकी छन् । उनी प्रदेश ३ बाट सांसद बनेकी हुन् ।

नेपाली कांग्रेसबाट गीता वाग्ले समानुपातिक सांसद बनेकी छन् । नेतृ वाग्ले यसअघि कांग्रेसबाट समानुपातिक सभासद् भइसकेकी छन् ।

माओवादी केन्द्रबाट कञ्चन खनाल समानुपातिकबाट सांसद चुनिएकी छन् । प्रदेश ३ बाट आठ सिट पाएको माओवादी केन्द्रले चितवनकी एक नेतृ कञ्चन खनाललाई सांसद बनाएको माओवादी केन्द्रका महानगर इन्चार्ज यमबहादुर परियारले जानकारी दिए ।

राप्रपा (प्रजातान्त्रिक)ले प्रदेशसभा ३ मा पाएको एक सिटमा चितवन पार्वतीपुरकी रिना गुरूङलाई सांसद बनाएको छ । उनी स्थानीय तहको चुनावमा भरतपुर महानगरपालिकाबाट उपमेयरमा उठेकी थिइन् । गुरूङ कालिका एफएम भरतपुरको स्टेशन म्यानेजर एवम् टिभी कालिकाको निर्देशकसमेत हुन् ।