नेपाल

कांग्रेसलाई बदलेर आधुनिक कांग्रेस बनाऔँ : विश्वप्रकाश

कांग्रेसलाई बदलेर आधुनिक कांग्रेस बनाऔँ : विश्वप्रकाश


चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रभावशाली युवा नेता विश्वप्रकाश शर्माले आधुनिक कांग्रेस निर्माणमा जुट्नुपर्ने बताएका छन् । उनले नेपाली कांग्रेसलाई बदलेर नेपाली जनताको साझा पार्टीका रुपमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याए । 
 
देशव्यापी रुपमा चुनावी पराजयपछि नेपाली कांग्रेसले आयोजना गरेको बृहत् सभामा प्रमुख आतिथिसमेत रहेका युवा नेता शर्माले कांग्रेस पराजीत हुनुमा आफ्नो पनि दोष रहेको स्वीकार्दै भने, “हामी आफू पनि बदलिन्छौँ, कांग्रेस बदल्छौँ, जो आफूलाई बदल्ने हिम्मत राख्दैनन्, तिनले कांग्रेस बदल्न सक्दैनन् ।”
 
“सक्नेले संसार बदल्न सक्छन्, कांग्रेस बदल्न किन सक्दैनन् ?” युवा नेता शर्माले थपे, “जो–जो बदलिन्छन्, तिनले नेतृत्वले लिन्छन्, अब नबदलिनेहरुले बिदा लिन्छन् ।”
 
कार्यक्रमलाई सम्बोधन गर्दै अर्का केन्द्रीय सदस्य बद्री पाण्डेले अबको साझा एजेण्डा कांग्रेसमा परिवर्तन रहेको बताए । उनले भने, “लोकतान्त्रिक पद्दतिमा विश्वास राख्ने पार्टीका लागि हार–जीत स्वभाविक प्रक्रिया भए पनि संगठन सुदृढीकरणसहितको परिवर्तित कांग्रेस अबको एजेन्डा हो । हामी सबैले गम्भीर आत्मसमीक्षा गरेर आगामी मार्ग पहिल्याउनुपर्छ ।” 
 
नेपाली कांग्रेस चितवनले चुनावी समीक्षा, सम्मान तथा वनभोजको अवसरमा आयोजना गरेको बृहत् सभामा कांग्रेस नेताहरुले पराजयको गम्भीर समीक्षा गर्दै आधुनिक कांग्रेस निर्माणमा जुट्नुपर्ने साझा धारणा व्यक्त गरे । 
 
पूर्वी चितवनका दुई हजारभन्दा बढी कार्यकर्ताको सहभागिता रहेको सभामा कांग्रेस नेता एकनाथ रानाभाट, राजेन्द्रप्रसाद बुर्लाकोटी,  जिल्ला सभापति जीतनारायण श्रेष्ठ, युवा नेता दिनेश कोइराला, उत्तम आचार्य, रत्ननगर नगर सभापति रुपन घिमिरेलगायतले कांग्रेसलाई आधुनिक कांग्रेसका रुपमा अघि बढाउन प्रतिबद्धता जनाए ।